Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्त्रीविरुद्ध फेरि अदालत पुग्यो एमाले 

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा संविधानविपरित प्रक्रिया अपनाएको भन्दै प्रतिपक्षी दल एमालेले सर्वोच्च अदालत पुगेको छ ।

संविधानविपरीत प्रक्रिया अपनाउँदै प्रदेशसभाबाट मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको भन्दै एमालेले आज सर्वाेच्च अदालतमा मुख्यमनत्रीविरद्ध रिट पेश गरेको छ । रिट दर्ता भइनसकेको एमाले संसदीय दलका नेताले जानकारी दिए । 

एमाले कोशी प्रदेश संसदीय दलका उपनेता राम रानाले असंवैधानिक प्रक्रियाविरुद्ध आजै सर्वोच्च अदालतमा मुद्दा दर्ता हुने बताए ।

एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले एमालेसँग अदालत जानुबाहेक अर्को विकल्प नभएको बताएका छन् । 

मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन प्रदेशसभाकी उपसभामुख सृजना दनुवार बिरामी परेको भन्दै काठमाडौं गएकी थिइन् । अध्यक्ष मण्डलमा रहेका एमाले र राप्रपाका जेष्ठ सदस्य पनि बैठकमा अनुपस्थित भएका थिए ।

त्यसपछि गत सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठकको अध्यक्षता अध्यक्ष मण्डलमा रहेका नेपाली कांग्रेसका सांसद इस्राइन मन्सुरीले गरेका थिए ।

विश्वासको मत लिने क्रममा मतदानको प्रक्रिया अन्तिम चरणमा पुगेका बेला मन्सुरीले बैठकको अध्यक्षता गर्न अध्यक्ष मण्डलमा रहेकी गीता तिम्सिनालाई बोलाएका थिए । 

तिम्सिनाले अध्यक्षता गरेपछि मन्सुरीले थापाको समर्थनमा विश्वासको मत दिएका थिए । त्यसपछि फेरि उनले अध्यक्षता ग्रहण गरेर मतदानको नजिता सुनाएका थिए ।

विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मुख्यमन्त्री थापाले ४७ मत प्राप्त गरेका थिए । त्यसमा बैठकको अध्यक्षता गरेका मन्सुरीको पनि मत समेटिएको छ । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा ३० मत परेको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update