Odapalika - The Fourth Estate - चौथो अंग
हौसिएको सेयर बजारलाई राष्ट्र बैंकको बम्पर गिफ्ट, यसो भन्छन् ‘बजारमैत्री’ अर्थमन्त्री पौडेल

काठमाडौं । विष्णु पौडेल अर्थमन्त्री बनेपछि हौसिएको सेयर बजारलाई राष्ट्र बैंकले एकपछि अर्काे ‘बम्पर गिफ्ट’ दिएको दियै छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दा नै सेयर बजारका लागि सरप्राइज गिफ्ट घोषणा गरेको राष्ट्र बैंकले नीति कार्यान्वयनको लागि जारी गरेको सर्कुलरमा थप बम्पर गिफ्ट प्रदान गरेको हो ।

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ सर्कुलर जारी गरेको छ । नयाँ मौद्रिक नीति जारी भएपछि सो नीति अनुकुलका व्यवस्था कायम गरेर नयाँ सर्कुलर जारी गरिएको हो ।

आज जारी गरिएको सर्कुलरमा सेयरधितो कर्जासम्बन्धी संस्थागत लगानीकर्ताको सीमा हटाएको छ । अबदेखि संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जामा कुनै सीमा लागू हुनेछैन ।

राष्ट्र बैंकले गरेको यो व्यवस्था अहिले हौसिएको सेयर बजारका लागि थप प्रभावकारी क्याटलिस्ट हुनेछ । पौडेल अर्थमन्त्रीमा नियुक्त भएपछि करिब १५ दिनको समयमा नै सेयर बजार मापक नेप्से परिसुचक करिब ८ सय अंकले बढेको छ । 

केन्द्रीय बैंकले शुक्रबार सर्कुलर जारी गर्दै संस्थागत लगानीकर्ताको लागि सेयर कर्जामा २० करोड रुपैयाँको सेयर कर्जा सीमा हटाएको हो । गत आर्थिक वर्षसम्म संस्थागत लगानीकर्ताले सेयर खरिदको लागि २० करोड रुपैयाँसम्म मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । 

मार्जिन प्रकृतिको सेयर धितोकर्जाको एकल ग्राहक कर्जा सीमालाई भने निरन्तरता दिइएको छ । कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारमा अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पौडेलले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ भएको भन्दै यसलाई प्रभाव पार्ने कुनै अवाञ्छित गतिविधि हुन नदिन आवश्यक निर्देशन दिएको बताएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update