Odapalika - The Fourth Estate - चौथो अंग
वीरगञ्ज महानगरले उद्योगको गेटमै फालिदियो फोहोर 

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषित गर्ने तीन उद्योगलाई कारबाही गरेको बताएको छ । 

महानगरले कारवाहीस्वरुप भन्दै ती उद्योगको मुख्यद्वारमा फोहरमैला थुपारिदिएको छ । नगर प्रहरीसहित सरसफाइको टोलीले ट्रयाक्टरमा फोहरमैला राखेर परवानीपुरस्थित अर्निका प्रोसेसिङ उद्योग, श्रीसिद्धि टेक्सटाइल्स र मोरियम लेदर इण्डस्ट्रिज प्रालिको मुख्यद्वार प्राङ्गणमा फोहोर थुपारिदिएको हो ।

वीरगञ्ज महानगरका नगरप्रहरी प्रमुख हरि भुसालले ती उद्योगको परिसरमा प्रतिकात्मक कारबाहीस्वरुप आइतबार फोहरमैला खसाली दिएको बताए । ‘उद्योगबाट निस्कने फोहरमैला सिर्सिया नदीमा नमिसाउन बारम्बार अनुरोध गरेका थियौँ । तर उहाँहरूले मान्नुभएन, त्यसैले निर्देशनानुसार फोहरमैला थुपारिदिएको हो’, उनले भने ।

महानगरले यसअघि सिर्सिया नदीमा फोहरमैला  नफ्याँक्न बारम्बार अनुरोध गर्दै आइरहे पनि उद्योगी व्यवसायीले आलटाल गर्दै आएका थिए ।  महानगरले गत वैशाख ९ गते नदीमा फोहरमैला गर्ने उद्योगलाई १५ दिनभित्रै फोहरमैला व्यवस्थित नगरे कारबाही गर्ने चेतावनी समेत दिएको थियो । तर उद्योगले फोहरमैला व्यवस्थित गर्न आलटाल गर्दै आएका थिए । 

नगर प्रहरी प्रमुख भुसालले आज पनि नदी फोहरमैला गर्ने उद्योगमा फोहर फ्याँक्ने कार्यक्रम रहेको जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update