Odapalika - The Fourth Estate - चौथो अंग
धरान अशान्त बनेपछि मेयर साम्पाङको भावुक स्टाटस– जसको लागि दुःख गरेँ, तिनैले मृत्युको कामना गरे 

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिका पछिल्लो केही दिनयताबाट अशान्त बनिरहेको छ । खानेपानी महसुल वृद्धिको विषयलाई दिएर धरान उपमहानगरपालिका अशान्त बनेको हो । 

बिहीबार पनि कांग्रेस, एमालेसहित १० राजनीतिक दलले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले खानीपानीसहितमा गरिएको महसुल र शुल्क वृद्धि फिर्ता लिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन् । 

खानेपानीसहितको महसुल अस्वाभाविक रुपमा वृद्धि गरेको भन्दै उपमेयर अइन्द्रविक्रम बेघा नै आन्दोलनमा उत्रिए । खानेपानीको शुल्क र महसुल वृद्धि भएपछि १० राजनीतिक दलले खानेपानी व्यवस्थापन बोर्ड धरानको कार्यालयमा तालाबन्दीसमेत गरे । 

गएको सोमबार खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले वृद्धि गरिएको खानेपानीको शुल्क र महसुल कार्यान्वयन नगर्न धरान उपमहानगरलाई निर्देशन दिँदै पत्राचार गरेको थियो । 

यसबारे उच्च अदालत विराटनगरले पनि आदेश दिएको छ । मंगलबार न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले दलहरुविरुद्ध २८ साउनसम्म तालाबन्दी नगर्न आदेश जारी गर्दै सो दिन छलफलका लागि बोलाएको छ । 

अदालतले धरान खानेपानी व्यवस्थापन बोर्ड कार्यालयमा ताला नलगाउन र खानेपानीको नियमित सेवा सञ्चालन गर्न दिन १० राजनीतिक दलका नाममा आदेश जारी गरेको छ । 

दलहरुको नेतृत्वमा बोर्डमा तालाबन्दी भएपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उच्च अदालतमा रिट दायर गरेपछि अदालतले यस्तो आदेश दिएको हो । 

अदालतको आदेशपछि पनि राजनीतिक दलले आन्दोलनलाई जारी राखेका छन् । बिहीबार पनि मेयर साम्पाङसविरुद्ध नाराबाजी भएको छ । 

आफूविरुद्ध नाराबाजी भएको भिडियो पनि मेयर साम्पाङले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यसअघि बिहीबार नै उनले भावुक स्टाटस लेखेका छन् । जसका लागि आफू दिनरात काम गरेँ उसैले आफ्नो मृत्युको कामनासहित नाराबाजी गरेको उनको स्टाटसमा उल्लेख छ । 

फेसबुकमा मेयर साम्पाङले लेखेको स्टाटस :

जसको निम्ति दिनरात एक बनाएर श्रम गरिरहें जसको घरमा आउनेपानीको नाला फटाहा विरोधीहरुले जलाइदिँदा जंगलमै बास बसी बसी कति रात कति दिन आगो निभाएँ, जसको सबै खाले सेवासुविधा र अधिकारका लागि म दिनरात सोचिरहेँ र श्रम गरिरहेँ तिनै जनताले आज हर्क साम्पाङ मुर्दावाद ! हर्क साम्पाङ मरिजावोस् भनेर नारा लगाको सुन्दा खुसी लागेन भन्न मिल्दैन मैले । विश्वले सम्मान गरिसकेको श्रमदाता हुँ म । मैले गरेको हरेक श्रमले धरान र देशको उन्नति चाहेको छ । जसले ऋण लिए उसैले आज विदेशी ऋण नतिर्न आह्वान गर्दा हौसिएर मलाई मुर्दावादको कामना गरेको देख्दा खुसी लागेको छ । धन्यवाद ती जनतालाई जसले मेरो मृत्युको कामना गर्दै मुर्दावादका नारा लगाइराका छन् । मेरा गल्ती धेरै छन्, भ्रष्टाचार नगर्नु मेरो गल्ती । इमानदार बन्नु र सबैलाई इमानदार ब्नाउन खोज्नु मेरो गल्ती । पसिना बगाई बगाई बिकास गर्नु र गर्न लगाउनु मेरो गल्ती । धरानको विकासका लागि सबै तिर खरो बोल्नु मेरो गल्ती । धेरै छन् मेरा गल्तीहरु जसको कारण हर्क साम्पाङ मुर्दावादको नारा घन्किएको छ आज । मलाई थाहा छ फोहोरी राजनीतिको खेल तर त्यो फोहोरी राजनीतिलाई सफा बनाउन आएको व्यक्ति हुँ म । धन्यवाद सबैलाई ।

 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update