Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँकी उपमेयर र सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षबीच भेटघाट, के भयो कुराकानी ? 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको छ । 

कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानुपर्ने बताइन् । सिपिपिसिसीका उपाध्यक्ष युहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो बताएकी हुन् । 

‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’ उपप्रमुखले भनिन्, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’

त्यस क्रममा उपाध्यक्ष युहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताए । ‘चीनका ७ वटा सहरसँग महानगरपालिकाको भगिनी सम्बन्ध छ । मध्य क्षेत्रसँग बाँकी छ ।’ उहाँले भन्नुभयो, ‘हामी औपचारिक सम्बन्धबाट हाम्रा असल अभ्यासहरु बाँड्न चाहन्छौँ ।’

त्यस क्रममा विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो ।

भेटका क्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वित्त विभागका प्रमुख डा. शिवराज अधिकारी, सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय र उपप्रमुखको सचिवालयका प्रमुखसहित अधिकारीहरु सहभागी थिए ।   

हुवेइको प्रान्तीय राजधानी वुहान हो । यो यातायातसँगै मध्य चीनको राजनीतिक, सांस्कृतिक र व्यापारिक स्थलका रुपमा परिचित छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update