Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानीको शुल्क बढाएपछि धरानमा प्रदर्शन, मेयर हर्क साम्पाङको मागियो राजीनामा 

सुनसरी । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)को राजीनामा माग्दै प्रदर्शन भएकाे छ । खानेपानीको शुल्क र महसुल बढाएको विरोधमा आइतबार आन्दोलनमा उत्रिएका स्थानीयले मेयर साम्पाङको राजीनामा मागेका हुन् । 

धरान खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको शुल्क र महसुल अत्यधिक मात्रामा बढाएपछि उनीहरुले खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका हुन् । आन्दोलित स्थानीयले बोर्डको कार्यालयसमेत घेराउ गरेका छन् । 

यही साउन १ गतेबाट लागु हुने गरी शुल्क र महसुलमा वृद्धि गरेपछि सुरु भएको स्थानीयको आन्दोलनलाई १० राजनीतिक दलको अगुवाइ गरिरहेका छन् । उनीहरुले पुरानै शुल्क र महसुल कायम गर्न माग गरेका छन् । 

स्थानीयको आन्दोलनलाई सहयोग पुग्नेगरी उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षले मेयर साम्पाङलाई ज्ञापनपत्र बुझाउँदै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन् ।

शुक्रबार आन्दोलनरत १० राजनीतिक दलहरूले सबै वडा कार्यालयमा बुझाएको ध्यानाकर्षणपत्र उपमेयर बेघासहित वडा नं १५ का अध्यक्ष नरेश इवारम, १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) र १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रवीण)ले मेयर साम्पाङलाई बुझाएका हुन् । 

तस्बिर : हर्ष सुब्बा

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update