Odapalika - The Fourth Estate - चौथो अंग
तुलसीपुर उपमहानगरका विद्यालयमा मनपरी शुल्क, वर्गीकरण गर्ने पालिकाको तयारी 

काठमाडौँ । चर्को शुल्क असुली गरेको गुनासो बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले निजी विद्यालयको वर्गीकरण गर्ने भएको छ । 

विद्यालयको बर्गीकरण गर्ने प्रयोजनका लागि कार्यविधि बनाउन लागिएको उपमहानगरपालिकाले जनाएको छ । 

शिक्षा तथा खेलकुद महाशाखाका अधिकृत मनबहादुर खड्काका अनुसार कार्यविधि बनाउन मेयरबाट सैद्धान्तिक सहमति भइसकेको छ । विद्यालयलाई वर्गीकरण गरेपछि शुल्क समायोजन गरिने उपमहानगरको भनाइ छ । 

कुन स्तरको विद्यालयले कति शुल्क लिने भन्ने स्पष्ट व्यवस्था नभएका कारण वर्गीकरणको आवश्यकता परेको बताइएको छ ।  कुन वर्गमा परेको विद्यालयले कति शुल्क लिन पाउने भनेर तोक्ने उपमहानगरको तयारी छ । 

तुलसीपुर उपमहानगरमा गुरुकुल एकेडेमीले बढी शुल्क लिने गरेको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाभित्र सञ्चालित निजी विद्यालयसँग शुल्क माग गरिएको थियो । सोहीअनुरुप गुरुकुल एकेडेमीले नर्सरीका विद्यार्थीलाई मासिक ४ हजार ५०० रुपैयाँ शुल्क लिने गरेको जानकारी गराएको थियो ।

त्यसभन्दा माथिल्लो कक्षामा १०० देखि २०० रुपैयाँका दरले वृद्धि गर्दै लगेको विद्यालयको भनाइ छ ।तुलसीपुरको संस्कार पाठशालाले नर्सरी तहमा मासिक ३ हजार ५०० रुपैयाँ मासिक शुल्क लिने गरेको विवरण पठाएको छ । 

आचार्य कुलमले नर्सरीमा मासिक १ हजार ९०० रुपैयाँ लिने गरेको उल्लेख गरेको छ । हाल तुलसीपुर उपमहानगरपालिकाभित्र ६६ वटा निजी विद्यालय छन् । विद्यालयले विद्यालयले शुल्कअनुसारको सुविधा दिएका छन् कि छैनन् भन्ने विषयमा पनि उपमहानगरले अनुगमन गर्ने बताइएको छ । 

निजी विद्यालयले १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान पनि कार्यान्वयन नगरेको उपमहानगरको अनुगमनले देखाएको छ । 

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update