Odapalika - The Fourth Estate - चौथो अंग
क्रिकेट मैदान बनाउन प्रधानमन्त्रीको सक्रियता, क्यानका पदाधिकारीदेखि कलाकारसम्मको बैठक 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदान बनाउन सक्रियता देखाएका छन् । त्रिवि क्रिकेट बनाउने विषयलाई लिएर आइतबार उनले सरोकारवालासहित विभिन्न व्यक्तिसँग छलफल गरेका छन् । 

गएको असार १ गते प्रधानमन्त्रीको पदभार गरेपछि त्रिवि क्रिकेट मैदान ३०० दिनमा निर्माण गर्ने पहिलो निर्णयसमेत गरेका प्रधानमन्त्री ओलीले नेपाल किकेट संघका पदाधिकारी, खेलाडीदेखि कलाकारसम्मसँग छलफल गरेका हुन् । 

पदाधिकारी खेलाडीसँगको छलफलपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा भनेका छन्, ‘क्रिकेट रंगशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो। यससँगै रंगशाला निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुनेछ।’

बैठकमा गायक बद्री पंगेनी, प्रकाश सपूत, अभिनेत्रीहरू केकी अधिकारी, नीति शाह, मिरुना मगर, गायिका रचना रिमाल, हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेल पनि बैठकमा सहभागी थिए ।

यसअघि प्रधानमन्त्री ओलीले क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कासँग भेटघाट गरेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update