Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षामन्त्रीलाई भेटेर मेयरले नै सामुदायिक विद्यालय बन्द गर्छु भनेपछि...

काठमाडौँ । रौतहटस्थित मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साहले बिधार्थी संख्याको अनुपातमा शिक्षकको माग गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएकी छन् । 

आज सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर मेयर साहले अपुग शिक्षक दरबन्दी तत्काल आपुर्ति गर्नुपर्ने माग गरेकी हुन् । तहगत र बिषयगत अपुग शिक्षक तत्काल आपुर्ति नगरिए भदौ देखि मौलापुर नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयको पठनपाठन बाध्य भएर बन्द गर्नुपर्ने चेतावनी समेत मेयर साहले शिक्षा मन्त्री भट्टराईलाई दिएकी छन् ।

मौलापुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा आठ हजार भन्दा बिद्यार्थी अध्ययनरत रहेका छन् । शिक्षक दरबन्दी १६० जना हुनुपर्नेमा मौलापुरमा ५८ शिक्षक मात्रै छन् । हाल मौलापुरमा १०२ शिक्षक दरबन्दी अपुग रहेको छ । 

‘मौलापुर नगरपालिकामा आठ हजार भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । मौलापुरमा एक सय १६० शिक्षक हुनुपर्नेमा ५८ शिक्षक मात्रै छन् । तपाई आफै बिचार गर्नुस त ५८ शिक्षकले १६० शिक्षकको पढाउँने काम कसरी गर्न सक्छ ?’ मौलापुरकी मेयर साहले प्रश्न गर्दै भनिन्, ‘कि शिक्षा मन्त्रालयले अपुग शिक्षकको व्यवस्था गर्नुपर्यो वा हामीलाई शिक्षक नियुक्त गर्ने अधिकार दिनुपर्यो । सरकारलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई भएको छैन् । सरकारको यस्तै रवैया रहयो भने हामी बाध्य भएर पठनपाठन बन्द गरेर आन्दोलनमा जान्छौं ।’

मौलापुरमा अपुग शिक्षक आपुर्तिका लागि मेयर साहले सरकारको पटक पटक ध्यानाकर्षण गराउँदै आएकी छन् । सरकारले विभेद गर्दै आएको कारण विद्यार्थीको भविष्य अन्धकार बनाउँन खोजेको आरोप मेयर साहले लगाएकी छन् ।

ज्ञापनपत्र बुझदै शिक्षा मन्त्री भट्टराईले बिभिन्न विद्यालयमा अपुग रहेका शिक्षक दरबन्दी छिटै नै व्यवस्थापन गर्ने गृहकार्यमा लागेको बताइन् । ‘हामी अध्ययन गरिरहेका छौं । विभिन्न विद्यालयमा दरबन्दी अनुसार शिक्षक नभएकाले छिटै नै व्यवस्थापन गर्दैछौं । तपाईहरु आन्दोलन नगरिदिनुहोला ।’ 

शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थी बरावर १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update