Odapalika - The Fourth Estate - चौथो अंग
बुद्धजन्मस्थल र सम्पदा जोगाउन स्थानीय सरकारसँग भएन सहकार्य, के भन्छ कोष ? 

काठमाडौँ । लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनी सम्पदाका विषयमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । 

छलफलमा बुद्धजन्मस्थल लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक हिसाबले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवद्र्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको विकास र संरक्षण आफूहरूले मात्रै गरेर नहुने बताउँदै स्थानीय सरकार, लुम्बिनीका स्थानीय बासिन्दाको साथ र सहयोग आवश्यक हुने बताए ।

उनले कोषको वर्तमान पदाधिकारी स्थानीयवासीको सवालमा संववेदनशील रहेको बताउँदै लुम्बिनीलाई बौद्धमार्गी र विश्वशान्तिका अनुयायीहरूको थलोका रूपमा विकास गर्नुपर्ने बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले बुद्धजन्मस्थल लुम्बिनी नेपालको अमूल्य सम्पत्ति भएकाले कोष र स्थानीय सरकारबीच सहकार्यको वातावरण बढाउनुपर्ने बताइन् ।

उनले कोषले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा कन्जुस्याइँ गरेको बताउँदै अब सहकार्य गरेर स्थानीयवासीको मागलाई समयमै सम्बोधन गरेर अगाडि बढ्न सुझाव दिइन् ।

पार्दै लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्थल र विश्वका बौद्धमार्गीका आस्थाको केन्द्र भएकाले यहाँका विषयमा सबैपक्ष संवेदनशील हुनुपर्ने बताए ।

उक्त अवसरमा विहारहरूका प्रतिनिधिले आफूहरूले धर्मशाला सञ्चालन गरिरहे पनि होटलका रूपमा सञ्चालन गरेको भनेर स्थानीय होटल व्यवसायीले गुनासो गरेकामा दुःख व्यक्त गरे ।

छलफलमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडाअध्यक्षहरूले लुम्बिनी सांस्कृतिक नगरपालिकासँग कोषले सहकार्य नगरेको गुनासो गरेका थिए । कोषका पदाधिकारीसहित नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्ष, विभिन्न विहारका प्रतिनिधि, बौद्ध भिक्षुसहितको उपस्थितिमा छलफल भएको हो ।
 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update