धादिङ । चीनसँग सीमा जोडिएको रुविभ्याली गाउँपालिका–१ मा पर्छ मचेत गाउँ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न सक्देन । स्याउ बिक्दैन ।
मचेतका लरेन्स लामाले पाँच वर्षअघि लगाएको स्याउले अहिले प्रशस्तै उत्पादन दिइरहेको छ । हिमालसँग जोडिएको गाउँमा फलेको स्याउ हेर्दै खाउँखाउँलाग्दो छ । ‘गाउँमा स्याउ फलाउने रहर र बजारमा बेच्ने ठूलो इच्छाले स्याउ लगाएँ । फलेको पनि छ । गाउँसम्म गाडी ल्याउन नसकेकै कारण स्याउ बेच्न बजार लान सकिएन,’ लामा भन्छन् ।
एउटा बोटमा बढीमा ६० किलोसम्म स्याउ फलेको छ । नफलेको बोट कुनै छैन । सबै बोटमा राताम्यै स्याउ फलेको छ । तर बेच्न नपाएर यसै खेर जान्छ कि भन्ने पिर लागेको छ लामालाई ।
हिउँदमा जसोतसो हप्तामा दुई–तीनपटक गाउँमा गाडी पुग्छ । बर्खा लागेपछि कुनै गाडी गाउँ पुग्न सक्दैन । डोकोमा बोकेर बजार झार्न पनि सजिलो छैन । हिजोआज स्याउ बोकेर धादिङको किन्ताङफेदी वा रसुवाको स्याफ्रुबेँसी झर्न झन्डै दुई दिन लाग्छ । गाउँमै दैनिक दुई–चार किलो बेचेर स्याउ सकिने अवस्था पनि नभएको लामाको अनुभव छ ।
लामाले पाँच रोपनी बारीमा दुई सय बोट स्याउ लगाएका छन् । एउटा बोटमा ३० किलोका दरले हिसाब निकाल्दा पनि २०० बोटमा ६ हजार किलो स्याउ तयारी अवस्थामा छ ।
भारत र चीनबाट आएको स्याउ अहिले सहरबजारमा प्रतिकिलो ४०० रुपैयाँ हाराहारीमा छ । तर बोटबाटै टिपेर गाउँमै बिक्री गर्दा १५० रुपैयाँ पनि आउँदैन ।
माटो परीक्षण गरेर प्राविधिक सल्लाहअनुसार नै खाल्डो, माटो र मलको मात्रा मिलाएर रोपिएको बिरुवाले राम्रो उत्पादन दिइरहेको छ ।
फुजी, गोल्डेन, रेड डेलियसियस र क्रिस्पीन जातका स्याउ बिक्रीका लागि तयारी अवस्थामा छन् । स्याउ खान बारीमै पुग्नेले प्रतिव्यक्ति २०० रुपैयाँमा
स्याउबारी अवलोकन गर्न र पेटभरि स्याउ खान पाइन्छ । लटरम्म फलेको स्याउ वन्यजन्तु र वस्तुभाउबाट जोगाउन कठिन छ । गाउँ नजिक कोल्डस्टोरको व्यवस्था पनि छैन । गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाइदिन सरकारसँग कृषककोे माग छ ।
स्याउ फलेको गाउँ मचेत पर्यटकीय गन्तव्य पनि हो । धादिङको गल्छीबाट करिब १५५ किलोमिटरको दुरीमा छ । काठमाडौंबाट धादिङको गल्छी, नुवाकोटको त्रिशुली हुँदै रसुवाको स्याप्रुबेसीबाट धादिङको सोमदाङ, पाङ्साङ निस्केर मचेत पुग्न सकिन्छ ।