Odapalika - The Fourth Estate - चौथो अंग
जनजाति बाहुल्य लिम्चुङबुङ गाउँपालिकामा स्थानीयबाहेकको मदिरा निषेध

काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले पालिकाभित्र उत्पादितबाहेकका सुर्ती, मदिराजन्य उत्पादन विक्री वितरणमा प्रतिवन्ध लगाएको छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न भन्दै यस्तो निर्णय गरिएको पालिकाले जनाएको छ । 

पालिकाका अध्यक्ष मेजरकुमार राईले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न  गाउँकार्यपालिका बैठकले नै मदिरा, अन्य पेयपदार्थलगायत चुरोट, बिँडी, खैनी तथा गुट्का बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको बताए ।

बाह्य उत्पादन बिक्रीमा प्रतिबन्ध लगाएसँगै स्थानीयस्तरमा उत्पादन हुने घरेलु कोदो, मकै, जुनेलो, फाफर, चिउरी तथा सुन्तलाबाट उत्पादन गरिएका मदिराजन्य पदार्थको कारोबारमा सघाउ पुग्ने उनको भनाइ छ ।

उपाध्यक्ष पुष्पलाल राईले पनि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न हाल पालिका क्षेत्रमा अन्य क्षेत्रमा उत्पादित मदिरा तथा पेयपदार्थलाई बिक्री वितरणमा रोक लगाएको बताए । कार्यपालिका बैठकले निर्णय गरेपछि हाल ऐन बनाएर कार्यान्वयनमा ल्याइएको उनकोे भनाई छ ।

बाह्य आयातीत मदिराजन्य, पेयपदार्थ र धुम्रपानजन्य वस्तु खरिद बिक्री गर्दा स्थानीयलाई आर्थिक तथा स्वास्थ्य नोक्सानी हुने र पालिकालाई कुनै आम्दानी नहुने भएपछि यो निर्णय लिइएको उनको भनाइ छ ।

अध्यक्ष राईका अनुसार जनताको स्वास्थ्यलाई असर नहुने गरी आवश्यक मापदण्डको पालना गरेर अग्र्यानिक उत्पादनमा जोड दिन नगरले आवश्यक पहल गरिरहेको छ ।

गाउँपालिकामा किराती राई समुदायको सङ्ख्या बढी छ । यो समुदायले हरेक पितृ पूजामा मदिराको प्रयोग गर्ने भएकाले यस निर्णयले उनीहरूको संस्कृति संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ । 

गाउँपालिकाका कार्यकारी अधिकृत योगेन्द्र गुरुङ स्थानीय ऐन कार्यान्वयनमा आइसकेकाले अब यस्ता कार्यको नियमन तथा व्यवस्थापनलाई व्यवस्थित गर्दै लगिने बताउँछन् ।

यसअघि खरिद गरिएका बाह्य मदिरा र पेयपदार्थ बिक्री तथा व्यवस्थापनका लागि एक महिनाको समय प्रदान गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update