Odapalika - The Fourth Estate - चौथो अंग
अग्नि सापकोटा मुद्दाको सकस : ६१ पटक इजलास घुमेपछि आज निर्णय, जालान् त जेल ?

काठमाडौं । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाविरुद्ध परेको मुद्दाको निर्णय सुनाइँदै छ । 

सर्वाेच्च अदालतको पूर्ण इजालसले बुधबार सो मुद्दाको निर्णय सुनाउने भएको हो । सर्वोच्च अदालतले सो फैसला सुनाउने मिति आज (बुधबार)का लागि तोकेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले निर्णय सुनाउने भएको हो । 

अर्जुनकी पत्नी पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटासहित माओवादी नेता–कार्यकर्ता विरुद्ध किटानी जाहेरी दिएकी थिइन्। तर, ६१ पटक पेसी, १६ पटक हेर्न नभ्याएको र बेन्च बस्न नभ्याएको, १ पटक स्थगित र ३ पटक हेर्दाहेर्दैमा परेर आएको सो मुद्दाको फैसला बुधबार सुनाउन लागिएको हो । यो बीचमा विभिन्न तीनवटा आदेश भए । 

सुरुमा प्रहरीले जाहेरी नै नलिएपछि मुद्दा मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०६४ सालमा जाहेरी दर्ता गर्न आदेश दिएको थियो।

सो आदेशपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दर्ता भएको थियो । जोहेरी दर्ता भएसँगै सापकोटालाई पक्राउ गर्न जारी भएको पक्राउ पुर्जी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारले तामेलीमा राख्ने निर्णय गरेको थियो । पक्राउ पुर्जी जारी भए पनि सापकोटा त्यतिबेला सञ्चारमन्त्री थिए।   

भट्टराई सरकारको निर्णय बदर गर्दै सापकोटालाई कारबाहीको दायरामा ल्याउन माग गर्दै पूर्णिमाले २०६९ मंसिर ७ गते रिट हालेकी थिइन् । यसपछि २०७२ चैतमा न्यायाधीशद्वय सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले संवैधानिक इजलासमा सुनुवाइका लागि पठाएको थियो ।

त्यसपछि पेसी तोक्ने, हेर्न नभ्याइने, हेर्न नमिल्ने, स्थगित, हेर्दाहेर्दैमा पर्दै आएको मुद्दाको बुधबार निर्णय सुनाउने दिन सर्वाेच्च अदालतले तोकेको हो । बुधबार बस्ने पूर्ण इजलासले उनलाई कारबाहीको दायरामा ल्याउने फैसला गर्छ वा सफाइ दिन्छ, यो भने फैसला आएपछि मात्र थाहा हुनेछ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update