Odapalika - The Fourth Estate - चौथो अंग
चिरिबाबुको टोलीसँग प्रधानमन्त्री ओलीले गरे बालेनको छेडखानी !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) प्रति व्याङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई भेट्न गएको उपत्यका मेयर्स फोरमको टोलीसँग उनले सांकेतिक रुपमा मेयर बालेनको छेडखानी गरेका हुन् । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा रहेको मेयर्स फोरमको सो टोलीमा मेयर बालेन भने उपस्थित थिएनन् ।

‘जनप्रतिनिधिहरु जनताका पक्षमा काम गर्न निर्वाचित भएका हुन्छन् । त्यसैले हामीले अहंकार र दम्भबाट निर्देशित हुनुहुन्न । जनताप्रति शालिन र विनयशील हुनुपर्छ । हामीसँग जनतालाई हप्काउने, दप्काउने, दुःख दिने, खोस्ने, लुट्ने र पिटपाट गर्ने अधिकार हुँदैन । सडकमा हिँडेका जनताले जनप्रतिनिधिलाई गरेका गुणगान सक्कली र दिगो हुन्छन् । सामाजिक सञ्जाल र नक्कली नामबाट गरिएका प्रशंसा दिगो हुँदैनन्,’ प्रधानमन्त्री ओलीले भने ।

उनले सो टिप्पणी काठमाडौँ महानगरका मेयर बालेनप्रति लक्षित जस्तो देखिन्छ । केही समयअघि मेयर बालेन र प्रधानमन्त्री ओलीबीच दोहोरो बादविवाद पनि भएको थियो । यद्यपि, सो विवादको समयमा ओली प्रधानमन्त्री थिएनन् । 

काठमाडौँ महानगरले न्यूरोड क्षेत्रमा फुटपाथ विस्तार गर्ने अभियान थाल्दा सो वडामा एमालेबाट निर्वाचित वडाध्यक्ष चिनिकाजी महर्जनबीच विवाद भएको थियो । यस्तै, एमाले उपाध्यक्षसमेत रहेका तत्कालिन भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठ र मेयर बालेनबीच पनि विवाद भएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update