Odapalika - The Fourth Estate - चौथो अंग
कमलादीमा सडक भासिएपछि बालेनले भने– खोलामाथि पुल बनाउन पर्छ, घर र बाटो होइन 

काठमाडौँ । काठमाडौँको कमलादीस्थित टुकुचा खोलामाथि बनाइएको सडक बिहीबार राति भासिएको छ ।  सडकमा भ्वाङ परेपछि सो मार्गमा हुने आवागमन रोकिएको छ । उक्त सडक भासिएर भ्वाङ परेको भिडियो सेयर गर्दै काठमाडौँ महानगरपालिकामा प्रमुख बालेन्द्र (बालेन) शाहले खोलामाथि घर र बाटो बनाउन नहुने प्रतिक्रिया दिएका छन् । 

उनी मेयरमा निर्वाचित भएपछि पुरिएको टुकुचा खोला उत्खनन गर्ने कार्य थालेका थिए । तर, सो विषय अदालतमा पुगेपछि रोकिएका थिए । अहिले सोही टुकुचा खोलामाथि बनाइएको सडक नै भासिएपछि मेयर बालेनले भनेका छन्, ‘यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकताअनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।’ 

सडक भासिएकोबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेनले लेखेका छन् :

यो टुकुचामाथिको बाटो हो । अझै केही घरहरू यसरी नै टुकुचा माथि रहेका छन् । काठमाडौँ महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरू गरेका थियौँ । अदालती कारणले केही  रोकिन परेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानून बमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौँ । सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनु पर्छ । यस पश्चात खोला खोल्ने काम महानगरले तुरून्त अगाडि बढाउनेछ । 

यति त सबैलाई थाहा हुनै पर्छ कि, मान्छेले आवश्यकता अनुसार खोलामाथि कतै कतै पुल बनाउन पर्छ, खोलामाथि घर र बाटो होइन ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update