Odapalika - The Fourth Estate - चौथो अंग
आज दिनभर अधिक वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि नै देशका विभिन्न भागमा पानी पर्ने क्रम रोकिएको छैन । 

देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको विभागले जनाएको छ । 

मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा छ । बकैया नदीको बारासम्मकै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सप्तरीको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । वर्षा भएरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन विभागको आग्रह छ । 

झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । 

उक्त क्षेत्र भएर बग्ने बिरिङ, चिस्याङ, लोहन्द्रा, केसलिया नदी र अन्य स–साना खोलामा आकास्मिक बहावको जोखिम रहेको विभागको भनाइ छ । 

विभागका अनुसार देशका विभिन्न स्थानमा रातिदेखि नै वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । 

कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । 

दिउँसो देशभर साधारणतया बदली रहनेछ । सातवटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

राति देशभरका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । 


 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update