काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति र सिद्धान्तमा अघि बढाउन निर्देशिका बनाएको छ ।
बुधबारबाट सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१ पेस गरेका छन् ।
केन्द्रीय समितिबाट पारित भएपछि कार्यान्वयनको बाटो खुल्ने २९ बुँदे निर्देशिकाले स्थानीय तहदेखि केन्द्रसम्मका जननिर्वाचित प्रतिनिधिलाई पार्टीको घोषणापत्रदेखि नीति र सिद्धान्तअनुसार अघि बढाउन सकिने कांग्रेसको विश्वास छ । जननिर्वाचित प्रतिनिधि आफू खुसी चल्दा हुने अपजसको भारी पार्टीको व्यहोर्नुपरेको भन्दै कांग्रेसले सो निर्देशिका ल्याएको हो ।
विशेषगरी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पार्टीको घोषणापत्र, नीति तथा सिद्धान्तअनुसार चल्न नसकेको कांग्रेसको बुझाइ छ ।
केन्द्रीय समिति बैठकमा सो निर्देशिकाबारे छलफल भइरहेको छ ।
निर्देशिकामा यस्ता छन् २९ बुँदा
१. तीनवटै तहका जनप्रतिनिधिहरूले शपथग्रहण गरेको मितिले एक महिनाभित्र आ–आफ्नो क्षेत्राधिकार केन्द्रित कार्ययोजना आफू सम्बद्ध कांग्रेस कार्यसमितिलाई सुसूचित गर्नेछन्।
२. सम्बद्ध कार्यसमिति समेतको सुझाव सम्मिलित कार्ययोजना नागरिकपंक्तिसमक्ष प्रतिबद्धताका रुपमा प्रस्तुत गर्नेछन्।
३. तीनवटै तहका जनप्रतिनिधिले देशको मुल कानुन संविधानले निर्दिष्ट गरेका अधिकारको दायरामा रहेर कार्य गर्नेछन्।
४. अधिकारको प्रयोग गरिरहँदा सो अधिकारले विन्यास गरेको कर्तव्यलाई जनप्रतिनिधिले पूर्ण आत्मसात गर्नेछन्।
५. संघ र प्रदेश दुबै तहका सदस्य आ–आफ्नो संसदीय निर्वाचन क्षेत्रको प्रत्येक पालिकामा स्थानीय जनसम्पर्क हुने गरी दुई महिनामा कम्तिमा एक पटक अनिवार्य पुग्नेछन्।
६. आफूलाई निर्वाचित गराउने भूगोलका मतदाताको भावना र विश्वासलाई सदैव केन्द्रमा राखेर तीन वटै तहका जनप्रतिनिधिले कार्यसम्पादन गर्नेछन्।
७. कार्यसम्पादन गरिरहँदा आफूसँग असहमत या फरक विचार राख्ने मतदाता, अन्य पार्टीमा रहेका व्यक्ति या आफ्नै पार्टीका कोहीप्रति पनि फरक व्यवहार गर्ने छैनन्।
८. आफ्नो पदले निर्दिष्ट गरेको काममा भन्दा सार्वजनिक कार्यक्रम या व्यक्तिगत काममा बढी लाग्ने गरेको भनेर आलोचनाको अवस्था आउन नदिन तदनुरुप सजगता राख्नेछन्।
९. तर आफ्नो परिवारलाई दिने समय र निर्वाह गर्नु पर्ने कर्तव्यमा कुनै सम्झौता गर्ने छैनन् ।
१०. आफ्नो जिम्मेवारीको क्षेत्रमा कोही पनि नागरिकको परिवारमा पर्ने दुःख, पीडा र विपत्तिको घडीमा अत्यावश्यक साथको मानवीय कर्तव्य पूर्ण कृयाशीलता साथ निभाउने छन्।
११. आफ्नो पदीय जिम्मेवारीको क्षेत्रमा पर्ने भूगोलभित्र समन्यायिक विकासका लागि पहल गर्नेछन्, तर बजेट बिनियोजन गरिरहँदा अर्घेल्याई नगर्न र गर्न नदिन जिम्मेवार ढंगले गाम्भिर्यता राख्नेछन्।
१२. विकास निर्माणका कार्यमा हुने गरेका ढिलासुस्ती अन्त्य गर्न, गराउन आफ्नो जिम्मेवारीको क्षेत्रमा अत्यावश्यक पहल, सुझाव र सहजीकरणको भूमिका निभाउने छन्।
१३. संघ एवं प्रदेशका मन्त्री र स्थानीय तहका प्रमुखले बिषय विज्ञहरूसँग नियमित रुपले आवश्यक परामर्श गर्नेछन्। परामर्शको दायरा सदैव फराकिलो राख्नेछन्। यसमा सम्बद्ध पार्टी तहले आवश्यक सहजीकरण गर्नेनैछ।
१४. मिडिया या हरेक नागरिकको सूचनाको हक कदर गर्दै कानुनतः मिल्ने सूचना र प्रस्टीकरण अनिवार्यसँग राख्नेछन्।
१५. आफ्ना बारेमा उब्जिएका प्रश्न या प्रकाशित समाचारलाई लिएर तिक्त प्रतिक्रिया नजनाई संयमले सम्बोधन गर्नेछन्। मिडियामैत्री व्यवहार अनिवार्य पालना गर्नेछन्। समाचार विवरण गलत छ भने खण्डन या कारबाहीसम्बन्धी स्थापित विधि पछ्याउने छन्।
१६. फजुल खर्च, भ्रष्टाचार, अनियमितता, अपारदर्शीता, जवाफदेहिविहीनताजस्ता बेथितिमा आफू सरिक नहुन र आफ्नो पदीय जिम्मेवारीको क्षेत्रमा त्यो हुन नदिन तिनै तहका जनप्रतिनिधिले सम्पूर्ण गम्भीरता राख्नेछन्।
१७. सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्दै अनिवार्य, नियमित र निर्धारित समयमै विवरण सार्वजनिक गर्नेछन्।
१८. कुनै पनि प्रकृतिको सामाजिक विसंगति (जातीय विभेद, बाल श्रम, घरेलु हिंसा आदि) मा आफू सरिक हुने छैनन् र आफ्नो जिम्मेवारीको क्षेत्रमा त्यस्तो कुनै विसंगति अस्तित्वमा छ भने त्यसलाई अन्त्य गर्न बिशेष कृयाशीलता राख्नेछन्। त्यहाँका जनप्रतिनिधिको प्रधान सामाजिक दायित्व हुनेछ।
१९. आफू कार्यरत क्षेत्रमा या आफ्नो सम्पर्क क्षेत्रमा रहेका कर्मचारी, सुरक्षाकर्मी या अन्य आबद्धको कार्यकुशला बढाउन प्रेरणा भर्नेछन्। कर्मचारीको मनोबललाई असर गर्ने कुनै पनि काम आफ्नो व्यवहारमा हुनदिने छैनन्।
२०. समय व्यवस्थापनमा गम्भीर हेक्का राख्नेछन्। पदीय जिम्मेवारीको काम, सार्वजनिक भेटघाट, सार्वजनिक कार्यक्रम, पार्टी समन्वय, परिवार व्यवस्थापनदेखि व्यक्तिगत स्वास्थ सतर्कतासम्मका लागि समय व्यवस्थापन कुशलतापूर्वक गरेर सदैब शान्त एवं संयमित शैली अख्तियार गर्नेछन्।
२१. आफू निर्वाचित रहेको तहमा, आफ्नो निर्णयबाट, आफ्नो परिवारका कोही सदस्यलाई नियुक्ति गरिएको भन्ने आलोचित हुने कार्य गर्ने छैनन्।
२२. आफू आबद्ध तहको पार्टी कार्यालय महिनामा एक पटक अनिवार्य पुग्नेछन्। त्यसरी पुगेको समयमा पार्टी नेतृत्वसँगको समन्वयमा पूर्व सूचना साथ पार्टीका साथीहरूबाट सुझाव, सल्लाह एवं कमि–कमजोरीको विवरण लिनेछन्।
२३. कुनै पनि प्रदेश, जिल्ला, क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, पालिका या वडामा पदिय जिम्मेवारी अन्तर्गत पुगिरहँदा सो तहको पार्टी समितिको नेतृत्वलाई पूर्व सूचना अनिवार्य दिनेछन्।
२४. आफ्नो पदीय जिम्मेवारी बमोजिमका कार्यमा गरिएका प्रगतिको विवरण प्रत्येक दुई महिनामा आफू आबद्ध तहको कार्यालयलाई बुझाउने छन् र तत्पश्चात नागरिक पंक्तिलाई सुसूचित गर्नेछन्।
२५. संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नागरिकको काम सम्पादन गरिरहँदा आपसमा समन्वय गर्नेछन्। यसका लागि प्रदेश, जिल्ला र संघीय निर्वाचन क्षेत्रीय समितिहरुले आवश्यकता अनुरुप छलफल आयोजना गर्नेछन्।
२६. कांग्रेसको नेतृत्वमा रहेका केही स्थानीय तहमा नियमित अडिट नभएको तथा कयौंमा लाखौं रुपैयाँको बेरुजु पाइएको वास्तविकता अन्त्य गर्न र यस्तो स्थिति आगामी दिनमा आउन नदिन आर्थिक सुशासनमा तत्तत् तहको नेतृत्वले गम्भीरता राख्नेछन्।
२७. सरकारमा रहँदा होस् या प्रतिपक्षमा रहँदा दुवै स्थितिमा संघ र प्रदेशसभा सदस्यहरूले नागरिकका मुद्दालाई नियमित रूपले संसदमा उठाउने छन्। विज्ञ परामर्श, अध्ययन र आपसी संवादबाट आफ्नो प्रस्तुतिलाई थप परिपक्व बनाउने छन्। गुण र दोषको आधारमा सरकारको समर्थन र आलोचना गर्ने पार्टी नीति मर्यादित रूपले गर्नेछन्।
२८. अनुशरण निर्वाचनमा पार्टीले जारी गर्ने घोषणा पत्रको सम्भव हदसम्म कार्यान्वयनमा जनप्रतिनिधिले विशेष भूमिका निभाउनेछन्। गठबन्धन भएको अवस्थामा न्युनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा ध्यान केन्द्रित गर्नेछन्।
२९. ‘काम गर्ने तर गरेको काम प्रचार गर्न नसक्ने’ भनेर पार्टीको स्थापित छवि चिर्दै पार्टी र जनप्रतिनिधिबीच ‘समन्वय संयन्त्र’ मार्फत् प्रचार कार्यलाई चुस्त बनाउने छन्। यस्तो संयन्त्र निर्माणमा सम्बद्ध पार्टी तहको नेतृत्वले अविलम्ब तदारुकता राख्नेछ।