Odapalika - The Fourth Estate - चौथो अंग
भारतीय सेनाको जागिर छाडेर भिम लिम्बू सावर सुपको खेतीमा 

मोरङ । मोरङको पथरीशनिश्चरेका भिमसेनी लिम्बूको परिचय तीन वर्षअघिसम्म पूर्वभारतीय सेनाको मात्र थियो । भारतीय सेनाबाट अवकास लिएर उनी कृषि पेसामा रमाउन थालेका छन् । १७ वर्षकै उमेरमा भारतीय सेनामा भर्ती भएका उनले भारतका विभिन्न स्थानमा देखेको कृषि प्रविधिलाई देशमा अनुसरण गर्ने प्रयास गरे । भारतीय सेनामै रहँदा अफ्रिका पुगेका उनले त्यहाँ देखेको सावर सुपको बोटलाई अहिले आफ्नो बारीमा हुर्काइरहेका छन् । 

क्यान्सरको औषधिका रुपमा मानिएको सावर सुपलाई व्यावसायिक खेती गर्न थालेका लिम्बूको बारीमा सावरसुपले फल दिन थालेको छ ।  ‘एन्टी क्यान्सर’ बिरुवाका रुपमा चिनिएको सो बृक्षलाई विदेशमा राम्रोसँग प्रयोग गरिए पनि नेपालमा यसको महत्त्वबारे थाहा नभएकाले यसको महत्त्व बुझाउन थालेको उनले बताए । ‘क्यान्सर रोगविरुद्ध विश्वमा प्रयोग हुने सावर सुपको नेपालमा पनि प्रचार हुनु अवश्यक रहेकाले यसको व्यावसायिक खेती सुरु गरेको हुँ,’ उनले भने, ‘व्यावसायिकता भयो भने मात्र यसको महत्त्व सबैले बुुझ्छन् ।’

लिम्बूले १० कठ्ठा जमिनमा सावर सुपको खेती सुरु गरेका छन् । उनले सुरुआतमा पाँच वर्षअघि आफन्तमार्फत अमेरीकाबाट बिउ मगाएर यसको खेती सुरु गरेका हुन् । अफ्रिकामा खेती हुने र यसको पातसमेत बिक्री हुने देखेर यसको बारेमा चासो राखेका लिम्बूले नेपाल फर्केपछि थप सोधखोज गरेर अमेरिकाबाट बिउ मगाएका थिए । अमेरिकाबाट १२ सय डलर तिरेर बिउ मगाएकोमा उनको बारीमा ४५ वटा बिरुवा उम्रियो । तिनै बिरुवालाई अहिले विभिन्न प्रविधि अपनाएर हुर्काउने र संख्या बढाउन सकेका हुन् ।

क्यान्सर रोग नलागोस् भनेर पात समेतको प्रयोग हुने लिम्बू बताउँछन् । पातलाई तातोपानीमा उमालेर चियाकोजस्तो पिउने हो भने मात्रै पनि शरीरलाई धेरै फाइदा हुने लिम्बू बताउँछन् । पाँच प्रकारका विभिन्न फलको स्वाद पाइने गरेको छ । यसको पातसमेत नेपाली बजारमा महंगो मूल्यमा बिक्री हँुदै आएको छ भने फलको मूल्य समेत प्रतिकेजी एक हजार रुपैयाँभन्दा बढी रहेको छ ।

हुर्किएका विरुवालाई ‘एयर ल्यायरिङ’ र ‘ग्रयाफिटङ्’ प्रविधि अपनाएर बिरुवा उत्पादन गरिरहेका लिम्बूले अहिले तत्काल भने बिरुवा विक्रि गरेका छैनन् । ‘आफ्नै बारीमा थप बिरुवा हुर्काएर अझ व्यावसायिक बन्ने प्रयासमा छु,’ उनले भने । 

बिरुवा बिक्री गर्ने सोचमा रहेका उनले केही बिरुवा भने निःशुल्क रुपमा वितरण भने गरेका छन् । सुरुआती समयमा लेयर्स कुखुरा, बंगुर र माछा पालन गरेका उनले अहिले सावर सुप र काजुका विरुवा हुर्काउन थालेका छन् । एक बिघा क्षेत्रमा फैलिएको जमिन वरिपरि हुर्कंदै गरेको सावर सुपका बिरुवावाट फल उत्पादन गरेर बजारमा पुर्‍याउने लक्ष्य लिएका लिम्बू यति बेला सावर सुप फलको महत्त्वबारे स्थानीय बजारमा बताउदै आएका छन् । 

पात र फलबाट हुने फाइदाबारे स्थानीयलाई जानकारी गराएका उनले केही दिनभित्रमै कोशी प्रदेश कृषि मन्त्रालयमा यसको फलको पोषणको प्रयोगशालाबाट परीक्षण गर्ने भएका छन् । नेपाली माटोमा नयाँ फलका रुपमा रहेको सावर सुपको उपभोग गर्न सरकारी क्षेत्रबाट पनि चासो हुनुपर्ने लिम्बू बताउँछन् । 

भारतीय सेनामा १८ वर्ष योगदान गरेका लिम्बू अहिले कृषि क्षेत्रमा केही गरेर आत्मनिर्भर मात्र बन्ने प्रयासमा छैनन्, स्थानीय बजारमा आर्गानिक कृषि उत्पादन बजारीकरण गर्ने कार्यमा पनि लागेका छन् । उनले बंगुर र कुखुराबाट उत्पादित मलले सागदेखि अन्य तरकारी उत्पादन गर्ने गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update