Odapalika - The Fourth Estate - चौथो अंग
बडिगाड गाउँपालिकामा पहिरोमा परी ८ जनाको मृत्यु, उद्धारका लागि सेनाको हेलिकप्टर पुग्दै

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिकाको दुईवटा वडामा गएको पहिरोमा परेर आठजनाको मृत्यु भएको छ ।सोमबार रातिदेखि लगातार परेको वर्षापछि गएको पहिरोमा परेर आठजनाको मृत्यु भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले वडापालिकालाई जानकारी दिइन् । 

‘मंगलबार बिहान वर्षासँगै गएको पहिरो परेर आठजनाको मृत्यु भएको छ । वडा नम्बर ९ मा दुईजना र वडा नम्बर १० मा ६ जनाको मृत्यु भएको हो,’ उनले भनिन् । 

वडा १० मा ५९ वर्षीय मैतीदेवी विक, १३ वर्षीय मनोज बुढा, ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी र १३ वर्षका अमन बुढाको मृत्यु भएको अध्यक्ष अधिकारीले जानकारी दिइन् । 

उनका अनुसार वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ ।

घाइतेको उद्धार गर्न हेलिकप्टर पुग्दै

वडा नम्बर १० मा गएको पहिरो परेर संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन् । उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थल जाँदै छ । 

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर उद्धारको लागि गएको हो । ‘उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर आउँदै छ । केही समयपछि घटनास्थल पुग्छ,’ अध्यक्ष अधिकारीले भनिन् । 

 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १६:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update