Odapalika - The Fourth Estate - चौथो अंग
बालुवाटारलाई ‘नभइ नहुने’, बालुवाटारमा ‘भइरहने’ युवराज 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ३ गते आफ्नो आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्त गरे । गएको असार ३० गते प्रधानमन्त्री नियुक्त ओलीले एक साता नपुग्दै डा. खतिवडालाई आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा को हुन् ? उनको परिचय एक वाक्य वा एक हरफमा दिन असम्भव छ । सत्ता र शक्तिको पहुँचमा रहन सक्ने डा. खतिवडा राष्ट्र बैंकको जागिरेदेखि अर्थमन्त्री हुँदै राजदूतसम्म भइसके । र अहिले फेरि उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा नियुक्त भए । उनी पटक पटक लाभको पदमा रहँदै आएका छन् । 

२०३९ सालमा सहायक अनुसन्धान अधिकृतका रुपमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनी राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष, राजदूत, राष्ट्रियसभाको सदस्य, अर्थमन्त्रीजस्ता कयौँ लाभ र शक्तिशाली पदमा रहन सफल भए । 

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा र जनप्रशासनमा स्नातकोत्तर, दिल्ली स्कुल अफ इकोनोमिक्स, दिल्ली विश्वविद्यालयबाट वित्तीय अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. खतिवडाले सरकारी र राजनीतिक जिम्मेवारी पाइरहे । 

२०३९ मा सहायक अनुसन्धान अधिकृतका रूपमा नेपाल राष्ट्र बंैकमा प्रवेश गरेर आर्थिक अनुसन्धान विभागको प्रमुख, कार्यकारी निर्देशक हुँदै उनी २०६६ चैत ९ गभर्नरमा नियुक्त भएका थिए । 

२०६३ सालमा कोलम्बोमा यूएनडीपी रिजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रूपमा सेवा पनि गरे । 

२०५८ मा राष्ट्रिय योजना आयोगको सदस्य भएका डा. खतिवडा २०६६ र २०७२ मा गरी दुईपटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओलीबाट सो नियुक्त पाउन उनी सफल भए । 

एमाले नेतृत्वलाई रिजाउँदै पटक पटक लाभको पदमा हत्याउन सफल डा. खतिवडालाई २०७४ फागुन ८ गते ओली सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार उनी राष्ट्रियसभा सदस्य बने । राष्ट्रियसभा सदस्य बनेलगत्तै २०७४ फागुन १४ गते अर्थमन्त्रीको जिम्मेवारी पाए । 

राष्ट्रियसभा सदस्यको पदावधि २०७६ फागुन २० मा सकिने भएपछि र पुनः राष्ट्रियसभा सदस्यमा सिफारिस हुन नसकेपछि उनले संवैधानिक बाध्यताका कारण अर्थमन्त्रीबाट बहिगर्मन निश्चित मन्त्री पदबाट राजीनामा दिए । 

राजीनामा दिएको २४ घण्टा नबित्दै २०७६ फागुन २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली उनलाई पुनः अर्थमन्त्रीमा नियुक्त गरे । संघीय संसदको सदस्य नरहेको मन्त्री भएमा उसले ६ महिनाभित्र संघीय संसदको सदस्य हुनुपर्ने संवैधानिक व्यवस्था छ । अन्यथा मन्त्रिपरिषद् सदस्यबाट पदमुक्त हुनुपर्ने हुन्छ । तर, डा. खतिवडाले राष्ट्रियसभा सदस्य नपाउने भएपछि मन्त्री पदबाट राजीनामा दिए । उनी २०७७ भदौ १९ गते अर्थमन्त्रीबाट पदमुक्त भए । 

अर्थमन्त्रीबाट राजीनामा दिएको १० दिनपछि २०७७ भदौ २९ बसेको केपी ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको । 

यसपछि २०७७ पुस ७ गते ओली सरकारको सिफारिस र संसदीय सुनुवाइपछि विद्यादेवी भण्डारीले डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरिन् । 

एमाले अध्यक्ष ओली पुनः सत्तामा फर्किएपछि डा. खतिवडाले पनि लाभ लिन सफल भएका छन् । २०७८ मा सत्ता बहिर्गमनमा परेका ओली गत असार ३० मा प्रधानमन्त्रीमा नियुक्त भए । यसको पाँचौँ दिनमै प्रधानमन्त्री ओलीले डा. खतिवडालाई आफ्नो आफ्नो आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update