Odapalika - The Fourth Estate - चौथो अंग
रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक, बन्द भए भारतीय टिभी च्यानल

काठमाडौँ । पूर्वसंचार मन्त्री रेखा शर्माको गलत नीतिको मारमा नेपाली दर्शक परेका छन् ।

तत्कालिन संचारमन्त्री शर्माले टेलिभिजन च्यानल खरिदका लागि सटही सुविधा रोकिदिदा नेपालमा भारतीय टिभी च्यानल नै बन्द भएका हुन् ।

नेपालमा प्रसारण गरे वापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजनहरुले नेपालमा प्रसारण रोकेका छन् ।

टिभी संचालकहरुले दिएको जानकारी अनुसार भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्सले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेका हुन् । भुक्तानी नपाएपछि बुधबार रातिदेखि ती च्यानलले नेपालको लाइन काटिदिएको टेलिभिजन वितरकहरुले बताए ।

गत वर्षदेखि लागु गरेको आलाकार्ट प्रणाली लागु नगरेको भन्दै सरकारले विदेशी टेलिभिजन वितरकहरूलाई रोयल्टी भुक्तानीका लागि सटही सुविधा दिएको छैन । पूर्वसंचार मन्त्री शर्माले इन्टरनेट सेवा प्रदायकलाई करको विवाद झिकेर इन्टरनेट ब्रोडब्यान्ड खरिदको लागि चाहिने रकमको सटही सुविधा पनि रोक्न लगाएकी थिइन् । यस्तै, उनले आलाकार्ट प्रणाली लागू नगरेको भन्दै टिभीलाई दिनुपर्ने भुक्तानीको रकम पनि सटही सुविधा रोक्न लगाएकी थिइन् । 

सरकारले १५ चैत २०७९ मा आलाकार्ट प्रणाली लागू गर्ने निर्णय गरेको थियो । त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन् । सटही सुविधा राेक्न तत्कालिन संचारमन्त्री शर्माले अनेक उपाय रचेकी थिइन् ।

नेट टीभीले नेपालमा स्टार र जी टेलिभिजनका च्यानलहरू वितरण गर्छ भने सोनी, कलर्स तथा अन्य टेलिभिजनको वितरकका रूपमा भने मेगा म्याक्स डिजिटलले काम गरिरहेको छ । भारतीय टिभी च्यानलहरुको करिब १ अर्ब रुपैयाँ भुक्तानी बाँकी रहेको बताइएको छ । यो रकम सरकारले सटही सुविधा नदिएका कारण रोकिएको हो ।

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update