Odapalika - The Fourth Estate - चौथो अंग
मेयर्स फोरमले राख्यो सडक बत्तीदेखि फोहोर व्यवस्थापनसम्मको माग, मन्त्रीलाई भेट्न बालेन गएनन्

काठमाडौँ । काठमाडौं उपत्यका मेयर्स फोरमले केन्द्र सरकारसँग विभिन्न माग राखेको छ । बिहीबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर फोरमले विभिन्न माग राखेको हो । 

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनदेखि सडक बत्तीसम्मका माग फोरमले राखेको छ । काठमाडौं उपत्यका मेयर्स फोरममा १८ वटा स्थानीय तह छन् । १७ स्थानीय तहका प्रमुख सहभागी फोरमको टोलीमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह बालेन भने उपस्थित थिएनन् । 

सो टोलीले केन्द्र र प्रदेश सरकारको दायित्वभित्र पर्ने सडक बत्तीको बिल विद्युत् प्राधिकरणले नागरपालिकाका नाममा पठाएको भन्दै मन्त्री सिंहको ध्यानाकर्षण गराएको छ । 

फोहोर व्यवस्थापनमा प्रभावकारी कार्य गर्न, स्मार्ट सिटीका लागि वर्षाैदेखि जग्गा रोक्का राखिँदा नागरिकलाई समस्या परेको भन्दै उनीहरुले रोक्का फुकुवा गर्न माग गरेको थियो ।

फोरमले आर्थिक वर्ष ०८१/८२ देखि पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महसुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेको थियो ।

जवाफमा उपप्रधानमन्त्री सिंहले फोरमको मागप्रति आफू सकारात्मक रहेको र आवश्यक पहल गर्ने बताए । 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update