Odapalika - The Fourth Estate - चौथो अंग
गोलबजार नगरपालिकाका मेयरको संलग्नतामा सडक बत्तीमा भ्रष्टाचार, के भन्छन् हाकिम ?

सिरहा ।  गोलबजार नगरपालिकामा जडान गरिएको सडक बत्तीमा भ्रष्टाचार भएको देखिएको छ । आर्थिक वर्ष २०७९/०८० मा गोलबजार नगरपालिकाले नगर स्तरीय योजनामा जडान गरेको ११७ थान सडक बत्ती प्रतिगोटा २५ हजारका दरले खरिद गरी जडान गरेको थियो । 

तर आर्थिक वर्ष २०८०/०८१ मा वडा कार्यालयहरुले सोही सडक बत्ती प्रति गोटा  ६ हजार दुईसय ५० का दर जडान गराएका छन् । एक आर्थिक वर्षको अन्तरालमा एउटै साइज, गुणस्तर र उही कम्पनीको बत्ती जडान गर्दा १८ हजार ७ सयको फरक परेको छ । 

आर्थिक वर्ष २०७९/०८० मा गोलबजार नगर सभाले वडा नंं ४, ६ र ७ मा सडक बत्ती जडान गर्न ३० लाख बजेट विनियोजन गरेको थियो । नियमानुसार उक्त परियोजना सञ्चालन गर्न खुला प्रतिस्पर्धा गर्ने गराउने गरी बोलपत्र आह्वान गर्नुपथ्र्यो । 

खरिद ऐन अनुसार गत आर्थिक वर्षसम्म १० लाख भन्दामाथिको परियोजना सञ्चालन गर्दा अनिवार्य रुपमा खुला बोलपत्र आह्वान गर्नैपर्ने कानुनी व्यवस्था थियो । तर गुपचुप रुपमा आफ्नै भाइ भतिजालाई परियोजना पार्न नियम विपरित परियोजनालाई तीन टुक्रा पारिएको स्थानीयको भनाइ छ ।

१०–१० लाखको तीनवटा परियोजना बनाएर कोटेशनमार्फत (दर भाउ पत्र मागेर ) तीनवटै वडाको सडकबत्ती जडान परियोजना मेयर श्याम कुमार श्रेष्ठले आफ्नै भतिजा राजकुमारलाई प्रदान गरेका छन् । 

गोलबजार नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडेल भन्छन्, ‘मेयरसाबको नन्दीभृङ्गीले नगरपालिकालाई चारैतिरबाट घेरेका थिए । प्रणाली अनुसार काम गर्नै दिएनन् । मेयरसाबको ठाडो आदेश अनुसार कानुन विपरित बोलपत्र आह्वान गर्नुपर्ने ठाउँमा परियोजनालाई तीन टुक्रामा विभाजित गरियो र कोटेशनमार्फत आफ्नै भतिजा राजकुमारलाई काम सुम्पिन लगाउनुभयो । भतिजा राजकुमारले तीनवटा फर्म ल्याएर सुटुक्क कोटेशन भर्नुभयो ।’

आर्थिक बर्ष २०७९/०८० मा वडा नं. ४, ६ र ७ मा ३९ –३९ थान गरी ११७ थान सडक बत्ती जडान गरिएको छ । वडा नं. ४ मा पुण्य नेत्र सप्लायर्स, वडा नं. ६ मा सुनकोशी सप्लायर्स र वडा नं. ७ मा कानुन इन्टरप्राइजेजसँग सम्झौता गरेर भुक्तानी दिइएको छ । 

यही तीनवटा फार्मबाट घटीबेसी गरेर तीनवटै वडामा कोटेशन पेस गरिएको छ ।  ३९ वटा बत्ती जडान गर्न वडा नं.४ मा ९ लाख ७१ हजार ७ सय ४३ रकम प्रदान गरिएको छ । वडा नं. ६ मा ९ लाख बहत्तर हजार ७ सय ५७ रुपैयाँ भुक्तानी दिइएको छ ।

त्यसैगरी वडा नं. ७ मा ९ लाख ५७ हजार १ सय १२ रुपैयाँ भुक्तानी दिएको छ । तीनवटै वडामा जडान गरिएको ११७ थान सडक बत्ती २४ वाट को हो । यो बत्तीको मूल्य स्थानीय बजारमा होलसेलमा मात्र १८ सय पर्दछ ।

गोलबजारस्थित दीपक इन्टरप्राइजेजमा उक्त सडक बत्ती खुद्रा मूल्यमा प्रति गोटा दुई हजारमा उपलब्ध छ । १८ सयको बत्ती जडान गर्न प्रतिगोटा २५ हजार भुक्तानी दिइएको छ । 

सडक बत्ती जडान परियोजनामा ‘मह काढ्ने र हात चाट्ने’ अवसर पाएपछि आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ४,९,११ र १३ मा सडक बत्ती जडान कार्यक्रम राख्न लगाइयो । तर यस पटक वडास्तरीय बजेटमा पनि सडक बत्ती जडान कार्यक्रम राखिएको थियो । 

आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ४ ले मात्र १० लाख रकम खर्चेर १६० थान सडक बत्ती जडान गरेको छ । हिसाब गर्दा प्रतिगोटा सडक बत्तीको ६ हजार २ सय ५० पर्न आउँछ ।

वडा नं. ९,११ र १३ मा पनि सोही दर रेट अनुसार सडक बत्ती जडान गरिएको छ । यस पटकको सडक बत्ती जडान कार्य स्थानीय कम्पनी थ्री ब्रदर्स इलेक्ट्रोनिक्स धनगढीमाईले गरेको हो । तीन वर्षसम्म बिग्रिएमा निशुल्क मर्मत गर्ने सम्झौता समेत गरिएको छ ।

यस पटक पनि नगरपालिकाले हरेक वडामा एकीकृत रुपमा नगरपालिकाको जिन्सी शाखाबाटै सडक बत्ती एकमुष्ट खरिद गरिने छ भनेर वडाहरुमा पत्राचार गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले काठमाडौंको कम्पनीलाई एकमुष्ट रुपमा योजना सुम्पने भनेका थिए । 

मेयर श्रेष्ठले पनि वडाहरुबाट सडक बत्ती खरिद गर्दा लेखा परीक्षणमा बेरुजु आउने भएकाले नगरपालिकाबाटै एकमुष्ट खरिद गर्ने भनेर पत्राचार समेत गराएका थिए । वडाहरुले खरिद गर्दा बेरुजु आयो भने त्यसको जिम्मा कसले लिने ? भनेर मेयर श्रेष्ठले वडाध्यक्षहरुलाई तर्साउन खोजेका थिए । 

तर वडाध्यक्षहरु यस पटक अडानबाट टसमस भएनन्, मान्दै मानेनन् ।  वडा नं. १३ का वडाध्यक्ष नन्दकुमार सिंहले भन्छन्, ‘नगरपालिकाको लुट मच्चाउने पत्राचारलाई हामीले महत्व दिएनौं । हामीले सडक बत्ती जडान गर्ने कार्य आफैंले कार्यान्वयन ग¥यौं ।’

वडा नं. ४ का सकलदेव यादव भन्छन्, ‘यो काम स्थानीय कम्पनीहरुबाट गराउने भनेर मैंले अडान लिएँ । किनकि पछि मर्मत सम्भार गर्न गराउन पनि सजिलो हुन्छ । प्रतिगोटा ६ हजारमा जडान हुने सडक बत्तीको २५ हजार तिर्दैनौ भनेर अडान लिएपछि अधिकृत केसी रिसाए । उनले अहिले मलाई चारैतिरबाट परिवन्धमा पार्न खोज्दैछन् । तर उनको घेरा तोडेर म अघि बढ्छु ।’ 

वडा नं. २ का वडाध्यक्ष सुकदेव सिंह भन्छन्,‘हामी आफैंले सडक बत्ती जडान गर्दा प्रतिगोटा मिस्त्री खर्च समेत मात्र ६ हजारमा गर्न सक्छौ । तर नगरपालिकाले एउटै बत्तीमा २५ हजार खर्चिएको छ ।’

एमालेका स्थानीय नेता दामोदर अधिकारी भन्छन्, ‘गोलबजार नगरपालिकामा आफूले गरेको भ्रष्टाचार आफंै उदाङ्गो पार्ने काम भएको छ ।’ 

एक वर्ष अगाडि २५ हजारका दरले जडान गरिएको सडक बत्ती एक वर्षपछि ६ हजार २ सय पचासमा कसरी जडान भयो ? जाहेर छ गत वर्ष सडक बत्ती जडानमा अकुत भ्रष्टाचार भएको थियो । अधिकारीले खुला चुनौती दिँदै भने,‘ मेयर श्याम श्रेष्ठले गत वर्षको बत्ती जडानमा भ्रष्टाचार भएको छैन भनेर कसरी भन्न सक्छन् ? उही गुणस्तर, उही साइज र उही कम्पनीको बत्ती एक वर्ष अगाडि २५ हजार र एक वर्ष पछि ६ हजार दुई सय ५० हुन्छ ? भ्रष्टाचार गरेको प्रमाणित भए राजीनामा दिन्छु भन्ने मेयरले अब कुन टालोले लाज छोप्छन् त ?’, अधिकारीले भने, ‘उनकै भतिजोले उनकै आदेशमा सडक बत्ती जडानको काम पाएका थिए । ३० लाखमा मात्र ११७ थान बत्ती जडान गरे । एउटा  परियोजनालाई गैर कानुनी रुपमा तीनटुक्रा बनाएर मेयर श्रेष्ठले कोटेशनमार्फत आफ्ना भतिजलाई सडक बत्ती जडानको कार्य सुम्पेका थिए । ’     

माओवादीका स्थानीय नेता रामचन्द्र सिंह भन्छन्, ‘गोलबजार नगरपालिकामा अवैध धनको वर्षा छ  । मेयर श्याम श्रेष्ठलाई सोलीले छोप्नु भ्याईनभ्याई छ । यस्तो देखादेख भ्रष्टाचारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राथमिकता दिएर अनुसन्धान गरी दोषीहरुलाई कारवाही गर्नुपर्छ ।’

नेपाल न्युज बैैँक 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update