Odapalika - The Fourth Estate - चौथो अंग
गन्यापधुराले अस्वीकार गर्यो स्यानिटरी प्याड खरिदको दरभाउपत्र

काठमाडौँ । सुदुरपश्चिम प्रदेश अन्तरगत पर्ने डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले स्यानिटरी प्याड खरिदको दरभाउपत्र अस्वीकार गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले गत जेठ १२ गते सार्वजनिक सुचना प्रकाशित गरी स्यानिटरी प्याड खरिद गर्नको लागि दरभाउपत्र आव्हान गर्ने जानकारी दिएको थियो । 

पालिकाले दिएको जानकारी अनुसार केही आपूर्तिकर्ता दरभाउपत्रमा सहभागी भएका थिए । गाउँपालिकाले निकालेको सुचना अनुसार प्रस्ताव परेपछि जेठ २८ गते सो शिलबन्दी प्रस्ताव खोलिएको थियो ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम नियम ८४ (९क) मा सार्वजनिक खरिद गर्नको लागि कम्तिमा पनि ३ वटा प्रस्ताव पर्नुपर्छ । तर, गन्यापधुराले स्यानिटरी प्याड खरिद गर्नको लागि माग गरेको प्रस्तावमा नियम अनुसार ३ वटा प्रस्ताव पनि नपरेपछि प्राप्त भएको दरभाउपत्र पनि स्वीकार नगर्ने निर्णय गरेको हो ।

‘३ वटा दरभाउपत्र सारभूत रुपमा प्रभावग्राही हुनु पर्नेमा २ वटा दरभाउपत्र मात्रै साभूत रुपमा प्रभावग्राही देखिएकाले कुनै पनि दरभाउपत्र स्वीकृत नगर्ने नभएको’ गाउँपालिकाले प्रकाशित गरेको सार्वजनिक सुचनामा उल्लेख छ ।

असार अन्तिममा निकालियो अर्काे सुचना

गाउँपालिकाले पहिले सार्वजनिक सुचना अनुसार प्रक्रिया पूरा नभएपछि अर्काे प्रक्रियाबाट स्यानिटरी प्याड खरिद गरेको छ । 

पहिलो सुचना अनुसार प्राप्त भएका दरभाउपत्र स्वीकार गर्न नसकिने अवस्था भएपछि अर्काे सुचना प्रकाशित गरेर स्यानिटरी प्याड खरिद गरिएको गाउँपाकिालकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप तामाङले जानकारी दिए ।

‘पहिलो सार्वजनिक सुचना अनुसार स्यानिटरी प्याड खरिद गर्न नसकेपछि अर्काे सुचना प्रकाशित गरिएको थियो । सो सुचना अनुसार असार २२ गते सम्झौता भएर सामान ल्याइसकियो,’ प्रमुख प्रशासकीय अधिकृत तामाङ वडापालिकासँग भने ।

गन्यापधुराले आर्थिक वर्ष २०७९/८० मा करिब ६ लाख रुपैयाँ बराबरको स्यानिटरी प्याड खरिद गरेको छ । पालिकाले खरिद गरेको सो स्यानिटरी प्याड स्थानीय महिलालाई निशुल्क वितरण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १८:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update