Odapalika - The Fourth Estate - चौथो अंग
हलो क्रान्तिः हलगोरुले १३ लाख ८० हजार पाए, बाँझा जमिन हराभरा भए 

काठमाडौँ । म्याग्दे गाउँपालिकाले गत आर्थिक वर्षमा हलगोरु पाल्ने किसानलाई अनुदानबापत १३ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । 

गाउँपालिकाको पशु सेवा उपशाखाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप उक्त रकम उपलब्ध गराइएको हो । 

कार्यक्रमबाट ३४५ हलगोरु पाल्ने किसान लाभान्वित भएका गाउँपालिकाको पशु सेवा उपशाखाका प्रमुख डा. विनयकुमार शाहले जानकारी दिए । उनका अनुसार प्रतिहलगोरु ४ हजार अनुदान दिने गाउँपालिकाको नीतिअनुसार ३४५ किसानलाई उक्त रकम उपलब्ध गराइएको छ । यस कार्यक्रमका लागि सुरुमा १० लाख रुपैयाँ विनियोजन गरिएकामा रकम अपुग भएपछि बाँकी रकम रकमान्तर गरिएको शाह बताउँछन् । 

गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो हुने क्रम बढेपछि किसानलाई प्रोत्साहनका लागि रकम उपलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । गोरु पाल्ने प्रचलन घट्दै जाँदा खेतबारी बाँझो हुन थालेपछि जग्गा बाँझो हुन नदिन यो कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाइ छ ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप रकम उपलब्ध गराइएको भन्दै उक्त रकम गोरुको पोषणका लागि खर्च गर्न किसानलाई भनिएको बताए ।

गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई रकम उपलब्ध गराउने नीति तथा कार्यक्रममार्फत निर्णय गरेको थियो । सोही अनुसार सबै किसानलाई बैङ्किङ

प्रणालीमार्फत रकम उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update