Odapalika - The Fourth Estate - चौथो अंग
असली माछा संरक्षणमा जुट्यो गलकोट नगरपालिका 

काठमाडौँ । बागलुङको गलकोट नगरपालिका असला माछाका लागि प्रख्यात छ । पछिल्ला दिन खोलामा पाइने यी माछा घट्न थालेपछि पालिकाले माछा संरक्षणको नीति लिएको छ ।

नगरपालिकाले माछाले अण्डा पार्ने समय अर्थात् भदौदेखि कात्तिकसम्म माछा मार्न रोक लगाएको छ । गलकोट दरम र गौदीखोलामा पाइने असला माछाका लागि प्रख्यात छ ।

नगरपालिकाले कानुन बनाएर गत वर्षदेखि असला माछा संरक्षण सुरु गरेको थियो । जुनसुकै समयमा जथाभावी माछा मार्ने प्रवृत्तिले माछा लोप हुने अवस्था आएपछि तीन महिनाका लागि सो कार्यमा रोक लगाइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले जलचर संरक्षण कार्यविधि, २०८० बनाइ दुवै खोलामा माछा मार्न रोक लगाएको प्रवक्ता हिमबहादुर भण्डारीले बताए । उनको अनुसार गत वर्ष पनि अण्डा पार्ने समयमा माछा मार्न प्रतिबन्ध लगाइएको थियो । 

रोक लगाएको अवधिमा माछा मारेको पाइएमा रु एक लाखसम्म जरिवाना गर्न सकिने व्यवस्था नगरपालिकाले गरेको छ । 

नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले असला माछालाई यहाँको  ब्राण्ड बनाउनका लागि संरक्षण गरिएको बताए । उनले माछा मार्न पनि निश्चित व्यक्तिलाई मात्रै अनुमति दिने बताए । 

यहाँ आउने अधिकांश पर्यटकले असला माछा खोज्ने गरेको होटल व्यवसायीहरु बताउँछन् ।  उनीहरु अधिकांशका पहिलो रोजाइको परिकार नै असला माछाको हुने गरेको बताउँछन् । 

१ हजार ६०० रुपैयाँ प्रतिकेजीसम्ममा यहाँका माछा विक्री हुने गरेको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update