Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरपालिकामा विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभागीय प्रमुखहरूको जिम्मेवारी हेरफेर तथा पदस्थापन गरेको छ । दशौँ तहका अधिकृतहरुको जिम्मेवारी हेरफेर र बढुवा भएर महानगरपालिकामा सिफारिस भएर आएका नवौँ तहका अधिकृतहरुलाई पदस्थापन गरेको महानगरले जनाएको छ । 

खरिद एकाइबाट प्रशासन विभाग प्रमुखको जिम्मेवारीमा नमराज ढकाललाई दिएको छ भने प्रशासन विभागबाट राजस्व विभागको जिम्मेवारी दीपक अधिकारीले पाएका छन् । 

ध्रुवकुमार काफ्लेलाई सहकारी विभाग, बलराम त्रिपाठीलाई अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालय र रविनमान श्रेष्ठलाई मनोहरा जग्गा एकीकरण आयोजनामा प्रमुखको जिम्मेवारी दिइएको छ । उनीहरु यसअघि क्रमशः राजस्व विभाग,  सहकारी विभाग, खरिद एकाइ र वातावरण व्यवस्थापन विभागमा प्रमुखको जिम्मेवारीमा थिए । 

यसअघि प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत सरिता राईलाई वातावरण व्यवस्थापन विभागमा निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ । 

वढुवा भएर महानगरपालिकामा सिफारिस भएका नवौँ तहका अधिकृतहरुलाई विभिन्न विभागमा पदस्थापन गरिएको छ । जसअनुसा धनबहादुर बस्नेतलाई सहरी योजना आयोगको सचिवालय प्रमुखको जिम्मेवारी दिइएको छ । 

यसअघि सचिवालय प्रमुखका रुपमा कार्यरत सरस्वती पोखरेललाई प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । बस्नेत यसअघि धुलिखेल नगरपालिका काभ्रेमा कार्यरत थिए । 

हरिबहादुर पाटा मगरलाई न्याय प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि गंगाजमुना गाउँपालिका धादिङमा कार्यरत थिए । दिपककुमार केसीलाई स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि दक्षिणकाली नगरपालिकामा कार्यरत थिए । 

भीमेश्वर नगरपालिका दोलखाबाट काठमाडौँ महानगर आएका जगदिश अर्याललाई विपद व्यवस्थापन विभागको जिम्मेवारी दिइएको छ । 

समीक्षा निरौलालाई सामाजिक विकास विभागको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत थिइन् । 

रामरतन शाहलाई खरिद एकाईको प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि ललितपुर महानगरपालिकामा कार्यरत थिए । 

हरिश्चन्द्र लामिछानेलाई सहरी व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यसअघि उनी ललितपुर महानगरपालिकामा कार्यरत थिए ।  राज्यश्वरी शाहीलाई एकल सेवा केन्द्र प्रमुखको जिम्मेवारी तोकिएको छ । यसअघि उनी हेटौँडा उपमहानगरपालिकामा कार्यरत थिए । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update