Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरको उद्देश्य :  प्रत्येक घरमा स्वच्छ पानीदेखि एक टोल एक उद्यमसम्म 

काठमाडौँ । ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्षभित्र गर्नुपर्ने ११ वटा उद्देश्य लिएको छ । चालु आर्थिक वर्षको बजेटमा महानगरपालिकाले ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नारासहित ११ वटा लक्ष्य लिएको छ । 

‘ललितपुर नगर : स्वस्थ समुन्नत सांस्कृतिक सहर’ भन्ने दीर्घकालीन उद्देश्य बोकेको ललितपुरले ‘सांस्कृतिक र आर्थिक रुपले समृद्ध सहरको रुपमा विकास गर्ने’ मूलभुत लक्ष्य प्राप्तिका लागि ११ वटा लक्ष्य लिएको छ ।

‘ललितपुर महानगरलाई समृद्ध र सुशासनयुक्त बनाउँदै सम्पदा, संस्कृति, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य उपचार, सामाजिक विकास, युवा रोजगार साथै बालबालिका र अपाङ्गतामैत्री नगर बनाउनु र लैङ्गिक समानता कायम गर्नु हाम्रो मुख्य ध्येय हो। त्यसै गरी प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्‍याउनु र एक टोल/समूह एक उद्यम बनाउनु, हाम्रो अर्को मुख्य उद्देश्य हो,’ महानगरको सभाबाट पारित बजेटमा उल्लेख गरिएको छ । 

प्रत्येक घरमा स्वच्छ खानेपानी र एक टोल एक उद्यम बनाउने उद्देश्यक लिएको ललितपुरले आफ्नो उद्देश्य ११ वटा बुँदामा समेटेको छ । 

ती हुन् : 

१. तिव्र, दिगो र व्यवस्थित पूर्वाधार निर्माण सहितको नमुना शहर बनाउनु,

२. नगरवासीहरुमा सुलभ, आधारभूत स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्नु,

३. स्थानीय उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहजीकरण गर्नु,

४. स्थानीय कला, भाषा, संस्कृति तथा सम्पदाको समुचित संरक्षण र सम्बर्द्धन गर्नु,

५. विविध जाती तथा समुदायको सीपको पुस्तान्तरण तथा आधुनिकीकरण गर्नु,

६. स्थानीय स्रोत साधनको संरक्षण र समुचित परिचालन तथा सार्वजनिक जग्गाको संरक्षण गर्नु,

७. विपद व्यवस्थापन, वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्नु,

८. सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासनको प्रत्याभूति कायम गर्नु,

९.अर्थतन्त्रको मुख्य आधार उद्योग, हस्तकला, पर्यटन तथा कृषि क्षेत्रको संरक्षण तथा संर्वद्धन गर्नु,

१०. युवालाई श्रम, सीप, उद्यम र रोजगारी संग जोड्दै सामाजिक जिम्मेवारी बोध र आत्मनिर्भर बनाउनु,

११.हाम्रा परम्परागत तथा मौलिक सामाजिक पूँजीको संरक्षण गर्नु ।

ललितपुर महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ४६ करोडको बजेट ल्याएको छ ।  

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update