Odapalika - The Fourth Estate - चौथो अंग
किन ढल्यो विष्णु पौडेलका नाममा ठडिएको नेप्सेको लिङ्गो ?

काठमाडौँ । मंगलबार सेयर बजार मापक नेप्से परिसुचक १४५.०५ अंकले घटेर २६५१.३२ विन्दुमा आएर बजार बन्द भयो । घटेको बजारमा २३ अर्ब ७१ करोडको कारोबार भयो ।

मंगलबार सेयर बजारमा केही रेकर्डहरु बने । जस्तो कि कारोबार रकम सो दिन अहिलेसम्मकै सबैभन्दा धेरै भयो । र, नेप्से परिसुचक पनि अहिलेसम्मकै सबैभन्दा बढी अंकले घट्यो ।

सेयर बजार सबैभन्दा बढी अंकले बढेको दिन वा सबैभन्दा बढी रकम कारोबार भएको दिन नेप्सेका कर्मचारीले लड्डु खाने गर्छन् । मंगलबार नेप्सेमा लड्डु बाँडाबाँड भयो कि भएन, त्यो उनीहरु नै जानून् । किनभने सो दिन सबैभन्दा बढी रकमको कारोबार भयो भनेर लड्डु खाँदा सबैभन्दा बढी अंकले परिसुचक घटेकोमा सेलिब्रेट गरे जस्तो महसुस हुन्छ कि भन्ने नेप्सेका कर्मचारीलाई लाग्यो कि भन्ने अनुमानसम्म गरियो ।

मंगलबारको सेयर बजारबाट लगानीकर्ताको सम्पत्ति २ खर्ब ३० अर्ब रुपैयाँले घटेको गणना भयो । सोमबार बजार पुँजीकरण ४४ खर्ब ३८ अर्ब रुपैयाँ बराबर थियो, मंगलबार ४२ खर्ब ८ अर्ब रुपैयाँ बराबर भयो । लगानीकर्ताको सम्पत्ति २ खर्ब ३० अर्ब रुपैयाँ घटेको देखिएको दिन नेप्सेले लड्डु बाढ्यो होला भनेर नसोचम् ।

अहिलेको सेयर बजारको बृद्धी मुलतः अर्थमन्त्री विष्णु पौडेलको नाममा भएको हो । पौडेल अर्थमन्त्री बनेपछि बजार बढेको देखिन्छ । विगतमा पनि उनी अर्थमन्त्री हुँदा बजार बढेको थियो । यसैले उनी अर्थमन्त्री बनेपछि बजार बढ्छ भन्ने आत्मविश्वास लगानीकर्ताका थियो । यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सेयरबजाप्रति नकारात्मक छन्, तर विष्णु पौडेल अर्थमन्त्री बनेपछि सेयर बजार बढाउन जे पनि गर्छन् भन्ने हल्ला जबरजस्त चलेको छ । यही कारण पौडेल अर्थमन्त्री बनेपछि बजार बढ्छ भन्ने आम विश्वास नै थियो । भयो पनि त्यस्तै । 

असार ३० गते नेप्से परिसुचक २२५७.५९ विन्दुमा थियो । विष्णु पौडेल अर्थमन्त्री बनेपछि बजार बढेर गत सोमबार नेप्से परिसुचक २७९६.३८ विन्दुमा कारोबार बन्द भएको थियो । करिब २५ दिनको हाराहारीमा परिसुचक ५३८ अंकले बढ्नु र बजार पुँजीकरण ८ खर्ब ५८ अर्ब रुपैयाँले बढ्नु विष्णु पौडेल र वर्तमान सत्ता गठबन्धनकै कारण हो । अन्य नीतिगत र परिस्थितिगत परिवर्तन केही भएको छैन ।

सेयर बजार बढ्नु पर्ने कारण छन् । सेयर बजार पूर्णप्रतिस्पर्धात्मक बजार हो । त्यसैले यो बजार विनाकारण वा आधार नभइ बढ्ने वा घट्ने गर्दैन । किनभने सेयर बजार घट्न जोसँग सेयर छ, उसले घटेर बेच्नु पर्छ । र, बजार बढ्न जसले सेयर किन्ने हो, ऊ बढेर सेयर किन्न तयार हुनुपर्छ । अब राम्रो दिन आउँदैछन् भन्ने नभइ कसले पो बढी पैसा हालेर सेयर किन्ला र ! अब बजारका लागि थप प्रतिकुल अवस्था आउँदैछ भन्ने नलागी कसले पो घटेर सेयर बेच्ला र !

अहिले बैंकको व्याजदर एकल अंकमा आएको छ । बजारमा प्रसस्त लगानीयोग्य रकम (तरलता) छ । सेयर बजार घटेर तल्लो विन्दुमा आयो भन्ने आमबुझाई छ । दैनिक कारोबार भइरहेका पुँजीबजारमा सुचिकृत कुनै पनि कम्पनी टाट पल्टने अवस्थामा पुगेको सुचना आएको छैन । लगानीका अन्य क्षेत्र खासै तयार भएका देखिदैनन् । अबको ५ महिनापछि नै कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रदान गर्दैछन् । यस्तो बेलामा सेयर बजार बढ्नु स्वभाविक हो, बढ्यो, बढ्नुपर्छ ।

बढेपछि बजारका बारेका चर्चापरिचर्चा पनि बढ्छ, जुन स्वभाविक नै हो । तर, सेयर बजारमा केही अस्वभाविक गतिविधि पनि भएका छन् । जस्तो कि सोमबार डा. अमरेशकुमार सिंहले केही कम्पनी र केही लगानीकर्ताको नामै लिएर सेयर बजारको बारेमा जुन प्रकारको टिप्पणी गरे, त्यो टिप्पणी अनुचित मात्रै होइन, गैरकानुनी र कारवाहीयोग्य नै छ ।

डा. सिंहले सेयर लगानीकर्ताहरु सन्दीप जलान्, अम्बिकाप्रसाद पौडेल र अनिल रुगटाले सेयर बजारमा अवाञ्छित क्रियाकलाप गरी ‘गरिब, अशिक्षित, आमजनता’लाई ठगेको आरोप लगाए । डा. सिंहले नबुझेको कुरा के हो भने सेयर बजारमा साना र ठूला लगानीकर्ता भन्ने हुँदैन । आम र विशेष लगानीकर्ता भन्ने हुँदैन । शिक्षित र अशिक्षित लगानीकर्ता भन्ने हुँदैन । 

किन हुँदैन भने अहिले युनिलिभर नेपालको सेयरमूल्य प्रतिकित्ता ५० हजार रुपैयाँ छ । मैले त्यसको १०० कित्ता सेयर किनेँ भने ५० लाख रुपैयाँ लगानी हुन्छ । अहिले लक्ष्मी सनराइज बैंकको सेयर मूल्य प्रतिकित्ता २२७ रुपैयाँ छ । त्यो ५० लाख रुपैयाँले डा. अमरेशकुमार सिंहले लक्ष्मी सनराइज बैंकको २२ हजार कित्ता सेयर किन्न सक्छन् । अब भन्नोस्– हामी दुईमा को सानो लगानीकर्ता, को ठूलो ? लगानीकर्ताको आकार लगानी रकमका आधारमा तय हुन्छ कि लगानी कित्ता संख्याका आधारमा ? 

डा. सिंहले आरोप लगाएका सन्दीप जलान, अम्बिकाप्रसाद पौडेल र अनिल रुगटा उनी विरुद्ध तथ्यसहित प्रतिवादमा उत्रन सकेनन भने चाँही उनले लगाएको आरोप पुष्टी हुन्छ ।

सोझो अर्थमा हेर्दा डा. सिंहले सेयर बजार घटाउन चाहने व्यक्तिहरुका लागि संसद प्रयोग गरेको देखिन्छ । किनभने उनी सेयर बजारका नराम्रा पक्ष सुधार गर्ने विषयमा बोलिरहेका छैनन् । बजारका कमजोर पक्ष सुधार्न बोलिरहेका छैनन् ।

सेयर बजारलाई राम्रो बनाउन गर्नुपर्ने केही काम छन् । सेयर बजार जस्तो संवेदनशील क्षेत्रमा राज्यले प्रणालीगत रूपमा नै निश्चित व्यक्ति र समुहको विशेष क्षमता र पहुँच उपलब्ध गराउँछ भने उनीहरूले स्वाभाविक रूपमा तुलनात्मक लाभ बढी लिन्छन् । अहिले यही भइरहेको छ । सेयर लगानीकर्ताहरुको संघको नाममा केही व्यक्तिहरु नीति निर्माण कार्यमा संलग्न छन् । खासमा उनीहरु पनि अन्य लगानीकर्ता जस्तै फाइदाको लागि दैनिक सेयर खरिद विक्री गर्ने लगानीकर्ता वाहेक केही होइनन् । पैसाको प्रत्यक्ष संलग्नता हुनु, प्रत्येक सूचना–नीतिको मुल्य हुने बजारमा विशेष व्यक्ति र समुहले विशेष पहुँच र सुविधा पाएपछि अन्य सरोकारवाला र लाभग्राहीलेभन्दा बढी लाभ लिनु वा तरमार्नु स्वभाविकै हो । अहिले भइरहेको यही हो । माननीय अमरेशकुमार सिंहलाई यो कुरामा ध्यान छैन ।

अर्काे कुरा, कानुनले सेयर खरिद विक्रीको लागि २५ प्रतिशत धितो राखेपछि मात्रै गर्न सकिन्छ भन्छ । पहुँच र कारोवार रकमका लागि विशेष व्यक्ति र समुहलाई कानुनले तोकिएको खरिदबिक्री आदेशमा अग्रिम भुक्तानी (कोल्याटर) नराखी भर्चुअल कोल्याटरको विशेष सुविधा दिएको छ । जसले निश्चित व्यक्तिको बजारमा खरिदबिक्रीको क्षमता र पहुँच उल्लेख्य बढाएको छ । सेयर कारोबार भएको समयमा धितोपत्र वोर्ड वा नेप्सेले कुनै पनि ब्रोकरको अफिसमा अनुगमन गर्ने हो भने सजिलै पत्ता लाग्छ । डा. अमरेश कुमार सिंहले यो समस्याप्रति पनि ध्यान दिएका छैनन् ।

तेस्रो कुरा, सेयर कारोबार गर्ने टिएमएसमा कानुनले नचिन्ने तर कारोवार प्रणालीमा उपलब्ध एमकेटी सुविधाले विशेषगरी मुल्य नतोकी धितोपत्र परिमाण (किता) मात्र तोकेर खरिदबिक्री आदेश राख्ने सुविधा दिन्छ । यो सुविधा मार्केट म्यानुपुलेसनका लागि हो । सामान्य अवस्थामा २ प्रतिशत मात्रै मूल्य घटबढ गरेर कारोबार आदेश राख्न पाइनेमा यो एमकेटी अप्सनले एकैदिनमा २२ प्रतिशतसम्मको मूल्य तलमाथि हुन सक्ने सुविधा दिएको छ । यही सुविधा चाहिएको हो भने कानुनी रुपमा व्यवस्था गर्नुपर्यो । होइन भने सफ्टवयर डेभलपरले बनाएको भर्चुअल ट्यागलाइनलाई कानुन बनाएर सेयर बजारमा भइरहेको म्यानुपुलेसन रोक्नु पर्यो । यस्ता विषय हाम्रा सांसदले उठाउँदैनन्, हाम्रा संसदमा उठ्दैनन् ।

कानुनले किनबेचमा धितोपत्र र रकमको सेटलमेन्ट सुनिश्चित गर्छ । किनभने नेपालको बजार अप्सन नभई डेलिभरी सिद्धान्तमा संचालित हो । तर, किनेको र बेचेको रकम टिएमएस प्रणालीबाट सेटलमेन्ट गर्न पाइदा वास्तविक रकमको लेनदेन गर्नै परेन । अर्थात अहिले सेयर किन्न पैसा चाहिदैन । बेचेको पैसा ब्रोकरले आफै लिन पाउँछ । सेयर किन्न पैसा बुझाउनै पर्ने र बेचेको पैसा खातामा आउने व्यवस्था मिलाउने हो भने दैनिक कारोबार रकम के कति हो भन्ने यकिन हुन्थ्यो । तर, अहिले हावाका तालमा यति अर्बको कारोबार भयो भन्ने आत्मसन्तुष्टिमा रमाउनु परेको छ ।

सेयर बजार सुधार्न चाहेको हो भने सुधार गर्ने ठाउँहरु छन् । तर, ठ्याक्कै अनुमान गर्न सकिने गरी कसैको दबाब वा प्रभावमा परेर मूल्य प्रभावित गर्ने गरी हाम्रा माननीयहरुले संसदलाई प्रयोग नगरिदिए हुन्थ्यो । संसदका ठूला दल सहभागी भएर बनेको सरकारका कारण बजारमा आत्मबल बढेको छ । लगानीको वातावरण तयार हुदैछ । बजारमैत्री अर्थमन्त्री वा नीतिनिर्माताका कारण पनि लगानीको वातावरण सुधार हुदैछ । यस्तो बेलामा कसैको दवाब वा प्रभावमा परेर वा ज्ञानको कमीका कारण हाम्रो संसद बजार विरुद्ध प्रयोग नहोस्, बढेको आत्मविश्वासको लिङ्गो संसद, संसदीय समिति वा सांसदका कारण नढलोस् ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update