Odapalika - The Fourth Estate - चौथो अंग
कछुवाको गतिमा लिफ्टसहितको पुल, ललितपुर महानगर भन्छ– चैतसम्ममा सक्छौँ

सा‌ंकेतिक तस्बिर

काठमाडौँ । ललितपुर महानगरपालिकाले वडा नं. १३ स्थित कुसुन्तीमा लिफ्टसहितको आकाशे पुल निर्माण सुस्त गतिमा भइरहेको छ । एक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम निर्माण कार्य सुरु गरिएको पाँच महिनामा २० प्रतिशत मात्र काम पूरा भएको छ । 

गएको फागुन २८ गते महानगर प्रमुख (मेयर) चिरीबाबु महर्जनले चक्रपथस्थित कुसुन्तीमा शिलान्न्यास गरेको लिफ्टसहितको अपाङ्गतामैत्री आकाशे पुल निर्माण कार्य ५ महिनामा २० प्रतिशत मात्र काम भएको छ । 

एक वर्षमा सक्ने लक्ष्यसहित निर्माण थालिएको आकाशे पुलको काम अहिलेसम्म २० प्रतिशत मात्र भएको आयोजना प्रमुख इन्जिनियर प्रदीप पौडेलले वडापालिकालाई जानकारी दिए । 

‘अहिलेसम्म २० प्रतिशत काम भएको छ । बर्खाले केही प्रभाव पारेको हो । हामी एक वर्षमा सक्ने लक्ष्य छ,’ उनले भने । 

सडक विभागको सहमतिपछि सो क्षेत्रमा हुने अत्यधिक दुर्घटना रोक्न भन्दै महानगरले लिफ्टसहितको आकाशे पुल बनाउन थालेको हो । तर, आउँदो चैतमा सक्ने लक्ष्य लिए पनि निर्माण सम्पन्न हुनेमा शंका छ । 

आयोजना प्रमुख इन्जिनियर पौडेलका अनुसार ठेकेदार कम्पनी लामा प्रगति –मनि बुद्ध जेभि , काभ्रेसँग चार करोड ६८ लाख ९ हजार ५६१ रुपैयाँको लागतमा १२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । 

चैतसम्ममा ८० प्रतिशत काम गर्नुपर्ने देखिन्छ । निर्धारित मितिमै काम सकिने ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले बताइन् । ‘एक वर्षमा सक्ने लक्ष्य लिएर काम थालेका हौँ । हामी निर्धारित समयमै काम सक्छौँ,’ उनले वडापालिकालाई भनिन् । 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update