Odapalika - The Fourth Estate - चौथो अंग
३ स्थानीय तहमा आलु जोनको कमाल, स्थानीयले एक बर्षमै कमाए ६० करोड 

रामेछाप । उन्नत जातको बिउका साथै व्यवसायिक खेती विस्तार भएपछि रामेछापमा यस वर्ष आलुको उत्पादन वृद्धि भएको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका अनुसार यस वर्ष गतवर्षको तुलनामा आलुको निर्यात पनि बढेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका परियोजना प्रमुख थिरलाल गैरेका अनुसार यस वर्ष रामेछापमा करिब १८ हजार मेट्रिक टन आलु उत्पादन भएको छ । जिल्लाको ७५०  हेक्टर बढी जमिनमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ । 

रामेछाप जिल्लामा उत्पादन भएको ४० प्रतिशत आलु जिल्लाबाहिर निर्यात भएको छ । निर्यात गरिएको आलु भारतीय बजारसम्म पुगेको छ । देशभित्र काठमाडौँ उपत्यका तथा तराईका बजारका रामेछापको आलु पुगेको छ ।

aalu-31692775151.jpg

चिसो लेकाली क्षेत्रमा उत्पादन भएको रामेछापको आलु स्वादिलो र पौष्टिक भएकोले पनि बजारमा यहाँको आलुको उच्च माग छ । किसानले बारीबाट नै ३५ देखि ४० रुपैयाँ किलोका दरले आलु बिक्री गर्ने गरेका छन् ।

यो हिसाबले रामेछाप जिल्लामा ६० करोड रुपैयाँ बराबरको आलु उत्पादन भएकोमा जिल्लाबाहिर २७ करोड रुपैयाँ बढीको आलु निर्यात भएको छ । गत साल २० करोड रुपैयाँको आलु जिल्लाबाट बाहिर गएको अनुमान छ । 

बिउ उत्पादन तथा भण्डारण स्रोत केन्द्रहरू स्थापना भएपछि उन्नत जातको बिउको प्रयोगका कारण आलुको उत्पादन बढेको छ । आलु जोन कार्यक्रमअन्तर्गत रामेछापमा गुणस्तरीय आलुको बिउ उत्पादन तथा भण्डारको लागि ६ वटा बिउ श्रोत केन्द्र स्थापना भएका छन् । त्यस्तै २ वटा बिउ उत्पादन क्षेत्र छन् । जिल्लामा हरेक वर्ष ५ सय मेट्रिक टन आलुको बिउ उत्पादन हुने गर्दछ । रामेछापमा उत्पादन भएको बिउ अन्य जिल्लामा समेत निर्यात हुन लागेको छ ।  

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकालाई आलु उत्पादनको जोन क्षेत्र घोषणा गरिएको छ । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडा र गोकुलगंगाका ६ वटै वडामा यो कार्यक्रम सञ्चालनमा छ ।   

aalu1692775150.jpg

यसको साथै शैलुङ गाउँपालिकाको दोरम्बा, डडुवा र गौश्वारामा पनि ठूलो परिमाणमा व्यवसायिक रूपमा आलु खेती हुने गरेको छ । शैलुङमा उन्नत जातको आलु बिउ उत्पादन गरी किसानलाई वितरण गरिएको छ । 

रोजिटा जातको रोग प्रतिरोधी क्षमताको आलु सो क्षेत्रका किसानले लगाएपछि उत्पादनमा वृद्धि भएको स्थानीय किसान दावासङ्बु शेर्पा बताउँछन् । शैलुङका एउटै किसानले लाखौँ रुपैयाँको आलु बिक्री गर्ने उनले बताए । 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update