Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरद्वारा रासायनिक मल बिक्री गर्न ७१ सहकारीको नाम सूचीकृत

काठमाडौं । कास्कीको पोखरा महानगरपालिकाले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने रासायनिक मल बिक्री वितरण गर्न ७१ सहकारीको नाम सूचीकृत गरेको छ । 

शुक्रबार बसेको महानगरपालिका मल वितरण व्यवस्थापन समितिको बैठकले विभिन्न ७१ वटा सहकारीको नाम सूचीकृत गरेको समिति संयोजक तथा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । 

केन्द्र सरकारले तोकेको मूल्यमा युरिया, डिएपी र पोटासलगायत रासायनिक मल कृषकलाई दिनुपर्ने र मूल्यसूची देखिने गरी राख्नुपर्ने सर्तसहित सहकारीको नाम सूचीकृत गरेको उनले जानकारी दिइन् । 

‘हामीले मूल्य तोकेको होइन । केन्द्र सरकारले तोकेकै मूल्य रहने हो । आजको बैठकले रासायनिक मल बिक्री गर्ने ७१ सहकारीको नाम सूचीकृत गरेको हो,’ उनले भनिन्, ‘सूचीकृत बिक्रेताले मूल्यसूची देखिनेगरी राखनुपर्ने सर्त छ ।’

मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा युरिया प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ पाँच पैसासम्म निर्धारण गरिएको छ । डिएपीको प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ पाँच पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ पाँच पैसासम्म तोकिएको छ । 

सूचीकृत बिक्रेतालाई मलको कोटा निर्धारण गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update