Odapalika - The Fourth Estate - चौथो अंग
बंगलादेशमा शेख हसिनाको पतनका आयामहरु

सन् २०२४ अगस्त ५ को दिन बंगलादेशको राजनीतिक इतिहासमा अविस्मरणीय रहने छ । धेरै बंगलादेशीहरुले यसलाई बंगलादेशको स्थापनापछि निरंकुशता शासनबाट मुक्ति पाएको दिनको रुपमा लिएको देखिन्छ । 

सन् २००९ देखि एकछत्र राज गर्दे आएकी बंगलादेशका संस्थापक शेख मुजिबुर रहमानकी छोरी शेख हसिनाको शासन जनआन्दोलनको उभारमा ढलेसँगै उनको कार्यशैली तथा बंगलादेशको भविष्यलाई लिएर विभिन्न टीकाटीप्णीहरु भइरहेका छन् । साथै, छिमेकीलगायत नेपालका लागि केही न केही पाठको रुपमा यस घटनालाई लिएको देखिन्छ । 

सन् १९९६ देखि २००१ सम्म र सन् २००९ देखि निरन्तर सत्तामा रहदै आएकी हसिनालाई शुरुका दिनमा प्रजातन्त्रको सिपाही पनि भनिन्थ्यो । तर, अन्तिम समयमा उनी निरंकुश शासकको रुपमा चित्रित भइनन् र आफनै देश छाडेर भाग्नुपर्ने अवस्था आइलाग्यो । उनले देशलाई सम्बोधन गर्न पनि भ्याइनन् । उनको काम र छविका कारण उनका पिता तथा बंगलादेशका प्रेरणादायी नेता, स्वतन्त्रता सेनानी, सार्कका संस्थापक पूर्व राष्ट्रपति मुजिबुर रहमानको सालिक ढल्ने अवस्थासमेत आयो ।

बंगलादेशको जनआन्दोलनमा युवा विद्यार्थीको भूमिका सराह्नीय बनेको छ, यस अर्थमा कि तिनीहरुले सेनालाई अन्तरिम सरकारको नेतृत्वमा आउन दिएनन् र प्रजातान्त्रिक मूल्य मान्यतालाई अंगीकार गरे ।

नेपाल जस्तै राजनीतिक अस्थिरता भोग्दै आएको बंलगलादेशले उनको कार्यकालमा आर्थिक क्षेत्रमा राम्रै प्रगति गरेको देखिन्छ । ठूलठूला भौतिक पूर्वाधारका विकास कार्यहरु उनको कार्यकाल भएको पनि हो । टेक्सटायलमा राम्रो स्थान बनाएको बंगलादेशको प्रतिव्यक्ति आयमा राम्रै सुधार देखिन्छ । उनको कार्यकालमा ६ देखि ७.५  प्रतिशतको बीचमा आर्थिक वृद्धिदर चलिरहेको थियो । तर, पछिल्लो पटक मंहगी दरमा अलि बढेको थियो । 

दक्षिण एशियामा भारतभन्दा राम्रो आर्थिक वृद्धि हासिल गर्ने देशमा गनिन्छ बंगलादेश । त्यहाँको सस्तो मेडिकल कलेजहरु नेपाली विद्यार्थी माझ आकर्षणको केन्द्र बन्दै आएको छ । करिब १७ करोड जनसंख्या रहेको बंगलादेशको आर्थिक विकासको गतिविधि ठीकै चलिरहदा हसिना सरकारको बहिर्गमन र यसको सम्भावनाहरुका बारे जिज्ञासा हुनु स्वभाविक छ ।

सन् २०२२ मा श्रीलंकामा देखिएको आर्थिक संकटले तत्कालिन सरकारको निरंकुशतन्त्र ढलेसँगै निरंकुश कहिलिएका तत्कालिन राष्ट्रपति राजापाक्षेले देशै छाडनु परयो । जबकि बंगलादेशको अवस्था त्यसप्रकारभन्दा भिन्न थियो । तर, कोभिडपछि हसिनाको केही राजनीतिक कृयाकलापले उनलाई अलोकप्रिय बनाउदै लगेको थियो, जसलाई उनले सुधार्ने जमर्को गरिनन् भन्ने छ । गत वर्ष विपक्षीहरुको वहिष्कारका बाबजूत एकलौटी ढंगले प्रहरी, सेना राखेर निर्वाचन गराइन् र एकलौटी सर्वेसर्वा बनिन् उनी । यद्यपि अन्तराष्ट्रियस्तरमा यसको केही आलोचनाहरु भए पनि भारत र चीनलाई विश्वासमा लिन सफल देखिइन् हसिना । यता कोभिडपछि मिडियामाथि अंकुस लाग्दै गएको अवस्था थियो । 

२०२४ जुनदेखि सरकारी जागिरमा ३० प्रतिशतसम्म आरक्षण दिने सरकारको निर्णयका कारण विश्वविद्यनलयहरु आन्दोलनमय बन्दै गएका थिए । सरकारले आरक्षणलाई खारेज गरे पनि तल्लो अदालतले यसलाई पुन ब्यूँताएपछि विद्यार्थी पुनः आन्दोलित भए । यद्यपि आन्दोलन चर्किदै जादा उच्च अदालतले ७ प्रतिशतसम्म मात्र सरकारी जागिरमा आरक्षण कोटा दिने फैसला गर्यो । 

यस दौरान सयौं विद्यार्थी सरकारी दमनको शिकार भए । यसलाई समय मै सम्बोधन हुन नसक्दा  लाखौं मानिसको जनसागर ढाकामा ओर्लियो । सेनाले यसमा हस्तक्षेप गर्न नमानेपछि प्रधानमन्त्री हसिनासामु सत्ता र देश छाड्ने बाहेक विकल्प समाप्त भइसकेको थियो । संवाद उनको शब्दकोषबाट निकै पहिल्यैदेखि हराइसकेको थियो । राजनीतिक दुर्घटना हुनु स्वभाविक थियो ।

यस घटनालाई प्रसिद्ध साहित्यकार तसलिमा नसरिनले एक्समा पोष्ट गर्दै लेखेकी छिन –हसिना आफ्नै कारणले आजको अवस्था पुगिन् । उनले कट्टरपन्थी इस्लामिस्टहरुलाई बढ्ने अवसर दिइन र भ्रष्टाचारलाई बढावा दिइन् । नसरिनले आफूलाई आफ्नो देश फर्किन नदिएको दोषारोपण हसिनामाथि लगाएकी छन् । उनले थप आक्रोस पोख्दै लेखेकी छिन्– जसरी मलाई देशबाट लखेटियो, आज तिनै इस्लामिस्टहरुले हसिनालाई लखेटेका छन् । नसरिनले हसिनालाई प्रगतिशील होइनन् भनेकी छिन् ।

यसरी लामो समयसम्म सत्तामा रहदै आएकी हसिनाले आर्थिक विकाससँगै प्रजातन्त्रलाई संस्थागत गर्नुभन्दा आफ्नो सत्तालाई सुरक्षित राख्न प्रतिद्वन्दी प्रजातान्त्रिक विपक्षी दल तथा नागरिक अगुवाहरुलाई तह लगाउन धार्मिक कट्टरपन्थसँग साँठगाठ गरेको समेत आरोप लाग्ने गरेको छ । उदाहरणको लागि प्रमुख प्रतिपक्षी तथा पूर्वप्रधानमन्त्री खालिदा जियालाई सन् २०१८ मा भ्रष्टचारको आरोपमा जेल चलान गरिएको थियो । विरोधीहरुलाई तह लगाउन भ्रष्टचारको आरोप लगाउनु औजार जस्तै बनिसकेको थियो । चीन र भारत दुबैलाई आफनो देशमा लगानी भित्राउने सवालमा उनी सफल भएपनि आफ्ना नागरिकलाई समेटेर देश विकासमा लाग्न चुकिन् । 

उनको कार्यकालमा भएका आर्थिक विकासका कामहरुको प्रशंशा हँुदै आए तापनि सबैलाई पेलेरै जाने उनको हठ् र दम्भले उनलाई अन्तिम समयमा एक्लै बनायो । अर्को कुरा, उनको निरंकुश शासनले देशको राजनीतिमा पुनः सेनालाई अगाडि ल्याइदिएको छ । र, यो पछिसम्म हावी हुन सक्ने आंशकालाई पनि बढाइदिएको छ । किनकि बंगलादेशमा सैनिक कूका तीता घटनाहरु नभएका होइनन् । उनी आफैं प्रजातन्त्रका लागि लडेकी भएपनि उनको कार्यशैली प्रजातान्त्रिक देखिएन भन्ने छ । लघुवित्त अर्थशास्त्री तथा नोवेल पुरस्कार विजेता मोहम्मद युनुसले सिएनएनको एक अन्तवार्तामा हसिना शासनकालको निरंकुशतन्त्रको निन्दा गर्दै हसिनाको बर्हिगमनले बंगलादेशी जनताले मुक्ति पाएको बताएका छन् ।

यसरी प्रजातन्त्रको मसिहा कसरी अधिनायकवाद बन्दो रहेछ भन्ने कुराको साक्षी बंगलादेशकी हसिना उदाहरण बनेकी छिन् । युवा तथा बेरोजगारी समस्यालाई कसरी सम्बोधन गर्ने र जनतासँग कस्तो सम्बन्ध बनाउने आदि कुराहरु पाठको रुपमा रहेका छन् । वास्तवमा दक्षिण एशिया र विकाशील देशहरुमा अहिले पनि रोजगारिको भरपर्दो स्रोत सरकारी जागिर नै हो । जात, लिंग बहिष्करण र अल्पसंख्यकलाई सम्बोधन गर्न एउटा निश्चित समय अवधिका लागि सरकारी जागिरमा ल्याइने आरक्षणनीति भोट बैंकको रुपमा उपयोग हुँदा समस्या बढनु स्वभाविक मानिन्छ । 

आर्थिक विकासको स्थायित्वका लागि प्रजातन्त्र अर्थात जनता पनि चाहिने रहेछ भन्ने कुराको पाठ पनि हो बंगलादेशको घटना । यद्यपि प्रजातन्त्रको नाममा जनतालाई विकास सेवा दिन नसक्ने हो भने पनि समस्या आउँछ भन्ने बुझ्न आवश्यक छ ।

भारतमा अहिले आरक्षणकोे विषय चर्चामा छ र त्यहाँको संसदमा यसलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच जुहारी नै चलेको देखिन्छ । नेपालको परिप्रेक्ष्यमा यसबाट शिक्षा लिएर सजगता र समयसापेक्षता यसलाई लिनु पर्छ कि भन्ने हो । समावेशिता बहुलवादी समाज तथा प्रजातन्त्रको गहना हो । तर, समावेशीताको मर्मलाई भोट बैंकको रुपमा प्रयोग हुँदा समस्याहरु देखिने र यसले उग्र राजनीतिक रुप लिने रहेछ भन्ने कुरा बंगलादेशको पाठ पनि हो । कोही पनि अवसरहरुबाट बन्चित नहोउन र निष्पक्ष प्रतिस्पर्धालाई आत्मसात गर्दे युवा पुस्तालाई उच्च महत्व दिन आवश्यक छ भन्ने पनि हो । 

बंगलादेशको जनआन्दोलनमा युवा विद्यार्थीको भूमिका सराह्नीय बनेको छ, यस अर्थमा कि तिनीहरुले सेनालाई अन्तरिम सरकारको नेतृत्वमा आउन दिएनन् र प्रजातान्त्रिक मूल्य मान्यतालाई अंगीकार गरे । यहाँनेर मलाई नेपालको २०३६ सालको विधार्थी आन्दोलनको सम्झना आँउछ ।

आर्थिक विकासको स्थायित्वका लागि प्रजातन्त्र अर्थात जनता पनि चाहिने रहेछ भन्ने कुराको पाठ पनि हो बंगलादेशको घटना । यद्यपि प्रजातन्त्रको नाममा जनतालाई विकास सेवा दिन नसक्ने हो भने पनि समस्या आउँछ भन्ने बुझ्न आवश्यक छ । नेपाललाई यहाँनेर जोड्न सकिन्छ । देश, जनता र नेताबीचको सम्बन्ध र यसका सामाजिक तथा राजनीतिक आयामहरुलाई कसरी लिने भन्ने पाठ पनि हो बंगलादेशका घटना । 

नेतृत्व र जनता एक अर्काका पर्याय हुन भन्ने कुरालाई आत्मसात नगर्दा नेतृत्व एउटा सानो झुण्डमा रमाउदै जाने, नातावाद कृपावादले प्रश्रय पाउने र अन्तत्गत्वा नेतृत्व निरंकुश र स्वेच्छाचारी हुने प्रवृत्तिप्रति सजग हुन पाठ दिएको छ बंगलादेशको घटनाले । सत्ता/शक्ति हस्तान्तरण सही ढंगले हुन नसक्दा राजनीतिक अस्थिरता बढ्नु स्वभाविक मानिन्छ । नेपाल यसबाट अछुतो छैन । हसिना चौथो पटकसम्म प्रधानमन्त्री बनिरहने प्रवृत्तिले पनि उनलाई निरंकुश बनाउन उत्प्ररित गरेको हो । तसर्थ नेतृत्व र शासन व्यवस्थाका केही आयामहरु जस्तो कि नेतृत्वको पदावधि तथा समय अवधि आदि कुराहरुमा केही सुधार नेपालका लागि एउटा अर्को पाठ हुन सक्छ, विशेषगरि राजनीतिक स्थायित्वका लागि । 

[email protected]

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update