Odapalika - The Fourth Estate - चौथो अंग
काँचो स्याउ संकलन गरेको भन्दै गाउँपालिका उपाध्यक्षले लगाइदिइन् गोदाममा ताला 

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढा नेतृत्वको टोलीले स्थानीय काँचो स्याउ सङ्कलन गोदाममा ताला लगाइदिएका छन् । 

बुढाको नेतृत्वमा पालिकाका कर्मचारी र रारालिही प्रहरी चौकीका प्रहरीसहितको टोलीले काँचो स्याउ सङ्कलन भएका तिला–१ रारा सेरिबजारमा रहेका ६ गोदाममा ताला लगाएको हो । 

उपाध्यक्ष बुढाका अनुसार राम्रोसँग नपाकेको स्याउ सङ्कलन गर्ने व्यापारीका गोदाममा ताला लगाइएको छ । गाउँपालिकाको निर्णय र निर्देशनविपरीत लुकिछिपी स्याउ सङ्कलन गरेका व्यापारीका गोदाममा ताला लगाइएको उनले जानकारी दिइन् । 

यसअघि गाउँपालिकाले आगामी भदौ ५ गतेसम्म स्याउ बाहिरी जिल्लामा निर्यात नगर्न तथा  काँचो स्याउ नटिप्न सूचना जारी गरेको थियो ।

स्याउ बिक्री गर्न व्यापारीले अनिवार्य वडा र कृषि शाखाको सिफारिस लिनुपर्ने गाउँ कार्यपालिकाबाट निर्णय गरिएको उपाध्यक्ष बुढाको भनाइ छ । लुकिछिपी स्याउ बिक्री भइरहेको सूचना प्राप्त भपछि स्याउ भण्डार गरिएका ६ गोदाम सिल गरिएको उनको भनाइ छ ।

तिलाका विभिन्न वडा तथा बस्तीमा पालिकाको निर्णयविपरीत स्याउ सङ्कलन भइरहेको पाइएपछि गोदाम सिल गरिएको हो । कृषि विकास कार्यालय जुम्लाले पनि सार्वजनिक सूचनामार्फत काँचो स्याउ बजारमा नपठाउन जिल्लाका किसान र व्यापारीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update