Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले दियो महिला भलिबल टिमका सदस्यलाई जनही एक लाख, अफिसियललाई ५० हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सेन्ट्रल एसियन (काभा) महिला भलिबल नेसन्स लिगको उपविजेता नेपाली राष्ट्रिय भलिबल टिमलाई नगद पुरस्कारले सम्मानित गरेको छ ।

बुधबार भएको फाइनल खेलमा भारतसँगको प्रतिस्पर्धामा उपविजेता बनेको नेपाली टोलीका खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई महानगरले बिहीबार सम्मानसहित पुरस्कृत गरेको हो । 

काठमाडौँ महानगरले राष्ट्रिय टिमका प्रत्येक खेलाडी र प्रशिक्षक गरी १५ जनाले एक एक लाख नगद पुरस्कार प्रदान गरेको छ भने तीनजना अफिसियललाई जनही ५० हजार रुपैयाँ प्रदान गरेको हो । 

खेलाडीसहितको टिमलाई सम्मान र पुरस्कृत कार्यक्रममा महानगरका मेयर बालेन्द्र (बालेन) शाह, उपमेयर सुनिता डंगाल तथा महानगरका कर्मचारीहरू उपस्थित थिए ।

सो क्रममा मेयर शाहले खेलाडीहरुलाई भने, ‘तपाईँहरुले उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । खेलमा कुनै कमजोरी थिएन ।  खेलले सबै नेपालीलाई एउटै ठाउँमा उभ्याएको थियो । यसकारण, तपाईँहरुको प्रदर्शनले भलिवल राष्ट्रिय खेल भएको प्रमाणित भएको छ ।’ 

दशरथ रंगशालामा बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका हुन् । राउन्ड रोबिन लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । खेलमा ५ वटा देश सहभागी थिए । सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुदको भलिबल खेलमा पनि नेपालले यही अवस्थाको सामना गर्नुपरेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १४:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update