Odapalika - The Fourth Estate - चौथो अंग
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल 

काठमाडौँ । असार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् । 

रुपन्देहीको रोहिणी गाउँपालिकाले बुधवार बल्ल बजेट ल्याएको छ भने ललितपुरको गोदावरी नगरपालिकाको बजेट अझै अन्योलमा छ । 

मेयर र उपमेयर भ्रष्टाचार मुद्दामा निलम्बनमा परेपछि कसलाई कार्यवाहक दिने भन्ने विवादमा अल्झिएको गोदावरीले अहिलेसम्म बजेट ल्याउन सकेका छैन । 

रोहिणी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि गरिउको टेन्डरको विवादका कारण त्यहाँको बजेट अन्योल थियो । 

तर विवाद मिलेपछि वुधवार पालिकाले ५८ करोड ७९ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । 

१५औँ गाउँसभामा उपाध्यक्ष शिवकान्ती हरिजनले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ २ करोड ६१ लाख १४ हजार, संघीय सरकारबाट प्राप्त ४८ करोड ६५ लाख, प्रदेश सरकारबाट प्राप्त ३ करोड ११ लाख १४ हजार, बैंक मौज्दात ३ करोड ७० लाख, जिल्ला समन्वय समितिबाट ७२ लाख रुपैयाँ अनुमान गरिएको छ ।

त्यस्तै विनियोजनतर्फ प्रदेश सरकारबाट प्राप्त शसर्त अनुदान समपूरक र विशेष १ करोड ८५ लाख, संघीय सरकार सशर्त समपूरक विशेष २६ करोड २९ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक १० करोड, शिक्षातर्फ ३ करोड, क्रमागत योजनारसमपूरक २ करोड ७५ लाख, गाउँपालिका प्रशासनिक भवन ३ करोड विनियोजन गरिएको छ ।

आर्थिक, सामाजिक, पूर्वाधार विकास र संस्थागत सुशासनमार्फत गरिबी निवारण गरी समृद्ध रोहिणी निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढ्दै कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ, युवा तथा खेलकुद, पूर्वाधार विकास, महिला, बालबालिका, ज्येष्ठ नागरिक आदि शीर्षकलाई बजेटमा प्राथमिकता दिइएको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update