Odapalika - The Fourth Estate - चौथो अंग
राजनीति दलको निष्कर्ष– स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकाका स्थानीय राजनीति दलहरूले स्थानीय सरकार बेथिति र विसंगतितर्फ उन्मुख भएको निष्कर्ष निकालेका छन् ।

वडा अध्यक्ष विराट बिष्टको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले नगरमा विकासको सट्टा विनास र अराजक प्रवृतिको मलजल भएको निष्कर्ष निकालेका हुन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, लोसपा, रास्वपा, राप्रपा र जसपासहितका स्थानीय राजनीति दलका प्रतिनिधिहरू  सहभागी बैठकले राजस्व चुहावट, जनभावनाविपरीतका निर्णयले जनतामा स्थानीय सरकारप्रतिको वितृष्णा बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अन्याय र बेथितिकाविरुद्ध प्रतिवाद गर्ने बताएका छन ।

नेकपा एमालेका नेता सन्त परियारले जनभावनाको उपेक्षा गर्न नहुने र यदी कसैले गरे सशक्त प्रतिवाद गर्ने बताए । पछिल्लो समय बर्दिवास–३ मा रहेको खुला चौरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ कठ्ठा जग्गा माग गर्दै प्रक्रिया अगाडि बढाएको विषयप्रति पनि दलहरूले ध्यानाकर्षण जनाएका छन् ।

खेल मैदानको रुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडि बढेपछि स्थानीयहरुले नदिने अडान राख्दै आएका छन् । उक्त जग्गा स्थानीयको हितमा उपभोग गर्न पाउनुपर्ने उनीहरुको माग छ । 
यस विषयमा सञ्चारमाध्यमबाट समाचार आउन थालेपछि बसेको सर्वदलीय बैठकले उक्त जग्गा अतिक्रमण र अधिग्रहण नगर्न चेतावनी दिएका छन् । 
नगरप्रमुख प्रल्हाद कुमार क्षेत्री स्वयं विकृतितर्फ उन्मुख भएको दाबी गर्छन् । नेकपा एमालेका नेता शंकर महतोले यसलाई समयमा नै रोक्न नसके परिणाम अपेक्षा गरेभन्दा बाहिर जाने बताए ।

नेता महतोको तर्कलाई अन्य राजनीतिक दलका नेताहरुले समेत समर्थन गरेका छन । गलतलाई गलत भन्ने सवालमा सबैको धारणा साझा हुनुपर्ने नेपाली कांग्रेसका क्षेत्रीय सभापति महेश झाको भनाइ छ ।

रेल्वे निर्माणलाई लिएर ठुलो मात्रामा राजस्व चलखेल भइरहेको बताउदै माओवादी केन्द्रका नेता राजु खडकाले अर्को बैठक बसेर छानविन प्रक्रियालाई दबाब दिनुपर्ने धारणा राखे  । 

स्थानीय समस्या समाधानमा सबै एकजुट भएर लाग्न ढिलो गर्न नहुनेमा सबै राजनीतिक दलका नेता सहमत भएका छन् । स्थानीय समस्यालाई नजरअन्दाज गरेर आफैँमा विभाजित भएर हिँड्दा जनता मारमा पर्ने भन्दै उनीहरु अब समस्या समाधानमा एक हुने भएका हुन् । 

खेल मैदानको रुपमा प्रयोग हुँदै आएको ६ कठ्ठा जग्गा अख्तियारको नाममा नापी प्रक्रिया अगाडि बढेको लगायत स्थानीय समस्या समाधानको माग राखेर उनीहरुले मंगलबार प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापनपत्र बुझाएका छन् । 

Gyapanpatra-1722331813.jpeg
 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update