Odapalika - The Fourth Estate - चौथो अंग
सुदूरपश्चिममा मुख्यमन्त्रीको ‘म्युजिकल चेयर’, एमालेको समर्थनमा कांग्रेसका शाहको दाबी 

काठमाडौँ  । केन्द्रीय राजनीतिमा आउने तरङ्ग प्रदेशमा पनि पर्दै आएको छ । केन्द्रीय राजनीतिमा हुने समीकरण परिवर्तनले महिनैपिच्छेजस्तो प्रदेशमा मुख्यमन्त्री परिवर्तनको खेल हुने गरेको छ । 

गएको असार अन्तिमतिर केन्द्रीय राजनीतिमा फेरिएको समीकरणले प्रदेशमा मुख्यमन्त्री परिवर्तन भइरहेका छन् । यसैक्रममा सुदूरपश्चिम प्रदेशमा पनि मुख्यमन्त्री परिवर्तनको खेल चलिरहेको छ । 

गत शुक्रबार मुख्यमन्त्रीबाट दीर्घ सोडारीले राजीनामा दिएपछि आइतबार कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुने तयारीमा छन् । उनले एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । 

सुदूरपश्चिम प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन् । आइतबार साँझ ५ बजेपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । 

उनी यसअघि पनि मुख्यमन्त्री थिए । एउटै व्यक्ति पटक पटक मुख्यमन्त्रीमा दोहोरिने र फ्यालिने क्रम प्रदेश सरकारमा चलिरहेको छ । 

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । शुक्रबार नै प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी गर्न आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

यसअनुसार आइतबार कांग्रेसका शाहले दाबी पेस गरेका हुन् । सुदूरपश्चिममा कांग्रेसका १८ र एमालेका ११ जना सांसद छन् । यसअघि १४ महिाना मुख्यमन्त्री बनेका शाहले गत चैत २२ गते राजीनामा दिएका थिए । 

यसपटक पनि सभापति शेरबहादुर देउवाको मन जितेर शाह मुख्यमन्त्री बन्न सफल भएका हुन् ।  सभापति देउवाले शाहलाई मुख्यमन्त्रीमा सहयोग गर्न अन्य आकांक्षीहरूलाई निर्देशन दिएपछि उनले मुख्यमन्त्रीमा दाबेदारी दिन सफल भएका हुन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update