Odapalika - The Fourth Estate - चौथो अंग
जसको अनुकरण उसैको ईर्ष्या किन ?

फ्रान्सका तत्कालिन राष्ट्रपति निकोलस सार्कोजी सन् २००९ मा राष्ट्रिय आम्दानी मापन गर्ने कुल ग्राहस्थ उत्पादन सम्बन्धी एक प्रतिवेदन बुझ्दै थिए । सो प्रतिवेदन बुझ्दै गर्दा उनले फ्रेन्च राष्ट्रिय तथ्यांक संस्थालाई कुल ग्राहस्थ उत्पादन मापन गर्दा आम मान्छेको जीवनस्तर तथा वातावरणीय प्रभाव जस्ता कुरा समावेश गर्न सुझाव दिए ।

सार्काेजीबाट यस्तो सुझाव आउनुका पछाडि कारण थिए । उनी सरकारप्रति जनताको विश्वास कायम रहोस् भन्ने चाहन्थे । सन् २००८ मा आएको विश्व आर्थिक मन्दीबाट आम जनतामा आएको निराशालाई सरकारले सम्बोधन गर्ने कार्य गरिरहेको आभाष हुनुपर्छ, जसले गर्दा सरकारप्रति आम मानिसको विश्वास बृद्धि होस् भन्ने उनको चाहना थियो । यसका लागि के गर्न सकिन्छ भनेर उनले विश्वप्रसिद्ध अर्थशास्त्री जोसेफ इ स्टिगलिज तथा अमत्र्य सेनको सल्लाह लिएका थिए ।

विश्वप्रसिद्ध अर्थशास्त्रीहरु जोसेफ इ स्टिगलिज तथा अमत्र्य सेनले सरकारले देशको उन्नति मापन गर्दा दीर्घकालिन स्थायित्व र मानव कल्याणकारी आयामहरुलाई पनि ध्यान दिनुपर्छ भनेर सल्लाह दिएका थिए । 

उनीहरुको यो सल्लाह विश्वले स्वीकार गर्यो । फलस्वरुप, संयुक्त राष्ट्र संघ विकास परियोजनाले मानव विकास सुचकांक तय गर्दा दीर्घ तथा स्वस्थ जीवन, ज्ञानमा आम मानिसको पहुँच तथा कुल ग्राहस्थ उत्पादन जस्ता कुराहरु समावेश गरिने व्यवस्थाको थालनी गर्न पुग्यो । ती सुचकांकले अर्थ व्यवस्थाको स्वस्थताको विस्तृत चित्रण गर्ने गरेको छ । 

फ्रेन्च राष्ट्रपतिले सोचे झै, सवै देशका सरकारले आम मानिसको भलाइकै लागि काम गरिराखेका हुन्छन् । नेपाल सरकार पनि त्यसमा अपवाद छैन । यो यथार्थ स्विकार्न पर्छ नै । आम जनताको खुसीका लागि सरकारले उपयुक्त प्रयास गरिरहेकै हुन्छ । श्रोत साधनको कमीले असिमित आकाँक्षा पूर्तिमा कमी रहनु स्वभाविक नै हो । 

असाध्यै धनी व्यक्तिले पनि सधै सबै आवश्यकता पुरा गर्न असम्भव रहन्छ, जुन हामी सबैले सुनिरहेकै हुन्छौं । मानिसलाई केले खुसी पार्छ त भन्ने प्रश्नको सर्वस्वीकार्य उत्तर अनुत्तरित नै छ ।

आडम स्मिथ जसलाई आधुनिक अर्थशास्त्रका पिता मानिन्छ, उनले आफ्नो पुस्तक ‘राष्ट्रको सम्पत्ति’मा प्रत्येक नागरिकले परिश्रम तथा कमाई गरेर मात्रै सम्पन्नता र खुसी प्राप्त गर्न सकिन्छ भनेका छन । अर्थशास्त्रमा अधिक प्रयोग हुने शब्द ‘सन्तुलन (इक्युलिब्रियम)’ले आफ्ना चाहना तथा आवश्यकता पुरा गर्नका लागि सिमित साधन श्रोतबीच सन्तुलन गरी परमखुसी प्राप्त गर्न सकिने अवस्थालाई भनिएको छ । त्यसैले परिश्रम गरी आर्जित सिमित श्रोतलाई आवश्यकता पुरा गर्न प्रयोग गरी असिम सन्तुष्टि लिन सक्नु नै सफलता मान्नु पर्ने हो । 

पछिल्लो समयमा सन्तुष्टि धन वा पैसाबाट प्राप्त हुन्छ भन्ने मान्यता स्थापित भएको छ । त्यसका लागि सबैले मिहेनत गर्छन्, जस्तोसुकै गरिमामा भएका व्यक्तिहरु पनि । अर्थशास्त्रमा उहीले पैसालाई विनिमयको माध्यम मानिन्थ्यो । अहिले भने यसलाई त्यसका अतिरिक्त भविष्यका लागि उपयोगमा आउँछ भनेर धनको संचय पनि हो भन्ने थप मान्यता स्थापित भएको छ । त्यसैले आजको वैश्य युगमा साधु सन्तसमेत पैसाका लागि लालायित रहन्छन् । हामी त्यही प्राप्तिका लागि प्रयत्नशील रहन्छौं । तर, अर्काे रोचक पक्ष के छ भने जोसँग त्यो अधिक मात्रामा रहेको छ, त्यसको चाही उछितो काढछौं । 

पछिल्लो एक अध्ययनले कुनै पनि व्यक्ति परन्तुसम्म सुखमय जिवनयापनका लागि निश्चिन्त वा ढुक्क रहन सक्ने देखिदैन । त्यसका  लागि उसले आज जतिसक्दो कमाई गर्ने प्रयत्न गर्दछ । प्रयत्न पनि यस्तो, मानौ कि, उसले सबै जंगलका काठबाट आफूले मात्र लाभ लिन सकोस । तर, त्यो जंगल बन्न बर्षौं लाग्छ त । बर्षाैं लागेर बनेको बन एकले एकै वर्षमा रित्याउन दिनु उपयुक्त छ त ? यदि उसले नै रोपेको हो भने त हामी किन अज्ञानी हुने । जसले रुख स्याहार्छ उसले फल खानु नै पर्छ, हामी किन सराप्ने । यदि आफूले रोपेको रुखको फल कसै अरुलाई दिन हामी मन्जुर हुन्छौं त ?

यदि श्रोत साधनको नोक्सानी नगरी श्रोत साधनको उच्चतम प्रयोग गरी कसैले आय आर्जन गर्दछ भने त्यो आर्जन गर्ने व्यक्तिका लागि मात्र नभई, समाज र राष्ट्रका लागि समेत राम्रो हुन जान्छ । यसमा राम्रो नमान्न मिल्ला र ? यसवाट आर्जित आयवाट अतिरिक्त आय आर्जनमा पुनः प्रयोग गरी अत्यधिक आम्दानी गर्दा सबै वर्गका लागि फाइदा नै पुग्ने हुन्छ । समाजमा भएका सवै पक्षलाई समन्वय गरी असल समाज निर्माण, वातावरण तथा धरती कै संरक्षण हुन्छ भने व्यवसायीले गरेको आम्दानी उसका लागि मात्र नभइ, सवै समाज, राष्ट्र तथा समस्त मानव मात्रका लागि हुन जान्छ, जसलाई हामीले प्रोत्साहन गर्नै पर्छ । 

माइक्रोसफ्ट सन १९७५ मा स्थापित भएको थियो, जुन विल गेट र पाउल एलनले गरेका थिए । यसले वनाएका कम्प्युटर तथा विन्डोज प्रणालीले आज संसारलाई जुन सुविस्ता प्रदान भएको छ, त्यो मानव मात्रका लागि एक महत्वपूर्ण योगदान हो । यो दौरानमा उनीहरुले अत्यधिक कमाए, जसवाट आफूलाई संसारकै धनाढ्य व्यक्तिहरुमा स्थापित गर्न सके । उनीहरुको यो सेवाका लागि प्रयोगकर्ताले नै हाँसीखुसी तय गरिएको मुल्य तिरेका छन् । जसबाट प्रयोगकर्ताहरुको जिन्दगी नै सहज भएको छ । यो त नराम्रो नमानिएला नि ?

व्यवसाय निरन्तरता तथा बचाउनका लागि गरिन्छ । जसका लागि नाफा कमाउन पर्छ नै । यदि, सवै पक्षहरुका लागि यो कमाइ पक्षीय छैन वा तटस्थ छ भने त नयाँ आविश्कार तथा विचार जसले आम मानिस, वातावरण तथा पृथ्वीलाई अझ वढि सुविधा र सुरक्षा ल्याउछ भने त्यसलाई ल्याउन नदिनु अन्याय हुन्छ । यदि हामी नेपालमा बसेर अमेरिकामा उत्पादित माइक्रोसफ्टका वस्तु तथा सेवा उपयोगबाट आनन्दित हुन्छौं भने हाम्रो धर्म त्यसको समर्थन तथा प्रोत्साहन गर्ने नै हो । यसबाट त्यसका मालिकले आर्जन गरेको सम्पत्तिको सम्मान गर्ने नै हो । 

भारतमा टाटाले धेरै मानिसको जिवनयापनका लागि गरेको योगदान अतुलनीय छ । एउटा चालक, कृषक, यात्रु, वा व्यवसायको मालिकका लागि टाटाका उत्पादन जिवनोपयोगी सिद्ध भएका छन् । भारत स्वतन्त्र हुनुभन्दा अगाडि सन् १९४५ मा स्थापित सवारी साधन उत्पादन इकाइले अरबौं मानिसको अनुहारमा खुसी ल्याएको छ । 

टाटा भारतकै शान हो । जसले व्यवसाय प्रसारण तथा विकास, उद्यमशीलता विकास, सामाजिक कल्याणमा ठुलो योगदान गरेको छ । यदि, टाटाले नाफा नकमाएको हुन्थ्यो भने, अहिलेसम्म नामसमेत नसुनिने अवस्थामा हुन्थ्यो । यसवाट टाटा मात्र हैन, धेरै परिमाणमा आम मानिसलाई जिवनयापनमा कठिनाई हुन्थ्यो । त्यसकारण ती व्यवसायिक संस्थाको योगदान यति धेरै हुन्छ कि हामी संख्यामा मात्र भन्न सक्दैनौं ।

नेपालमा पनि धेरै व्यवसायीको योगदान रहेको छ । चौधरी ग्रुप पनि ती मध्यैकै एक हो । आलु चिप्स वनाउने उधोगका लागि, नवलपरासी, चितवन र धादिङलगायतका आलु उत्पादक किसानका लागि लाभकारी सिद्ध भएको छ । विदेशमा उत्पादित गुणस्तरीय समानहरु समेत उचित मुल्यमा उपभोक्तालाई उपलब्ध गराएर उनीहरुको रहन–सहन समेत सहज वनाइदिइ योगदान नै गरेको छ ।

त्यस्तै, वाइवाइले भोकमरी हटाउने प्रण गरेको छ । यदि एक व्यवसायले, आवश्यक गुणस्तरको वस्तु उचित मुल्यमा उपलब्ध गराउछ भने त्यो त योगदान नै हो । नाफा भनेको त उधोग बाँच्न तथा विविधिकरण र उच्चतम उपलब्धिका लागि नै हो, जसवाट अधिकभन्दा अधिक व्यक्तिले लाभ लिन सकुन । वाइवाइ आज हरेकका लागि उपयोगी भएको छ । कम कमाइ हुने ब्यक्तिले आफ्नो छाक टार्न पनि यो नै उचित विकल्प मानिन्छ । एउटा विरामीको रोजाइ पनि वाइवाइ को सुप नै भएको पाइन्छ । आज दुरदराजका नानीहरुको खाजासमेत वाइवाइ भएको पाइन्छ, जुन नपकाइसमेत खान सकिन्छ । यो सव त योगदान नै हुनु पर्ने हैन त ।

आज यदि हामीले धेरैलाई, विशेष गरी पढाई सकिसकेपछि नयाँ सुरुवात गर्न खोजेका व्यक्तिसँग तपाई के बन्न चाहानु हुन्छ भनेर सोधियो भने, धेरैको जवाफ विल गेट, रतन टाटा वा विनोद चौधरी भएको रहन्छ । यी व्यक्तित्व आधुनिक वैश्ययुगका नायक (हिरो) हुन भन्दा आपत्ति नहुनु पर्ने नै हो । त्यसमाथि पनि उहाँहरु सबैले समाज सेवा समेत अगालेका छन् र समाज सेवामा अनुकरणीय काम गरेका छन् । यद्यपि, मदर टेरेसा जति प्रख्याति नहोला, जसको मानवीय सेवा भगवान तुल्य भै देवदुतकै मान प्रदान भएको छ । उनीहरुको गन्तव्य पनि त्यस्तै रहेकाबाट उनीहरुको योगदान समेत प्रशंसालायक नै रहेको छ । 

माथि उल्लेख गरिएका उद्योगी व्यवसायीहरुका आफ्नै सेवा संकाय (फाउन्डेसन) रहेका छन, जसवाट करोडौं मानिस, प्राणी तथा पुरा विश्व लाभ लिइरहेको छ । त्यस्तै उनीहरुका व्यापारिक संकाय समेत उनीहरुको निजी प्रयोजनमा मात्रै सिमित नभई समुदाय, राष्ट्र तथा विश्वकै लागि भएका हुन्छन । किनकि ती संकायका उत्पादनबाट सबैले लाभ लिएका हुन्छन् । व्यवसाय प्रसारण, रोजगारी, वस्तु तथा सेवा प्रदानबाट जीव जगतमा पुर्याएको सहयोग, सरकारी ढुकुटीमा जम्मा हुने राजस्व लगायत उनीहरुको अगुवाइलाई पछ्याई थप व्यवसाय प्रसारण तथा योगदानको सबैले आँकलन गर्ने कुरा कसैवाट लुक्न सक्दैन नै । 

कहिलेकाँही हामी इस्र्यालु भै उनीहरुको विचारको विवाद बनाई दिन्छौं । उनीहरुको सम्पत्तिको मुल्यांकन हामीलाई अपच हुन्छ । तर, उनीहरुको मिहेनत तथा लगावको अवमुल्यन गरिन्छ । चौधरी ग्रुप अन्तरगत रहेको चौधरी औद्योगिक पार्क, नवलपरासीमा करिव ५ हजार व्यक्तिले रोजगारी पाएका छन् । र, पुरै ग्रुपमा करिव १५ हजार व्यक्तिले प्रत्येक्ष रोजगारीबाट लाभ लिएका छन् । के यो कम योगदान हो त ? उनीहरुले सुन चाँदी खाने हैन, जुन महंगो छ, हामी जस्तै सामान्य भोजन गर्ने हो । आजको जस्तो स्वतन्त्र विचार प्रवाह गर्न सक्ने समयमा उनीहरुले आम मानिसभन्दा पृथक तर वढी नै मात्रामा मानव, पृथ्वी तथा वातावरणको ख्याल राखेको हुन्छ, जुन उनीहरुको सामथ्र्यले सम्भव पनि छ । 

आजको आमसोचको विडम्वना चाँही छ नै । त्यो के भने, यदि हामीलाई कसैले सोधेमा म धनी व्यक्तिहरु जस्तै, विल गेटस, रतन टाटा तथा विनोद चौधरी जस्तै हुन चाहान्छु भन्छौं र प्रयत्न पनि गर्छाैं । तर, उनीहरुकै उछितो काढ्न पछि पर्दैनौं । उनीहरुमध्ये मदर टेरेसाको जस्तै निःश्वार्थ मानव सेवाको चयन नगन्य मानिसले मात्र गर्लान र त्यो पनि शब्दमा मात्र सिमितता राखेर । त्यै भएर नै होला, मदर टेरेसा सवैका लागि मदर हुन सक्ने अलौकिक शक्ति उनीमा मात्र देखिन्छ । जबकि, उद्यमशीलता भएका व्यक्तिहरु जो आफ्नो पेशामा सफल भएका छन, जसले समाजमा आर्थिक योगदान गरेका छन, उनीहरुको योगदानसमेत प्रशंसनीय रहन्छ । 

जुन देशले उद्यमशिलता प्रोत्साहन गर्दछ, व्यवसायिक स्वतन्त्रता प्रदान गर्दछ, ती देशले निकै आर्थिक विकास गरेका छन् । कहिलेकाही देशले नसक्ने बोझसमेत ती व्यक्तिले समाजका लागि वहन गरेका हुन्छन्, जसबाट प्रत्येक व्यक्तिले लाभ प्राप्त गरेका हुन्छन् । उनीहरुको त्यो योगदानको हामी खुला हृदयले धन्यवाद दिनै पर्छ । त्यस्ता व्यक्तिको बारेमा नकारात्मक टिप्पणीले उनीहरुको योगदानको अवमुल्यन मात्र नभएको होइन, असल समाज निर्माणको अवरोध पनि हुन जान्छ । यदि फेरि कसैले के बन्छस भनेर सोध्दा विल गेटस, रतन टाटा तथा विनोद चौधरी जस्तै धनी बन्छु भन्ने तर उनीहरुको निन्दा गर्न चाँही नसुहाउने नै हो । यदि उनीहरुको जवाफ सन्त, महात्मा, निश्वार्थ समाजसेवी बन्ने हो भने पनि, उधोगपतिहरुले पुर्याएको योगदानका लागि त धन्यवाद समेत कम नै हुनेछ । 

देश विकास तथा समाज निर्माणका लागि त उनीहरुका उद्योग व्यवसाय उनीहरुका लागि मात्र नभएर समाज तथा देशका लागि पनि अतिआवश्यक छ, जसलाई हामीले प्रोत्साहन गर्नैपर्छ । दान प्रण (गिभिड. प्लेज) तथा आफ्नो प्रतिवद्धता प्रण (लिभिङ माइ प्रोमिसेस) जस्ता अभियानहरु ती सम्पन्न व्यक्ति तथा घरानाबाट नै सृजना तथा संचालन भएका छन्, जसले आफ्नो सम्पत्तिको अधिकांस हिस्सा समाज तथा मानव कल्याणका लागि समर्पण गर्ने प्रण गरिसकेका छन् । र, सो अभियान संचालन गरिरहेका छन् । ती अभियान सरकारले भन्दा बढि प्रभावकारी तवरले संचालनमा रही अति विशिष्ट प्रभाव समेत निर्माण गरिराखेका छन् । यस्ता कामका लागि यदि कुनै व्यक्ति म असल मानिस छु भन्छ भने प्रशंसा गर्न नपर्ने होला र !

सन् २०१४ को मध्य अक्टोबरताका हिन्द महासागरमा आएको हुडहुड आँधीको वादलले नेपालका धेरै स्थानमा पानी पारेको थियो भने हिमाली भेगमा अत्यधिक हिमपात गराएको थियो । मनाङ तथा मुस्ताङमा पनि भिषण हिमपात भएको थियो । अन्नपूर्ण परिक्रमा नेपालमा एक प्रिय भ्रमण गन्त्यब्य तथा पदयात्रा मार्ग पनि हो, जसका लागि संसारभरबाट पर्यटकहरु नेपाल आउछन् । त्यसवेला पनि धेरै पदयात्री त्यो पदमार्गका विभिन्न स्थानमा थिए । थोराङलापास भन्ने पदमार्गको उच्च विन्दु रहेको छ । मौसम प्रणालीको आकलन गर्ने प्रविधिले धेरै हदसम्म सही प्रक्ष्येपण गर्न सक्ने भएकाले मौसमको अवस्थाहेरी पदयात्रा गर्ने गर्दछन् ।

तर, अचानक परिवर्तन हुने प्रणालीले कहिलेकाँही ठिकसँग अनुमान गर्न सकिदैन । त्यो पदमार्गको माथिल्लो भागमा धेरै नै पातलो वस्ती भएका कारण पदमार्गी बास तथा विश्रामका लागि निश्चित स्थानमा पुग्नैपर्छ अथवा निश्चित स्थान पुग्ने अवस्था नभएमा सोही स्थानमा यात्रा रोक्नुपर्छ ।

अचानक विकसित भएको  प्रतिकुल मौसम प्रणालीले गर्दा धेरै पर्यटक, चौरी हेरालु तथा होटेल व्यवसायीको मृत्यु हुनपुग्यो । त्यसमध्येका उच्च विन्दुमा रहेका एक होटेल व्यवसायीले यस अवस्थाको फाइदा लिई अधिक मुल्य लिई आफूसँग भएका माल समान सवै विक्री गरे । मृत्यु नजिकै पुगेका पदयात्रीले आफूसँग भएका सवै धन द्रव्यमा केही क्षण मात्र पनि बाँच्ने आशमा मागेजति मोल तिरी समान उपभोग गरे । ती व्यापारीले केही दिनमै थोरै समानवाट यति धेरै नाफा कमाए कि उनलाई मौसम सुधार भएको खण्डमा आफ्नो धनमा अरुको लोभ भए, आफू असुरक्षित हुन सक्नेसम्मको आकलन गरी सम्पूर्ण पैसा लिई सुटुक्क होटेल छोडी सुरक्षित स्थानका लागि प्रस्थान गरे । उनलाई आत्मविश्वास पनि थियो कि उनी त्यो भुगोल तथा पदमार्गसँग वषौंदेखि परिचित थिए र सुरक्षित स्थानसम्म पुगिन्छ नै भन्ने । 

तर, अत्यधिक हिंउ तथा कुनै जनावर तथा मानिसको आवागमन नभएकाले सम्पूर्ण भाग तथा पदमार्ग एक समान तथा मार्ग विहिन देखिन्थ्यो । बाटो विराएर उनी एक गहिरो भागमा खस्न पुगेछन् । तर, त्यहाँबाट निस्कन नसकि चिसो तथा भोकका कारण उनको मृत्यु हुन पुग्यो । केही दिनपछि जब हिउ पग्लियो, तब उनको शरिर देखियो, उनीसँग भएका सवै धन पैसा पनि उनीसितै देखिए । अलास, त्यो पैसा अरु कसैका लागि त काममा आयो तर उनका लागि भने व्यर्थ भयो । अरु व्यवसायी तथा पर्यटक मौसम सुधारसँगै उद्धारकर्ताको सहयोगमा सुरक्षित हुन सफल पनि भए । 

असल व्यवसाय र असल नियतले गरेको कामबाट कमाएको व्यवसायीको धन सम्पत्ति सम्पुर्ण समाज तथा मानव मात्रका लागि नै हो । उनीहरुको पृथ्वी, मानव तथा वातावरण संरक्षणप्रतिको प्रतिवद्धता तथा संरक्षण अभियानको आदर तथा सम्मान गर्न कन्जुस्याई गर्न थाल्यो भने त अन्याय भन्दा अरु के नै होला र !

यसकारण हामी जे बन्न चाहान्छौँ, त्यही नै बनिसकेको मान्छे तथा उसको पेशा एवं कमाइलाई सम्मान गरौं । असल समाज निर्माण तथा संचालनमा सहयोगी बनौं । जसबाट सबैलाई अझै राम्रो गर्न र बन्न प्रेरणा मिलोस् । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update