Odapalika - The Fourth Estate - चौथो अंग
पालिकाले कस्तो–कस्तो काम गर्न सक्छन् ? फेदीखोलाका घनश्यामबाट सिक्ने कि !

काठमाडौँ । नेपालको संविधानमा ‘समाजवाद उन्मुख अर्थ व्यवस्था अबलम्वन गर्ने’ भनिएको छ ।

संविधानमा उल्लेख भएको समाजवाद कस्तो हो ? नेपाली कांग्रेसले भन्ने जस्तो हो वा कम्युनिष्टहरुले पढेका ट्रान्सलेटेड राता किताबहरुमा लेखेको जस्तो ? कि पुराना पञ्चहरुले भन्ने गरेको जस्तो ?

नेपालको संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’मा क–कसले के–के गर्नुपर्छ, राज्यको जिम्मेवारी, भूमिका र दायित्व के कस्तो हुन्छ ? अनि नागरिकले के कसरी काम गर्न गराउन पाउँछन् भनेर कांग्रेस, कम्युनिष्टले अहिले नै ठ्याक्कै भन्न सक्दैनन् । किनभने समाजवाद पढेका र भनेकाहरुलाई कार्यान्वयन गर्दा कस्तो परिणाम आउँछ भन्ने थाहै छैन । कतै कार्यान्वयन गरे गराएको भए पो थाहा होस् !

तर, स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भने आफ्नो गाउँपालिकालाई आफूले बुझेको ‘समाजवाद उन्मुख’तिर लगिरहेका छन् । फेदीखोलामा लोककल्याणकारी राज्यको अवधारणा अनुसार कामहरु भइरहेका छन् भन्ने जानकारी पाएपछि वडापालिकाले अध्यक्ष सुवेदीसँग केही जानकारी लिने पहल गरेको थियो । 

फेदीखोलाले श्रमिक र मजदुरका पक्षमा गरेका कामका विषयबाट अध्यक्ष सुवेदीसँग कुराकानी प्रारम्भ भयो । कुराकानीको सुरुमै अध्यक्ष सुवेदीले भने– ‘संविधानमा पनि समाजवाद उन्मुख हुने भनिएको छ, त्यसैले...।’

हामीलाई समाजवादको व्याख्याभन्दा पनि अध्यक्ष सुवेदीले गरेका कामका बारेमा जानकारी लिनुथियो । अध्यक्ष सुवेदी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि सो पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 

गाउँपालिकाले २०७७ सालमा ‘फेदीखोला गाउँपालिका मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि,२०७७’ संचालनमा ल्यायो । कात्तिक ६ गते प्रमाणिकरण भएको सो कार्यविधिमा अनुसार पालिकाभित्रका दैनिक ज्यालादारी गर्ने मजदुर सूचीकरण गरी उनीहरुलाई सामाजिक सुरक्षामा ल्याउन थालियो ।

‘हाम्रो गाउँपालिकाभित्र दैनिक ज्यालादारी गर्ने ७१४ जना मजदुर छन् । उनीहरुको मासिक आम्दानीको १५ प्रतिशत रकम कटौति गर्ने र गाउँपालिकाले १५ प्रतिशत रकम थप गरेर हुन आउने ३० प्रतिशत रकम मजदुर संचित कोषमा जम्मा गर्ने कार्य गरिरहेका छौं, अध्यक्ष सुवेदीले भने ।

ज्यालादारी गर्ने मजदुरलाई नगरपालिकाले सूचीकरण गर्यो । यसरी सुचिकरण गरेपछि सो गाउँपालिकाभित्रको निजी तथा सार्वजनिक निर्माणमा स्थानीय मजदुरलाई नै प्राथमिकता दिन थालियो । र, मजदुरको ज्याला भुक्तानी अनिवार्य रुपमा सम्बन्धित व्यक्तिको बैंक खातामा हुने व्यवस्था मिलाइयो ।

संचित कोषमा जम्मा भएको रकम सितिमिति झिक्न पाइदैन । आफूलाई रकम चाहिएपछि वडाध्यक्षको सिफारिसमा रकम झिक्न पाइन्छ । वडाध्यक्षले पनि ७ अवस्थामा रकम निकाल्ने सिफारिस गरिदिन्छन् । प्राकृतिक प्रकोप, महामारी, व्यवसाय स्थापना, शिक्षा तथा तालिम लिन, स्वास्थ्य उपचार तथा अत्यावश्यक सामाजिक कार्य र किरिया गर्न, आवाश निर्माण लगायत अन्य आर्थिक समस्या, मजदुरले बसाइसराइ गरेर गएको अवस्थामा र मजदुरको मृत्यू भएको अवस्थामा रकम झिक्न वडाध्यक्षले सिफारिस गरिदिन्छन् ।

सो पालिकाभित्र कुनै पनि सार्वजनिक निर्माणमा पालिकामा सुचिकृत कम्तिमा १५ प्रतिशत मजदुरलाई काममा लगाउनै पर्ने व्यवस्था गरिएको छ । मजदुरको सामाजिक सुरक्षाको लागि गाउँपालिकाले वार्षिक ६० लाख रुपैयाँको हाराहारीमा रकम खर्च गरिरहेको छ । 

कृषिमा उत्पादनमा १५ प्रतिशत नगद अनुदान

गाउँपालिकाले कृषि क्षेत्रको उत्पादन बृद्धि गर्न पनि विभिन्न प्रकारका कार्यक्रमहरु संचालन गरेको छ । अध्यक्ष सुवेदीका अनुसार उत्पादनमा आधारित नगद अनुदान कार्यक्रम संचालन गरिएको छ । कृषि उत्पादनमा जोड दिएकै कारण सो पालिकाभित्र गत आर्थिक वर्षमा साढे १४ करोड रुपैयाँ बराबरको कृषि उत्पादन विक्री भएको तथ्यांक छ ।

fedikola-tarkariko-vau1692779693.jpg

‘हाम्रो गाउँपालिकाभित्र २६ प्रकारका कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेका छौं । तोकेकोभन्दा कम मूल्य हुने भयो भने सहकारी संस्थाहरु मार्फत गाउँपालिकाले नै कृषि उपज खरिद गरिदिन्छ । समर्थन मूल्यमा वा सोभन्दा महंगोमा विक्री भयो भने किसानले जहाँ पनि बेच्न पाउँछ । यस्तै, जुनसुकै वस्तु पनि उत्पादन गरेर विक्री गरेपछि जति मूल्यमा विक्री गरेको हो, सोको १५ प्रतिशत अनुदान गाउँपालिकाबाट पाइन्छ,’ अध्यक्ष सुवेदीले भने ।

fedikhola-tarkari-gadi1692790743.jpg

कृषकलाई कृषितर्फ आकर्षित गर्न यस्तो कार्यक्रम ल्याइएको हो । यो कार्यक्रमको नतिजा पनि देखियो । पोखरा महानगरपालिकासँग सिमाना जोडिएको सो गाउँपालिकाले गत वर्ष साढे १४ करोड रुपैयाँ बराबरको कृषि उत्पादन विक्री गरेको थियो । एक जना किसानले त एकै वर्षमा ९० मुरी धान उत्पादन गरेको पनि तथ्यांक गाउँपालिकासँग छ ।

आफ्नै जमिनमा खेती गर्दा पनि अनुदान

फेदीखोला गाउँपालिकाले संचालन गरेको अर्काे कार्यक्रम जमिन बाँझो नराख्ने पनि हो । गाउँपालिकाले आफ्नै जमिनमा खेती गर्नेहरुलाई पनि वार्षिक प्रतिरोपनी २ हजार रुपैयाँ अनुदान दिने गरेको छ । र, अरुको बाँझो जमिन भाडामा लिएर खेती गर्नेहरुलाई वार्षिक प्रतिरोपनी २५ सय रुपैयाँ अनुदान दिने गरिएको अध्यक्ष सुवेदीले जानकारी दिए । गाउँपालिकाको यो कार्यक्रमको कारण २७ सय बाँझो जमिनमा अहिले खेती हुन थालेको छ ।

युवालाई विनाधितो विनाब्याज ऋण

अध्यक्ष सुवेदीको योजना अनुसार उद्यमशीलताको लागि अघि सारिएको अर्काे योजना युवा लक्षित छ । युवालाई गाउँमै राख्ने र उद्यमशील बनाउनको लागि समुह बनाएर विनाधितो विनाव्याज ऋण दिने कार्यक्रम संचालन गरिएको छ ।

‘युवाले कुनै उद्यम व्यवसाय गर्न चाहे भने उनीहरुको समुह बनाएर ५ लाख रुपैयाँसम्म ऋण दिने गरिएको छ । यस्तो ऋण लिनको लागि कुनै धितो चाहिदैन भने व्याज पनि तिर्नु पर्दैन । ऋण लिएको पहिलो वर्ष किस्ता पनि तिर्नु पर्दैन । बाँकी ४ वर्षमा सो ऋणको सावाँ किस्ताबन्दी रुपमा तिरे हुन्छ,’ अध्यक्ष सुवेदीले भने ।

fedikhola-youth1692791005.jpg

उद्यमशीलताको लागि त्यति रकमले नपुगे जस्तो व्याजदरमा कर्जा पाउने व्यवस्था पनि गाउँपालिकाले मिलाएको छ । प्रत्येक वर्षको बजेट ल्याउनु अघि गाउँपालिका क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुसँग छलफल गर्ने र गाउँपालिकाले विनाधितो विनाव्याज कर्जा उपलब्ध गराएको समुहलाई सस्तो व्याजमा ऋण दिने व्यवस्थाको लागि सम्झौता गर्ने गरिएको छ । यस्तो कर्जाको व्याज बढीमा ७ प्रतिशत जति हुने गरेको उनले जानकारी दिए । सो गाउँपालिकाभित्र २१ वटा बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाहरु छन् ।

गाउँपालिकाले बनाएको यो कार्यक्रमबाट अहिलेसम्म ३१ वटा समुहले ऋण लिएर उद्यम व्यवसाय गरेको छ । यसरी ऋण लिएर धेरैले कृषि, बेमौसमी तथा मौसमी तरकारी, पशुपालन लगायत व्यवसाय गर्ने गरेका छन् ।

शिक्षामा ४ प, विद्यालयमा आइटी अनिवार्य

फेदीखोला गाउँपालिकाले आफ्नो कुल बजेटको ३८ प्रतिशत खर्च शिक्षा क्षेत्रमा गर्ने गरेको छ । यसको सकारात्मक नतिजा पनि आएको छ । कुल विद्यार्थीको ९२.८ प्रतिशत पास हुने गरेको तथ्यांकले देखाएको अध्यक्ष सुवेदीले जानकारी दिए ।

‘हामीले शिक्षा क्षेत्रमा ४ पको अवधारणा कार्यान्वयन गरेका छौं । पूर्वाधार, प्रविधि, प्रोत्साहन र पाठ्यक्रम ४ प हुन् । यसको सुधार नै समग्र शिक्षाको सुधार हो भन्ने हाम्रो मान्यता छ,’ उनले भने ।

fedikhola-it1692790785.jpg

गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरुको भौतिक संरचना बनाइसकिएको उनले जानकारी दिए । सबै विद्यालयहरुमा इन्टरनेट सुविधा पुर्याइसकिएको छ भने माध्यामिक तहमा कम्प्युटर इन्जिनियर राखेर अनिवार्य आइटी अध्यापन गराउन थालिएको छ । 

शिक्षक कर्मचारीको तलब बृद्धि लगायतका सुविधामा ध्यान दिएर प्रोत्साहनको कार्य गरिएको उनले जानकारी दिए । यस्तै, सो गाउँपालिकाको स्थानीय पाठ्यक्रम बनाएर पालिकाभित्रको धर्म, संस्कृति, परम्परा जस्ता विषयमा विद्यार्थीलाई जानकारी गराउने कार्य पनि भइरहेको छ । 

जेष्ठ नागरिकलाई घरमै सेवा, गर्भवतीको लागि मेडिक मोबाइल

स्वास्थ्य क्षेत्रमा फेदीखोला गाउँपालिकाले गरेको काम पनि अन्य पालिकाहरुका लागि अनुकरणीय हुन सक्छ । सो गाउँपालिकाले आफ्नो क्षेत्रका सबै जेष्ठ नागरिकको घरमै गएर स्वास्थ्य परीक्षण गर्ने गरेको छ ।

‘प्रत्येक महिनाको २६ गतेदेखि ३० गतेसम्म घरघरमै गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका छौं । जेष्ठ नागरिकप्रतिको कर्तव्य र आवश्यकताका आधारमा यो काम गरिएको हो,’ अध्यक्ष सुवेदीले भने ।

fedikola-health1692790812.jpg

यस्तै, गर्भवती महिलाको स्वास्थ्य परीक्षणको लागि मेडिक मोबाइल सेवा संचालन गरिएको छ । स्थानीय स्वास्थ्य स्वयम सेविकाले प्रत्येक महिना गर्भवती महिलाको परीक्षण गर्ने र सोको तथ्यांक गाउँपालिकाले उपलब्ध गराएको मोबाइलमार्फत प्रणालीमा प्रविष्ट गर्ने गरिएको छ ।

‘यसरी काम गर्दा हाम्रो पालिकाभित्रका गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन् कि छैनन्, उनीहरुको स्वास्थ्य अवस्था के कस्तो छ भन्ने जस्ता जानकारी हासिल हुन्छ । कुनै महिना कुनै गर्भवतीले स्वास्थ्य परीक्षण गराउनु भएन भने सबैभन्दा त्यसको नोटिस गाउँपालिकाको स्वास्थ्य शाखाको प्रमुखलाई जान्छ । त्यसपछि मेरो मोबाइलमा पनि आउँछ । हामी उहाँलाई फोन सम्पर्क गरी किन परीक्षण नगराएको, केही समस्या छ कि भन्ने जस्ता सहजीकरणको काम गर्छाैं,’ अध्यक्ष सुवेदीले भने ।

गभर्वती महिलालाई नियमित स्वास्थ्य जाँच गराउने उद्देश्यले गाउँपालिकामा सञ्चालित मेडिक मोवाइल प्रविधिमा तीन आर्थिक बर्ष गरी हालसम्म ३ सय ७३ जना गर्भवती महिला आवद्ध छन् । प्रविधिमा एक पटक गर्भवतीको नाम दर्ता भइसकेपछि स्वास्थ्य संस्था नगए तुरुन्त म्यासेज आउने गर्दछ । कार्यक्रमले महिलाहरु नियमित रुपमा स्वास्थ्य जाँचको लागि स्वास्थ्य संस्थामा जाने, आइरन चक्की खाने, चेक जाँच गर्ने, स्वास्थ्यकर्मीको परामर्श लिने संख्यामा उल्लेख्य सुधार ल्याएको छ । 

त्यसैगरी ११ देखि ५५ बर्षको महिला र ५ बर्ष मुनिको बच्चाको मृत्यु भएमा पनि यस मोवाइल स्वास्थ्यमा रिपोर्टिङ गरिन्छ, हाल ३ आर्थिक बर्षको अवधिमा यस पालिकाको ५ बर्ष मुनिको मृत्युदर शुन्य रहेको छ । प्रविधिमा भएको रिर्पोटिङ अनुसार हालसम्म ५ जना महिलामा मध्यम जटिल समस्या देखिएकाले आवश्यक परामर्श सहित सुविधासम्पन्न अस्पतालमा रिफर गरिएको छ । 

हामीले स्याङ्जाको फेदीखोला गाउँपालिकाले शिक्षा, स्वास्थ्य, रोजगारी र उद्यमशीलतामा गरेको कामको बारेमा जानकारी दिने प्रयास गर्यौं । यी काम राम्रा देखिए । अन्य पालिकाहरुमा पनि यस्तै वा फरक तर राम्रा काम भएका छन् नै । फेदीखोला गाउँपालिकामा अध्यक्ष घनश्याम सुवेदीले गरे गराएका काम अन्य पालिकाहरुलाई पनि काम लाग्छ भने अनुकरण गर्दा ठिकै होला ।

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update