Odapalika - The Fourth Estate - चौथो अंग
जलजलाले आलु  खरिद विक्रीबाटै उठाउँछ कुल आयकाे २२ प्रतिशत हिस्सा 

काठमाडौँ । किसानका उत्पादनलाई स्थानीय सरकारले नै खरिद गर्न थालेपछि पर्वतको जलजला गाउँपालिकाका किसान उत्साही भएका छन् । 

पालिकाले किसानले फलाएको आलुको बीउ खरिद गरिदिएको छ । किसानले गत आर्थिक वर्षमा आलुको मूल बीउ उत्पादन गरेका थिए । 

सो आलु पालिकाले नै खरिद गरेपछि किसानलाई राहत मिलेको छ ।  १० लाख ७५ हजार रुपैयाँभन्दा बढी मूल्य बराबरको आलुको बीउ पालिकाले खरिद गरेको छ ।

जलजला–६ शालिजाका तीन कृषक समूहले उत्पादन गरेको ३५ हजार ४७० किलोग्राम बीउ आलुस्थानीय तहले खरिद गरेको हो । 

बीउ आलु बिक्री गरेका किसानलाई १० लाख ७५ हजार ४७० रुपैयाँ भुक्तानी गरेको गाउँपालिकाको कृषि शाखाका अधिकृत राजु गौतम बताउँछन् । 

प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको २ हजार २७० किलो  मूलबीउ प्रतिकिलो ३५ रुपैयाँका दरले ७९ हजार ४७० मा खरिद गरेको छ । 

नमूना र प्रगतिशील बीउ उत्पादक कृषक समूहले उत्पादन गरेको ३३ हजार २०० किलो पहिलो पुस्ताको बीउ ९ लाख ६ हजार रुपैयाँमा खरिद गरेको हो ।

बीउ उत्पादन गर्ने सबै किसानलाई जलजलाले नगद उपलब्ध गराएको छ । किसानबाट खरिद गरेको बीउ पोखरामा रहेको चिस्यानगृहमा भण्डारण गरिएको छ । बीउ, मल र उत्पादन सामग्री उपलब्ध गराउने गाउँपालिकाले किसानले उत्पादन गरेको आलुको मूल बीउ पनि खरिद गरिदिएको हो । 

गाउँपालिकाले किसानबाट बर्खायाममा खरिद गर्ने बीउ चिस्यानगृहमा भण्डारण गर्ने र हिउँदमा उनीलाई नै बिक्री गर्ने गरेको छ । 

आलुको बीउ बिक्री गरेर जलजला गाउँपालिकाले गत आव २०८०/८१ मा २९ लाख ७१ हजार आम्दानी गरेको छ । गाउँपालिकाको आन्तरिक आम्दानीको २२ प्रतिशत आलुको बीउ बेचेर भएको हो ।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले आलुको गुणस्तरीय बीउ उत्पादन, उत्पादन क्षमता कम भएको पुरानो बीउ विस्थापित र बीउ आलुमा आत्मनिर्भर बनाउन दुई वर्षयता पिविएम (पूर्व बीउ आलु) कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकाले समूहमार्फत खरिद गरेको बीउ आलु पोखराको शीतभण्डारमा भण्डारण गरी सिजनमा गाउँपालिकाभित्रका बीउ उत्पादक कृषक समूहलाई नै वितरण गर्ने गरेकाे छ । 

गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा ६६ हजार ७० किलो उन्नत बीउ बिक्री गरी  २९ लाख ७१ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले किसानबाट खरिद गरेको आलुको बीउ ५० प्रतिशत अनुदानमा किसान र कृषि ज्ञान केन्द्रमार्फत सिफारिस भएका कृषक समूह तथा म्याग्दी, कास्कीलगायत जिल्लाका किसानलाई ३५ हजार (७७ किलो बीउ बिक्री गरी २१ लाख ९८ हजार रूपैयाँआम्दानी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update