Odapalika - The Fourth Estate - चौथो अंग
मिक्वाखोला गाउँपालिकामा चौँरी महोत्सव हुने 

काठमाडौँ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव आयोजना हुने भएको छ । पछिल्लो समयमा चौँरीयाक पालनप्रति युवापुस्ताले जासो नदिएसँगै यस पेसा सङ्कटमा पर्ने जाने भन्दै चौँरीयाक पालकहरूलाई प्रोत्साहन तथा मनोबल बढाउन महोत्सवको आयोजन गर्न लागेको हो ।

चौँरीयाक गोठ संरक्षण र प्रवद्र्धनले हाम्रो उच्च हिमाली क्षेत्रको सांस्कृतिक, आर्थिक र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजले जनाएको छ । 

महोत्सव आयोजक समितिले जारी प्रेस विज्ञप्तिअनुसार आउँदो शुक्रबारदेखि सोमबार गरी चार दिनसम्म तोक्पेगोला पर्यटन तथा चौँरी महोत्सव हुने प्रचारप्रसार संयोजक नुपु शेर्पाले जानकारी दिए । 

विशेषगरी हिमाली भेगमा बसोबास गर्ने समुदायका लागि चौँरीयाक गोठ सांस्कृतिक धरोहरका रूपमा छ । परम्परागत तवरले चौँरीयाकको पालन गर्दै आएका समुदायले चौँरीसँग सम्बन्धित विभिन्न चाडपर्व, संस्कार र अनुष्ठानको आयोजना गर्दै आएको शेर्पाले बताए । 

चौँरीयाक गोठ आर्थिक दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । चौँरीको दूधबाट बनाइने चीज, घ्यू र अन्य दुग्धजन्य उत्पादन स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छन् । यस्ता उत्पादनले स्थानीय बासिन्दाको आयआर्जनमा ठूलो सहयोग गरिरहेको जिल्ला समन्वय प्रमुख छिरिङ शेर्पाको भनाइ छ।

मिक्वाखोला गाउँपालिकामा फुडफुडगे झरना, हिलिमा झरना, सोदुपोखरी, भूतपोखरी, तीनपोखरी, मिक्वा पोखरी, लोदेनलगायत सयौँ ताल तथा पोखरीको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । 

आयोजकका अनुसार यहाँका हिमालसँग प्रत्यक्ष साक्षात्कार गर्ने अवसर पाउने मात्र नभई, विभिन्न किसिमका जडीबुट्टी अवलोकन गर्न सकिन्छ । 

    
 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update