Odapalika - The Fourth Estate - चौथो अंग
बर्दिबासको १२ हजार वर्ष पुरानो हतियार कारखानाले यसरी पाउँदै छ पुनर्जीवन 

महोत्तरी । सन् १९८५ अघि नेपालको प्रागऐतिहासिक पाटोहरूको विषयहरूमा कुनै खोज र अनुसन्धान हुन सकेको थिएन । जब जर्मन नागरिक गुड्रन कर्विन्स नेपाल आइन्, तब नेपालका पुरातात्त्विक गौरवहरूबारे चासो राखियो । 

ढुंगे युगदेखि नै मानिसको चहलपहल भएको विषयले मात्र हैन हजारौँ वर्ष पुराना अवशेषहरूले नेपालका भूमिहरू विश्वका पुरातात्त्विकविदहरूका लागि सर्वाधिक आकर्षणको केन्द्र बने ।

उनै कर्विन्सले १० वर्ष लगाएर अध्ययन गरेको मधेश प्रदेशको महोत्तरीस्थित पाटुको भूमि विश्वमा नै चर्चाको विषय बनेको छ । विख्यात भूगर्भविद कर्विन्सले गरेको अध्ययनपछि सोही ठाउँमा पत्ता लगाइएको मध्यपाषण युगको हतियार कारखाना यतिबेला आममानिसमा कौतहुलता बढेको छ ।

कर्विन्सले २००७ मा प्रकाशित गरेको किताब ‘प्रि–हिस्टोरिक कल्चर इन नेपाल’ बाहिर आएपछि यो भूमिको थप रहस्यहरू उजागर  बनेको हो । उनले उक्त किताबमा रातु नदीसँगै जोडिएको पाटु भन्ने ठाउँमा १० देखि १२ हजार वर्ष अघि अर्थात् मध्यपाषण युगमा मान्छेहरूको बाक्लो चहलपहल रहेको उल्लेख गरेकी छन् ।

तत्कालीन समयमा मानिसले प्रयोग गर्ने हतियारहरू समेत त्यहीँ बनेको कर्विन्सले विश्वलाई किताबको माध्यमवाट सविस्तार वर्णान गरिन् । जुन बेला मानिसहरू ढुंगाको हतियार बनाएर सिकार खेल्ने र जीविकोपार्जन गर्ने गर्थे । 

मध्यपाषण युग १० देखि १२ हजार वर्ष पहिलाको मानिन्छ । अहिलेको पाटु गाउँ विक्रम संवत्. २०२० को दशकमा बस्ती बसेको थियो । कर्विन्सले तथ्यसहित १२ हजार वर्ष पुरानो मानव सभ्यता भएको उजागार गरेपछि स्थानीयहरू समेत अचम्मित बनेका छन् ।

‘बन्चरोजस्ता ढुंगा, धारिलो अनौठा ढुंगाहरू जंगल जाँदा भेटिन्थ्यो । संचार माध्यमबाट पाटु १२ हजार वर्ष पुरानो सभ्यता भएको थाहा पाएपछि हामीले त्यस्ता आकृतिका ढुंगाहरूको खोजी गरिरहेका छौँ,’ स्थानीय रमेश पौडेलले भने, ‘यो भूमि पुरातात्त्विक पर्यटनका हिसाबले उर्बर रहेछ ।’ 

चुरे पहाडसँगै जोडिएको यो गाउँमा पाल टाँगेर ३५ वर्ष अगाडि कर्विन्सले १० वर्ष लगाएर अध्ययन गरेकी थिइन् । 

स्थानिय, प्रदेश र संघीय सरकारले यहाँको प्राग–ऐतिहासिक विषयमा चासो देखाए पनि यसको संरक्षण र प्रवद्र्धन कसरी गर्ने भन्ने विषयमा कुनै योजना बनाउन सकेको छैन ।

उद्योग वाणिज्य संघको चासो

पुरातात्त्विक हिसाबले निकै रहस्यमय भएको यस क्षेत्रबारे उद्योग वाणिज्य संघ बर्दिबासले चासो देखाएको छ । पुरातात्त्विक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न कयौँपटक संघका अध्यक्ष विष्णु खड्काले छलफल समेत चलाएका छन् ।

उनकै नेतृत्वमा  यसअघि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीलाई प्रतिवेदन समेत वुझाइएको थियो । फलस्वरूप संघीय सरकार र प्रदेश सरकारले करिब ८० लाख बजेट विनियोजन गरेको छ । 

मध्यपाषण युगको हतियार कारखाना, जुन बेला मानिसहरूले ढुंगाका हतियार बनाउथे । सोही हतियारहरू कर्विन्सले रातो माटोभित्र हजारौँ संख्यामा रहेको पत्ता लगाइन् ।

तत्कालीन समयमा हतियार कारखानाको रुपमा नै प्रयोग भएको उक्त ठाउँमा ठुलो संख्यामा मानिसको बसोबास मात्र हैन अन्यत्रबाट पाटुमा नै केन्द्रित हुने गरेको कर्विन्सको अध्ययनमा आधारित पुस्तकमा उल्लेख छ । 

‘उनले पत्ता लगाएका केही हतियारहरू हामीले पुरातात्त्विक विभागमा समेत गएर अवोलोकन गर्‍यौँ,’ अध्यक्ष खडकाले भने, ‘वास्तवमा नै यो ठाउँलाई विश्वको नै ठूलो अध्ययन केन्द्र बनाउन सकिने आधारहरू देखिएका छन् ।’

 अहिले उद्योग वाणिज्य संघ बर्दिबासको नेतृत्वमा नै पुरातात्त्विक पर्यटनको आधार तयार गर्न विषयगत समिति समेत बनाइएको छ । रातु–राईमण्डल पुरातात्त्विक पर्यटन विकास क्षेत्र समिति नामांकरण गरिएको समितिले पुरातात्त्विकविदहरूसँग छलफल गरेर गुरुयोजना समेत तयार गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

ठूलो पुरातात्त्विक पर्यटकीय केन्द्र बन्न सक्छ 

सञ्चार माध्यमवाट निरन्तर समाचार आएपछि देशैभरका पुरातात्त्विकविद्वहरूले पाटुको मध्यपाषण युगको हतियार कारखानाको विषयमा चासो व्यक्त गरेका छन् ।

‘बर्दिवासमा देखिएको चासोले यो ठाउँ विश्व कै पुरातात्त्विक पर्यटन केन्द्र बन्न सक्ने महत्त्वपूर्ण आधारहरू देखिएको छ,’ भूगर्भविद्व प्रकाश दर्नालले भने, ‘संघ र प्रदेशले उक्त ठाउँको विकासको लागि बजेट विनियोजन गरेको सुनेको छु । गुरुयोजना बनाएर काम गर्नुपर्छ ।’ 

पुरातत्त्व विभाग काठमाडौँका कर्मचारीहरू पाटुका विषयमा कर्विन्सले अन्य धेरै विषय पत्ता लगाएको हुँदा थप अध्ययन जरुरी देखिएको बताउँछन् ।

कर्विन्सले पत्ता लगाएको उक्त अवशेषहरूलाई अहिले राष्ट्रिय संग्रहालयमा राखिएको छ । किताबमा रातो माटोमुनि हजाराैँ, करोडौँ संख्यामा ३० देखि ५० सेन्टिमिटर पुरिएको अवस्थामा रहेको उनले उल्लेख गरेकी छन् ।

यी सवै सम्पदाहरूलाई संरक्षण गर्न र ऐतिहासिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सरकारले देखाएको तत्परताले उत्साहित बनाएको अर्का पुरातात्त्विकविद् सोमनाथ सापकोटा बताउछन । ‘पाटुको विषयमा थुप्रै गौरवपूर्ण इतिहास हामीले पत्ता लगाएका छौँ । स्थानीय सरकारले यसमा विशेष चासो देखाउनुपर्छ,’ उनले भने, ‘कर्विन्सले पत्ता लगाएको मध्यपाषण युगको हतियारको राजधानी, सर्पहरूको राजधानी, वि.सं. १२१८ को शक्तिशाली भुकम्पका विषयमा याँहा थुप्रै रहस्यहरू छन् ।’ 

वि.सं. १२१८ को शक्तिशाली भूकम्पले बनाएको पहाड

नेपालको भूकम्प इतिहास केलाउँदा वि.सं. १२१८ को रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प मानिन्छ । वि.सं. १२१८ असार शुक्ल तृतीया तिथि सोमबारका दिन करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको विज्ञहरूको भनाइ छ ।

यही भूकम्पमा परी राजा अभय मल्लको निधन भएको थियो ।  भूकम्पले काठमाडौँ उपत्यकाका एकतिहाई जनसङ्ख्यालाई प्रभाव पारेको थियो । इतिहासकारहरूका अनुसार तत्कालीन समयमा समथर र केही माथि उठेका चुरे पहाडहरू झन् माथि उठेको बताइन्छ । 

त्यसैमध्ये भूकम्पको प्रभाव कै कारण सबैभन्दा ठूलो पहाड बनेको पनि पाटुको उपल्लो क्षेत्र अर्थात् राईमण्डलको वरपर नै रहेको बताइँदै आइएको छ ।

करिब आठ सय वर्ष पूरानो जीवित इतिहासलाई भूकम्पको कारण माथि उठेको यसै ठाउँको एउटा टापु प्रमाणको रुपमा उभिएको भूगर्भविद्हरू बताउँछन् ।

भूगर्भविद् सोमनाथ सापकोटाका अनुसार पीएचडीका विद्यार्थीहरूले पाटुमा नै थुप्रै अध्ययन र अनुसन्धान गरेर जर्नलहरू प्रकाशित गरेका छन् ।

कर्विन्सले फेला पारेको मध्यपाषण युगको सभ्यतासँगै देखिएको ऐतिहासिक चुरे पहाडलाई एकीकृत पुरातात्त्विक पर्यटन केन्द्रको रुपमा विकास गर्न सकिने सापकोटा बताउँछन् ।

समिति गठन 

हजारौँ वर्ष पुरानो मानवसभ्यता र यसका अवशेषहरू फेला परेको विषयमा निरन्तर समाचार आउन थालेपछि विषयगत संस्था दर्ता प्रक्रियामा अगाडि बढेको छ । उद्योग वाणिज्य संघ बर्दिबासका अध्यक्ष बिष्णु खड्काको संयोजकत्वमा बनेको समितिमा १३ जनाको तदर्थ समिति  छ ।

उपाध्यक्षमा पोषण थापा, महिला उपाध्यक्षमा बिन्दा कुमारी थापा, सचिव उत्तम कुमार श्रेष्ठ, सहसचिव दिपेश सापकोटा, कोषाध्यक्षमा हेम कुमारी बराल, सदस्यहरूमा उषा ढकाल, विशाल बस्नेत, शम्भु भट्टराई, नारायण अधिकारी, बैकुण्ठ देवकोटा, अर्चना न्यौपानेलगायत छन् ।

संस्था दर्ता प्रक्रिया औपचारिक रुपमा सकिएपछि छलफल र विज्ञहरू राखेर योजना तयार गर्ने संयोजक खडकाले बताए ।
 

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update