Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । अहिले सामाजिक संजालमा हिमाली गाउँपालिकाको विछयाँ खोलाको भिडियो भाइरल भइरहेको छ ।

यो भिडियोले भर्खरै मन्त्री बनेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेलाई पनि असजिलो बनाइदिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डययन मन्त्री बनेका पाण्डेकै गृहजिल्ला र निर्वाचन क्षेत्रको सो भिडियोले उनलाई असजिलो बनाइदिएको हो ।

भिडियोमा एक जना महिलालाई बोकेर खोलो तार्दै गरेको देखिन्छ । गर्भवती महिलालाई गाउँमै सुत्केरी गराउन नसकेपछि बोकेर स्वास्थ्य केन्द्र लादै गर्दाको भिडियो आफूले खिचेको पत्रकार सिंहले वडापालिकालाई बताए ।

‘गाउँमै स्वास्थ्यकर्मी थिएनन्, अर्काे गाउँमा लानको लागि यसरी विरामी बोकेर खोलो तार्नुपर्ने अवस्था छ । गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य केन्द्रमा लादै गर्दाको भिडियो खिचेको थिएँ,’ पत्रकार सिंहले वडापालिकासँग भने ।

हिमाली लगाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल भने सडक विभागले समयमै सडक नबनाएका कारण स्थानीयले समस्या झेल्नु परेको बताउँछन् । सो सडक बनाउन ७ वर्षदेखि आफू धाएको धायै भएपनि सडक विभागले चासो नदेखाउँदा स्थानीयले समस्या झेल्नु परेको उनको भनाइ छ ।

‘यसभन्दा अगाडिको कार्यकालमा पनि म यो गाउँपालिकाको अध्यक्ष थिएँ । सडक डिभिजन कार्यालयले ठेक्का लगाएको सडक हो त्यो । समयमै बनाइदिनु पर्यो भनेर म अहिलेसम्म ४०/५० चोटी डिभिजन सडक कार्यालय साफेबगर गएको छु । कति चोटी त अख्तिायारमै लेखेर पनि पठाइयो । काम भएको छैन । समस्या भोग्नुको विकल्प हामीसँग छैन,’ अध्यक्ष मल्लले भने ।

ठेक्का लागेको लामो समय भएपनि ठेकेदारले काम नगरेको र निर्माण गराउन सम्बन्धित निकायहरुले चासो नदेखाएको अध्यक्ष मल्लको आरोप छ ।

डिभिजन सडक कार्यालय साफेबगरका प्रमुख आशुतोष कर्ण भने आफू सो कार्यालयमा आएको १ महिना मात्रै भएको र सो सडकका विषयमा धैरै जानकारी लिन नपाइएको बताउँछन् ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update