Odapalika - The Fourth Estate - चौथो अंग
बारेकोट  गाउँपालिकाको लक्ष्य : सबै घरमा खानेपानी, सुत्केरीलाई निःशुल्क यातायात

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकाले मानव र पशु घर अलग बनाउनेदेखि गर्भवती तथा सुत्केरीलाई निःशुल्क यातायात सेवासम्मका नीति कार्यान्वयनलाई तीव्रता दिएको छ । ‘मानव, पशु अलग घर’कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा यी कार्यलाई निरन्तरता दिएको हो । 

मानव र पशुचौपाय एकै घरमा रहँदा मानव स्वास्थ्यमा समस्या पर्न सक्ने भन्दै गाउँपालिकाले यो नीति लिई काम थालेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए । 

वर्षौँदेखि पशु चौपाय र मानिसहरु एकै घरमा रहँदै आएकामा यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै अब पशुघर (गोठ) अलग बनाउनुपर्ने नीति कार्यान्वयनमा ल्याइएको उनले बताए । स्वास्थ्य तथा सरसफाइका हिसाबले पनि यो सकारात्मक पहल रहेको उनको भनाइ छ ।

आर्थिक अवस्था कमजोर भएका, गोठ अलग बनाएर पशुपालन गर्न नसक्ने स्थानीय पालिकाले सहयोग गर्ने जनाएको छ । विद्यार्थीलाई सुरक्षित रुपमा बस्नका लागि ५१ वटा सामुदायिक विद्यालयमा फर्निचर उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । 

सडक निर्माणमा सक्रियाता

पालिकाले आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ५० मिटर नयाँ सडक निर्माण गरेको प्रगति विवरणमा उल्लेख छ । दुई हजार पाँच सय मिटर सडक स्तरोन्नति, एक सय ५० मिटर सडक आरसिसी ढलान गरिएको अध्यक्ष गिरीले जानकारी दिए । उनका अनुसार ५० मिटर सडकमा मेसिनरीवाल र एक हजार पाँच सय ७० ठाउँमा ग्याविनजाली लगाइएको छ । 

“पालिकामा विद्युतीकरण गर्न ५० ठाउँका सडकको छेउछाउमा फलामेपोल गाडेर विद्युत् सेवा सञ्चालन गरिएको छ । भेरी करिडोरबाट नलगाड नगरपालिका हुँदै आउने खण्डले बारेकोटलाई जोड्दछ”, अध्यक्ष गिरीले भने, “खलङ्गा हुँदै कुशे गाउँपालिकाको पाँचकाटियाँबाट नलगाडका केही वडा जोड्दै बारेकोटको रामीडाडाँबाट अर्को सडक जोडिन्छ । बारेकोटको सबै पालिकामा यातायातको पहुँच विस्तार भएको छ ।”

सुत्केरीलाई निःशुल्क यातायात सेवा 

गाउँपालिकाले यहाँका सबै सुत्केरीलाई सही समयमा स्वास्थ्य संस्था पुग्नका लागि एकतर्फी यातायात सेवा निःशुल्क गरेको छ । एक ठाउँबाट अर्को ठाउँमा जान धेरै समय लाग्ने, असहज परिस्थितलगायत कारणलाई ध्यान दिँदै पालिकाले सुत्केरीलाई स्वास्थ्य चौकी पुग्न समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको अध्यक्ष गिरीले जानकारी दिए । सुत्केरीलाई पालिका बाहिर लिएर उपचार गर्नुपरेमा एकतर्फी यातायात दर्च पालिकाले व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

पालिकाले मातृ तथा नवशिशु मृत्युलाई शून्यमा झार्ने उद्देश्यसहित सुत्केरी ओसारपसार गर्न निःशुल्क प्रसूति सेवा एम्बुलेन्स प्रदान गर्ने नीति लिएको छ । 

सुत्केरीलाई न्यानो कपडा र पोसिलो खाना उपब्ध गराउन पालिकाले यस्तो व्यवस्था गरेको स्वास्थ्यकर्मी राममाया गिरीले बताए । प्रदेश सरकारसँगको समन्वयमा पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गरी नागरिकको स्वास्थ्य अवस्था जाँच्ने नीति लिएको छ ।

दीर्घरोगी र जटिल प्रकृतिका रोग लागेर उपचार गर्न नसक्नेलाई आर्थिक सहायता उपलब्ध गराउनेनीति लिइएको बताउँदै अध्यक्ष गिरीले पालिकाको कार्यविधिमा भएको व्यवस्थाअनुसार सहयोग गरिने उल्लेख गरे । यातायातको सहज पहुँच वृद्धिसँगै नागरिकको उपचारमा पहुँच पु¥याउन यस्तो नीति लिइएको उनको भनाइ छ ।

खानेपानीका मुहान संरक्षणमा जोड 

बारेकोट–१, २, ५ र ७ मा ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत चार सय ६५ घरमा धारा जडान गरेको तथ्याङ्क पालिकाले प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । चालु आवमा पालिकाका सबै ठाउँमा आनेपानीका धारा पुर्‍याउने  योजना सफल बनाइने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले पानीका मुहान संरक्षण गर्ने नीतिसमेत अवलम्बन गरेको छ । ठाउँठाउँमा सडक निर्माण तथा जङ्गल फँडानी भएपछि पिउने पानीका मुहानमा समस्या परेको भन्दै पालिकाले मुहान संरक्षणका लागि नीति बनाई काम थालेको अध्यक्ष गिरीले जानकारी दिए । “जल उत्पन्न प्रकोप व्यवस्थापन नीति पालिकाले निर्माण गरेको छ । पालिकाले सबैका घरमा शुद्ध पानी पिउने वातारण सिर्जना गर्न लागेका छौँ”, उनले भने । 

प्रथम पञ्च वर्षीया योजना पूरा भएको जनाउँदै अध्यक्ष गिरीले अधुरा काम कार्यान्वयन गर्न नयाँ योजना निर्माण गरिने बताए । बारेकोटमा नलगाड जलविद्युत् आयोजना निर्माणस्थलका साथै नलगाड नदीको उद्गमस्थल पर्दछ । जङ्गल, जमिन र जडीबुटीको सम्भावना रहेको बारेकोट जिल्लाकै उत्कृष्ट पर्यटकीयस्थलमा रुपमा परिचय बनाउँदै आएको छ । 

कूल ४९ करोड २३ लाख रकम बजेट विनियोजन गरेको बारेकोट गाउँपालिकाले हालसम्म २१ ऐन, एउटा नियामावली, ३४ कार्यविधि, १४ निर्देशिका र तीनवटा नीतिनिर्माण गरेको जानकारी दिएको छ । अन्य कानुन निर्माण जारी रहेको अध्यक्ष गिरीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update