Odapalika - The Fourth Estate - चौथो अंग
देशभर मौसमी वायुको प्रभाव, दिनभरजसो पानी पर्ने 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशभरजसो पानी पर्ने सम्भावना औँल्याएको छ । 

विभागका अनुसार आज बिहानैबाट देशका कतिपय स्थानमा पानी परिरहेको छ भने यो क्रम दिनभरजसो चल्ने छ । मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई  स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमा वर्षाको सम्भावना छ । 

मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा माथि र पूर्वमा सरदर स्थानको आसपासमा रहेको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update