Odapalika - The Fourth Estate - चौथो अंग
खानेपानीको शुल्क बढाउने धरानका मेयर हर्क साम्पाङलाई ‘झट्का’ लाग्ने आयोगको पत्र (पत्रसहित)

सुनसरी । खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर नै आन्दोलनमा उत्रिएपछि आलोचित बनेका धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङलाई निर्णय कार्यान्वयन गर्न निर्देशन आएको छ । 

खानेपानीको विषयलाई नै चुनावी एजेण्डा बनाएर निर्वाचित भएका मेयर साम्पाङमाथि ‘जनताको ढाड सेक्नेगरी’ महसुल वृद्धि गरेको आरोप लागेको छ । उपमेयर  अइन्द्रविक्रम बेघासहित १० वटा राजनीतिक दलहरु मेयरको निर्णयविरुद्ध सडकमा उत्रिएका छन् । जसलाई जनताले साथ दिएको आन्दोलनकर्मीको दाबी छ । 

खानेपानीको शुल्क र महसुल वृद्धि भएपछि खानेपानी व्यवस्थापन बोर्ड धरानको कार्यालयमा तालाबन्दी गरिएको छ ।

यही बेला सोमबार खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले वृद्धि गरिएको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न निर्देशन दिँदै पत्राचार गरेको छ । आयोगले मेयर अध्यक्ष रहने खानेपानी व्यवस्थापन बोर्ड धरानले गरेको महसुल वृद्धिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न आयोगले निर्देशन दिएको हो ।

‘खानेपानी तथा सरसफाइ ऐन २०७९ को परिच्छेद ६ (२८) को उपदफा ३२ अनुसार यस आयोगमा प्रस्ताव गरी आयोगले निर्णय गरेबमोजिमको महसुल ऐनको दफा ३३ बमोजिम सेवा शुल्कमात्र सेवा प्रदायक संस्थाले लिने कानूनी व्यवस्था छ,’ आयोगका अध्यक्ष रुद्रप्रसाद गौतमले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । 

साथै आयोगले शुल्क र महसुल वृद्धि गर्दाको निर्णय तीन दिनभित्र उपलब्ध गराउन बोर्डलाई निर्देशन दिएको छ । 

यही साउन १ गतेबाट लागू हुने गरी खानेपानीको धारा जडान, नामसारी र महसुल वृद्धि गरेपछि उमपेयर बेघा नै आन्दोलनमा उत्रिएका छन् । 

dharan-patra-poard-1722858473.jpg

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update