Odapalika - The Fourth Estate - चौथो अंग
काभ्रेका ५ स्थानीय तह बने पूर्ण खोप सुनिश्चित, अर्को फड्को मार्दै धुलिखेल 

काठमाडौँ । काभ्रेपलाञ्चोकका ५ वटा स्थानीय तहलाई  पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाईसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।  

काभ्रेमा ६ वटा नगरपालिका र ७ वटा गाउँपालिका छन् । जसमध्ये ३ वटा नगरपालिका र २ वटा गाउँपालिकाले आफूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् । 

शुक्रबार भुम्लु गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अध्यक्ष प्रेमबहादुर भुजेल, जिल्ला समन्वय समिति उपप्रमुख रिमबहादुर तामाङ, गाउँपालिका उपाध्यक्ष जितेन्द्रमान तामाङ, जनस्वास्थ्य कार्यालय प्रमुख रागीश्री कक्षपती श्रेष्ठलगायत सरोकारवालाको उपस्थितिमा घोषणा गरियो । 

गाउँपालिकाभित्रका जन्मदेखि २३ महिनासम्म करिब ४०० बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक सुदर्शन भट्टराईले जानकारी दिए ।

पनौती नगरलाई साउन पहिलोसाता पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिएको थियो । नगरलाई १६ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्णखोप दिलाएको सुनिश्चितता प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । 

राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरेको पनौती नगरलाई जिल्ला खोप समन्वय समितिले प्रमाणपत्र प्रदान गरेको हो । 

यसअघि धुलिखेल नगरपालिका, नमोबुद्ध नगरपालिका  र रोशी गाउँपालिकाले पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा गरिसकेका छन् । 

गत असार दोस्रो साता धुलिखेल नगरलाई जिल्लामा पहिलो ‘पूर्णखोप सुनिश्चितता दिगोपना’ नगर घोषणा गरिएको थियो । 

बर्षेनी पूर्णखोप सुनिश्चितता नगर घोषणा गर्दै आएको धुलिखेल पहिलो स्वस्थ नगर घोाषणा तयारीमा रहेको जनाइएको छ । धुलिखेल नगरपालिकालाई नेपालकै पहिलो स्वस्थ नगर घोषणाको तयारीमा जुटेको मेयर अशोक ब्याञ्जु बताउँछन् । 

उनले स्थानीय नागरिकको घरपरिवार सर्वेक्षणमार्फत सबै खालका रोग, समस्या तथा स्वास्थ्य सेवाको आवश्यकताबारे जानकारी लिदै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने गरी अशक्त, अपाङ्गता भएका, गरिव, दलित, सिमान्तकृत तथा जेष्ठ नागरिकहरुका हकमा विशेष ब्यवस्था गरिसकिएकाले अव स्वस्थ नगर घोषणाको अनितम तयारमिा रहेको बताए ।

धुलिखेलले पहिलोपटक विसं २०६४ मै पूर्णखोप सुनिश्चित भएको नगर घोषणा गरेको थियो । हाल १५ महिना देखि २ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई पूर्णखोप लगाएको वडास्तरबाट घोषणा हुँदै नगरलाई पूर्णखोप सुनिश्चितता भएको हो । नेपालमा सन् २०१२ बाट पूर्णखोप सुनिश्चितताको सुरुआत भएको हो ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update