Odapalika - The Fourth Estate - चौथो अंग
यूएईमा मृत्यु जितेर फर्किएकाहरू

काठमाडौँ । संयुक्त अरब एमिरेट्स (यूएई) मा मृत्युदण्ड सुनाइएका ओखलढुंगाको चिसङ्खुगढीका भुवनश्रेष्ठ र धादिङका पहलमान थापा मगर नेपाल फर्किएका छन् । उनीहरुले हत्या गरेको भनिएका पीडित परिवारलाई ब्लडमनी बुझाएर नेपाल फर्किएका हुन् । 

भुवन गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन भने पहलमान बुधबार बिहान काठमाडौं आइपुगेका हुन् । 

भुवन पहलमानलाई नेपालीकै हत्या अभियोगमा युएईको अदालतले दोषि ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो । 

उनीहरूले नवलपरासीको मध्यबिन्दु ११ का बाबुराम आले मगरको हत्या गरेको आरोप छ । युएईको कानुनअनुसार पीडित परिवारले अदालतले दिने सजायमा रोज्न पाउँछन् । कसुरदारलाई मृत्युदण्ड नै दिने कि, त्यसबापत रकम तिराउने (ब्लडमनी) भनेर अदालतले पीडित परिवारलाई सोध्छ । भुवन र पहलमानका परिवारको आग्रहपछि मृतक बाबुरामका परिवारले ब्लडमनी स्वीकार गरे । 

बिहान त्रिभुवन विमानस्थलमा ओर्लदै पहलमानले आफूहरुले हत्या नगरेको भए पनि झुटो आरोपमा फसाइएको बताए । मृत्यु भएको साँझसँगै रक्सी पिएको भए पनि त्यसपछि आ–आफ्नो कोठामा गएको र त्यसको तीन घण्टापछि मृत भेटिएको बताए । 

पहलमानले भने, ‘हामी साँझ सँगै बसेर रक्सी पिएका थियौं । जुन–जुलाईको समय भएकाले त्यहाँ धेरै गर्मी थियो । बाबुरामले धेरै नै रक्सी खाएकोे थियो । त्यस घटनामा ५ जनालाई पक्राउ गरेको भएपनि अरु तीनजना पहिले नेपाल फर्किएका थिए । हामी दुई जना ६ वर्षपछि ब्लडमनि बुझाएर नेपाल फर्किएका हौं ।’

उनीहरु मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतका अभियान्ताको सहयोगमा नेपाल फर्कन पाएका हुन् । उनीहरु दुवईको जेलमा रहेको र उद्धार गर्न संसदमा समेत प्रश्न उठेको छ । 
 

प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update