Odapalika - The Fourth Estate - चौथो अंग
विदेश जान रोक्यो ओमबहादुरलाई कैँची र काइँयोले

मोरङ । मोरङ उर्लाबारीका ओमबहादुर धिमाल बिहानै साइकलमा आवश्यक सामाग्री बोक्छन्, अनि निस्कछन् उर्लाबारी र दमकका ग्रामिण क्षेत्रतिर । उनको साइकलको पछाडिको क्यारियरमा एउटा सुटकेस हुन्छ । त्यही टिनको बक्साभित्र हुन्छ, उनकै दैनिकी गुजारा चलाउने सामाग्री । 

टिनको बक्सामा कैँची, काइँयो, सानो ऐना, छुरा, ब्लेड, कपडासहित आवश्यक सामान राख्छन् । दुई वर्षभन्दा बढी भयो उनले यसरी गाउँ–गाउँ पुगेर कपाल काटने ‘होम सर्भिस’ दिन थालेको ।

सुरुआती दिनमा यसले कपाल काट्छ र भन्नेहरु अहिले उनीसँग  कपाल काट्न पर्खिएर बसेका हुन्छन् । 

हप्ताभरिको कपाल काटन जाने उनको ‘रुट’ छ । झापाको दमक र मोरङको उर्लाबारी अनि मिक्लाजुङसम्म उनको ‘होम सैलुन’को व्यवसाय फस्टाएको मात्र छैन राम्रो आम्दानी पनि गरिरहेको छ , 

उनको ‘टार्गेट’ ग्राहकले उनलाई कुरेरै कपाल काटने गरेका छन् । धिमालको आर्थिक स्रोत कपाल काटेरै जुटिरहेको छ । उर्लाबारी २, सुन्झोडामा कपाल काटिरहेकै बेला भेटिएका धिमालको दैनिक १ हजार कमाइ भइरहेकोे बताए ।

१२ वर्षअघि वैदेशिक रोजगारीमा कतार पुगेका उनले ८ वर्ष कतारमै बिताए । कतार जानुअघि कपाल काट्ने तालिम लिएका धिमालको तालिमले कतारमा काम गर्दा सार्थकता पायो । 

करिब तीन हजार मानिस रोजगारी गरिरहेको दोहाको मिट म्याट कम्पनीमा काम गर्ने नेपालीको कपाल काटन थालेपछि उनको थप कमाई गर्न थाल्यो । नेपालीको कपाल काटन थालेपछि उनी झन निखारिए । 

छुट्टि र अन्य समयमा कपाल काटेरै कम्पनीबाट पाउने तलबभन्दा बढी कमाई गर्थ । कतारमै रोजगारी गरिरहेका उनी छुट्टिमा घर फर्केपछिफेरि कतार जान उनलाई मन लागेन ।  

विदेशबाट फर्केपछि नजिकैको पथरी र दमक पुगेर सैलुनका लागि आवश्यक सामाग्री खरिद गरे र सुरु गरे व्यवसाय  । उनले भने, ‘कतारमा आठ वर्ष गरेको मेहनत देशमै गर्दा आम्दानी बढ्ने सोचेर यतै व्यवसाय सुरु गरेको हुँ, कमाई राम्रै छ । 

उनले घरमै आएर कपाल र दारी काटेको एक सय रुपैयाँ लिने गरेका छन् । बजारको सैलुनमा दारी कपाल काटेको दुई सय रुपैयाँ लाग्ने गरेको छ । सस्तोमै घरमै कपाल काटन पाउँदा बजार जाने समस्या टरेको उर्लाबारी २ का विष्णु बिष्टले बताए ।  

धिमालले कपाल काट्न हिँड्दा सुरुमा स्थानीयले  पत्याएनन् । जब काम सुरु गरे अनि विश्वास जित्दै गए । अहिले कमाई राम्रो मात्र भएको छैन, धिमालको रोजगारीका लागि विदेश जाने बाध्यता समेत हटेको छ ।

‘सिप सिकेपछि बेरोजगार नहुने उनको बुझाइ छ । सिप भए देश र विदेशमा पनि भोकै बस्नु पर्ने रहेनछ,’ धिमालले भने ।
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update